प्रदेश दुईको ५ जिल्लामा निषेधाज्ञा, शहरहरु सुनसान

जनकपुरधाम । कोरोना संक्रमणको जोखिम प्रदेश दुईमा बढ्दै गएपछि अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ । कोरोनाको संक्रमण प्रदेशमा ह्वात्तै बढ्न थालेपछि प्रदेशको ८ जिल्लामध्ये ५ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा लगाइएको छ भने बाँकी ३ जिल्लाका केहि भागमा निषेधाज्ञा लगाइएको हो । 

भारतसँगको खुल्ला सीमा नाकाका कारण चोरबाटो हुँदै नेपाल प्रवेश गर्नेहरुको क्रम नरोकिएको र प्रदेशका सबै जिल्ला भारतसँग जोडिएकोले यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको हो । सोही जोखिमलाई ध्यानमा राख्दै प्रदेशका अधिकांश भागमा निषेधाज्ञा लगाइएको हो ।

प्रदेशको अधिकांश भागमा निषेधाज्ञा लगाइएपछि यहाँका शहर हरु सुनसान देखिएका छन् । जनकपुरधाम, वीरगंज, राजविराज, गौर, जलेश्वर, मलंगवा लगायतको स्थान पूरै सुनसान देखिएको छ । 

प्रदेश दुईको बारा, पर्सा, सप्तरी, सर्लाहीमा यस अघि नै जिल्ला भर निषेधाज्ञा लगाई सकिएको छ भने जिल्ला प्रशासन कार्यालय रौतहटले बुधबारबाट निषेधाज्ञा जारी गरेको छ । 

जिल्ला प्रशासन कार्यालय सप्तरीले साउन १९ गते बैठक बसेर साउन २० गते बिहान ५ बजे देखि साउन २६ गते साँझ ५ बजे सम्म जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । त्यस्तै सर्लाहीमा बुधबारदेखि साउन २७ गते राति १२ बजे सम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । बारा र पर्सा जिल्लामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । धनुषा, महोत्तरी र सिरहाको केहि स्थानमा निषेधाज्ञा जारी गरिएको हो । 

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले भारतसँगको खुल्ला सिमाका कारण यस प्रदेशमा कोरोना संक्रमित बढेको र यो प्रदेश कोरोना संक्रमितको हटस्पट बनिसकेका कारण अब नयाँ रणनीति अनुसार अगाडी बढने बताए । उनले कोरोना नियन्त्रणका लागि १५ दिन सम्म पूर्ण रुपमा सीमा नाकाबन्द गर्ने बताए । उनले वीरगंज जस्तै आवश्यकता अनुसार ठाउँ ठाउँमा एक परिवारमा एकजनाको जाँच गरिने बताए । 

प्रदेश दुईमा हालसम्म ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर