• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कसरी फैलियो प्रहरी प्रधान कार्यालयभित्रै कोरोना ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयभित्रै विगत नौ दिनमा ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। तर, संक्रमणको स्रोत के हो भन्नेबारे प्रधान कार्यालय अहिलेसम्म अनभिज्ञ छ।

प्रधान कार्यालयमा सुरुमा ११ साउनमा चार जना प्रहरीमा संक्रमण पुष्टि भएकामा आइतबारसम्म (नौ दिनको अवधिमा) संक्रमितको संख्या ७२ पुगेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

सुरुमा संक्रमण पुष्टि भएका प्रहरीमध्ये तीन जना सवारी र एक जना सञ्चार शाखामा कार्यरत थिए।

उनीहरूलाई सामान्य ज्वरो आएपछि उपचारका लागि प्रहरी अस्पताल पठाइएको थियो । प्रहरी अस्पतालले भने कोरोनाको आशंकामा उनीहरूलाई परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाएको थियो । सो क्रममा प्रहरी प्रधान कार्यालयका प्रहरीमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो।

प्रधान कार्यालयले हालसम्म संक्रमण पुष्टि भएका प्रहरीहरूसँग सम्पर्कमा रहेका ५६ जना प्रहरीलाई प्रधान कार्यालयभित्रै क्वारेन्टिनमा राखेको छ।

प्रधान कार्यालयले सुरुमा संक्रमण पुष्टि भएकाहरूबाटै संक्रमणको स्रोत खोजी गरिरहेको छ । प्रहरीले राजधानीमा भइरहेका प्रदर्शनहरूबाट समेत संक्रमण सरेको हुन सक्ने आशंका गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले संक्रमणको स्रोत यही नै हो भनेर भन्ने अवस्था हालसम्म नरहेको बताए।

‘संक्रमणको स्रोत के हो र कसरी स(यो भन्ने स्वास्थ्यसँग सम्बन्धित विषय होला, हामी समेत संक्रमणको स्रोत के हो भन्नेमा अनभिज्ञ छौं,’ प्रहरी प्रवक्ता कडायतले भने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर