• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

ओली–प्रचण्ड छलफल : टुट्यो संवादहीनता, थपियो नयाँ विवाद 

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच दिनदेखि जारी संवादहीनता टुटे पनि उत्कर्षमा पुगेको पार्टी विवाद समाधानको विधि र प्रक्रियामा नयाँ असमझदारी थपिएको छ । ओली र प्रचण्डबीच आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब तीन घन्टा छलफल भए पनि विवाद समाधानका लागि सहमति सचिवालय, स्थायी कमिटी र महाधिवेशन कहाँबाट खोज्ने भन्नेमा नयाँ विवाद थपिएको हो । १० असारदेखि सुरु स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित छ । 

१३ साउनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डले २८ जना सदस्यसहित बैठक राखेका थिए । यहीँबाट सुरु भएको दुई अध्यक्षको संवादहीनता आइतबार साक्षीसहित तोडिएको छ । तर, सोमबार पुनः बसेर छलफल गर्नेबाहेक छलफलमा कुनै प्रगति भएको छैन् । बरु, दुवै पक्ष आ–आफ्ना अडानमा कायमै छन् । र, विवाद समाधान सचिवालय, स्थायी कमिटी र महाधिवेशन कहाँबाट गर्ने भन्नेमा नयाँ विवाद थपिएको छ । छलफलमा ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाललाई पनि छलफलमा सहजीकरणका लागि साक्षी राखेका थिए ।

अविश्वास र असहमतिको गोलचक्करसँगै बहुमत–अल्पमतको शक्ति–परीक्षणमा केन्द्रित दुवै पक्षबीच सहमतिका लागि छलफल सविचालय बैठकबाट सुरु गर्ने कि स्थायी कमिटी बैठकमा जाने भन्नेमा विवाद जन्मेको हो । प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नैपर्ने प्रचण्ड–वरिष्ठ नेता नेपाल समूहको माग यथावत् छ । तर, ओली दुवै पदबाट राजीनामा नदिने अडानमा छन् । आइतबार पनि दुवै पक्षले आ–आफ्ना अडान दोहो¥याएका छन् । ‘तपाईंले आफ्नो इच्छाअनुसार एक पद छाडेर निकास दिनुस्,’ प्रचण्डको प्रस्तावमा ओलीको जवाफ थियो, ‘अहिले सम्भव छैन, दोहो¥याएर यो कुरा नगर्नुस् । बरु महाधिवेशनमा जाऔँ, बाँकी त्यहीँबाट टुंग्याउँला ।’

यसबाहेक आइतबारको छलफलमा ओलीले सचिवालय बैठकबाट सहमतिको प्रस्ताव तयार भएपछि स्थायी कमिटी बैठक बोलाउनुपर्ने अडान राखेका छन् । प्रचण्डले चालू स्थायी कमिटी बैठकको निर्धारित एजेन्डाको छलफलबाटै निकास खोज्नुपर्नेमा जोड गरेका छन् । उपाध्यक्ष वामदेव गौतमको पछिल्लो ६बुँदे प्रस्ताव र गृहमन्त्री रामबहादुर थापाको सरकार बचाउनुपर्ने अडानले सचिवालयमा ओली बहुमतमा छन् । तर, स्थायी कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमतमा छ । दुवै पक्षले आ–आफ्नो सुविधाअनुसार विवाद समाधानका लागि कहाँबाट छलफल थाल्ने भन्ने प्रस्ताव अगाडि सारेका हुन् । तर, संवादलाई निरन्तरता दिने र सोमबार पनि छलफल गर्ने उनीहरूबीच समझदारी छ । 

‘लामो समयदेखिको संवादहीनताको अवस्थाबाट संवाद सुरु हुनु आफैँमा सकारात्मक हो,’ छलफलपछि वरिष्ठ नेता खनालले नयाँ पत्रिकासँग भने, ‘धेरै कुरा भए, कथाकुथुंग्रीका कुरा पनि आए । तर, सहमति र एकताको विकल्प छैन, बैठकबाटै सहमति खोज्नुपर्छ भन्नेमा दुवै पक्षबीच साझा सहमति छ, विधि र प्रक्रियाबाटै अघि बढ्नुपर्छ भन्ने भएकाले सोमबार पनि छलफललाई निरन्तरता दिइनेछ ।’ दुई अध्यक्षबीच सोमबार बिहान पुनः छलफल हुनेछ । 

बालुवाटार छलफलबारे प्रचण्डले आइतबार साँझ वरिष्ठ नेता खनाल, नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई खुमलटारस्थित निवासमा ‘ब्रिफिङ’ गरेका थिए । त्यहाँ प्रचण्डले स्थायी कमिटी बैठकलाई निरन्तरता दिऊँ भन्ने आफूहरूको प्रस्ताव ओलीले अस्वीकार गरेको सुनाएका थिए ।

प्रधानमन्त्री ओलीले ३ साउनको सचिवालय बैठकमा मंसिरभित्र ‘अर्ली महाधिवेशन’ गरेर विवादको समाधान खोज्ने प्रस्तावलाई सबैको सुझाबका आधारमा सचिवालयमा सहमतिको प्रस्ताव बनाएपछि मात्रै स्थायी कमिटी डाक्नुपर्ने अडान राखेका छन् । त्यसरी अगाडि जाँदा १३ साउनमा प्रचण्ड–नेपाल समूहले बालुवाटारमा सम्पन्न गरेको स्थायी कमिटीका बहुमत सदस्यहरूको बैठकले मान्यता नपाउने र सचिवालयमा बहुमत पुगेकाले अनुकूल सहमतिको प्रस्ताव लैजान सकिने ओलीको आकलन छ । तर, प्रचण्डले ‘अर्ली महाधिवेशन’ मंसिरमा सम्भव नभएकाले यो अध्याय नै सकिएको बताएका छन् । उनले जारी स्थायी कमिटीमा एजेन्डाकेन्द्रित छलफल गरेर सहमति खोज्नुपर्ने बताएका छन् । 

पछिल्लोपटक उपाध्यक्ष गौतमले दुवै पदमा ओलीको निरन्तरता हुने गरी ६बुँदे प्रस्ताव राखेपछि सचिवालयमा ओलीलाई बहुमतको अनुकूलता थपिएको छ । तर, ओलीको त्यस्तो प्रस्तावले बहुमत स्थायी कमिटी सदस्यहरूको बैठकले मान्यता नपाउने देखिएपछि प्रचण्डले भने त्यही बैठकको निरन्तरताका रूपमा पूर्वनिर्धारित एजेन्डामा छलफलकेन्द्रित गरेर स्थायी कमिटीबाटै निकास खोज्नुपर्नेमा जोड गरेका छन् । १३ साउनको पूर्वनिर्धारित बैठक ६ गतेकै स्थायी कमिटीले तोकेको र ओलीले परामर्श र सहमतिविनै पछिल्लो बैठक स्थगन गरेको भन्दै प्रचण्ड गल्ती महसुस गराउने योजनामा छन् । 

प्रचण्ड–नेपाल समूहका २८ स्थायी कमिटी सदस्यको बैठक बसेको थियो । बैठकले ओलीले एक्लै बैठक स्थगनको सूचना जारी गर्नु उचित नभएको निष्कर्ष निकाल्दै स्थायी कमिटी सुचारु गर्नका लागि अर्का अध्यक्ष ओलीसँगको छलफलको जिम्मेवारी प्रचण्डलाई दिएको थियो । ‘जारी रहेको स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष ओली एक्लैले स्थगित भएको सूचना जारी गर्नु उचित थिएन । यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी ओलीसँग छलफल गरी बैठक सुचारु गर्न अर्का अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले ग¥यो,’ स्थायी कमिटीका बहुमत सदस्यको बैठकबाट पारित प्रस्ताव जानकारी गराउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए । नयाँ पत्रिका दैनिकबाट 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर