• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजको छलफलमा ओली झन् ‘अनुदार’ देखिए !

काठमाडौं । पाँच दिनको संवादहिनता तोडिएपछि सोमबार प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटघाट बिना निश्कर्ष टुंगिएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनालसहित भेटघाटमा प्रधानमन्त्री झन् अनुदार बनेका छन् ।

पार्टी एकता जोगाउन आफूले गरेको भागिरथ प्रयासलाई प्रधानमन्त्री ओलीले कमजोरीका रुपमा नलिन प्रचण्डले आग्रह गरेको स्रोतले बतायो । आइतबारको छलफलमा केही सकारात्मक छलफल भए पनि सोमबारको भेटमा ओली झन् अनुदार बनेर प्रस्तुत भएका छन् । 

‘छलफलका लागि छलफल मात्रै भयो । आ–आफ्ना अडानमा रहेपछि भोली पाँच बजे बस्ने गरी भेटघाट टुंगिएको छ’, बालुवाटार स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीले बहुमतसहितको स्थायी कमिटीलाई गुटको भेला भनेका छन् भने अध्यक्ष प्रचण्डले स्थायी कमिटी निरन्तरता भनेका छन् । नेतृत्वबीच सहमति गरी सचिवालयबाट जाऊँ भन्ने प्रस्ताव ओलीको छ । स्थायी कमिटी एकतर्फी स्थगित भनिएकाले त्यो बैठक जारी रहेकाले निरन्तरता दिनुपर्ने प्रचण्डले अडान लिइरहेका छन् । 

दुई अध्यक्षको सहमतिका आधारमा सबै काम हुने भनिए पनि ओलीले साउन १३ गते एकतर्फी स्थायी कमिटी स्थगितको जानकारी गराएका थिए । ओलीको एकल निर्णयकै काउन्टरमा बहुमत स्थायी कमिटी सदस्यहरुको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो ।

‘पाँच दिनको संवादहिनताको अवस्था आयो । आइतबारदेखि दुई अध्यक्षबीच पुनः छलफल शुरु भएको छ । तर, दुवै जना आ–आफ्नो अडानका रहेका छन् । प्रधानमन्त्रीले आफूले गरेका निर्णयबाट पछि नफर्किने अवस्थामा हुनुहुन्छ । यसैका कारण छलफल जारी छ । प्रधानमन्त्री अनुदार बन्दै गएका छन्’, स्रोतले भन्यो ।

पाँच दिनको संवाहिनतादेखि खुमलटारबाट अध्यक्ष प्रचण्डले पार्टी विभाजन रोक्न हरदम प्रयास गरेको सन्देश आफ्ना पक्षलाई दिइरहेका छन् । यता बालुवाटारबाट प्रधानमन्त्री ओलीले भने आफ्नो निर्णय र अडान कायमै राखेर झन् अनुदार बन्दै गएको स्रोतले बतायो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर