• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

मुसहर बस्तीमा गुन्डा लगाएर आक्रमण, प्रहरीले विनाकारबाही छाडिदियो

त्रासले महिलाले गरिन् आत्महत्या, गाउँ नै त्रसित

विराटनगर । छरछिमेकको सामान्य विवादमा मोरङको बुढीगंगा गाउँपालिका–२ खार्जीका मुसहरमाथि मध्यराति तरबार, भाला र रडले मरणासन्न हुने गरी आक्रमण गरिएको छ । आक्रमणबाट पाँचजना गम्भीर घाइते भएका छन् । पक्राउ गरिएका आक्रमणकारी प्रहरीले छाडेपछि त्रसित पीडित परिवारकी एक महिलाले बिहीबार आत्महत्या गरेकी छिन् ।

सामान्य विवादमा सरस्वती ऋषिदेवको परिवारसँग बदला लिन स्थानीय बैजनाथ यादवले विराटनगर–१४ जतुवाबाट २० जना गुन्डा बोलाएर आक्रमण गराएको प्रत्यक्षदर्शीको भनाइ छ । १९ साउनको राति मोटरसाइकल र इलेक्ट्रिक रिक्सामा आएका उनीहरूले तरबार, भाला र रडले आक्रमण गरेको पीडितहरूले बताए । आक्रमणबाट ५० वर्षीया सरस्वती, उनका भाइहरू ४० वर्षीय पन्नालाल, ३८ वर्षीय चुन्नीलाल, ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम गम्भीर घाइते भएका छन् । तरबारले सरस्वतीको छातीको देब्रे भाग नै ताछिएको छ । अन्यको टाउको, गर्धन र शरीरभरि ठुल्ठूला घाउ बनेका छन् ।

प्रत्यक्षदर्शी स्थानीय सरस्वती मगरका अनुसार बैजनाथको घरमा साँझ हुलका हुल नयाँ मान्छे आएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । तर, प्रहरीले बैजनाथका पाहुना भनेर सोधपुछ गर्नसमेत रुचि देखाएन । आक्रमण भएपछि घटनास्थल पुगेको निमुवा इलाका प्रहरी कार्यालयको टोलीले त रगताम्य घाइतेलाई अस्पताल लैजानसमेत सघाएन । घाइतेहरू रातभर घरमै छटपटाइरहे । प्रहरीको असहयोगका कारण लकडाउनका वेला घाइतेलाई अस्पताल लग्न नसकएको स्थानीय बासिन्दाले बताए । 

मुसहर परिवारमाथि आक्रमण भएको सूचना पाएपछि भोलिपल्ट बिहान छिमेकी बुढीगंगा गाउँपालिकाबाट आएका कांग्रेस गाउँ कमिटी सभापति जितनारायण थापाले पीडितलाई अस्पताल पुर्‍र्‍याएका थिए । उनीहरूको बुढीगंगा टंकीस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तो छ घटनाको पृष्ठभूमि 

बुढीगंगा गाउँपालिका–२ को मुसहरी टोलमा ६० घर मुसहरका छन् । भूमिहीन उनीहरू सबै ज्याला–मजदुरी गरेर जीवन धान्छन् । त्यही गाउँमा बैजनाथ यादवको परिवार पनि बस्छ । बैजनाथको परिवारले आफ्नो धाराको पानी निकास गर्न घरअगाडिको सडकमा खाल्डो खनेको छ । राति आउजाउ गर्नेहरू लड्ने तथा साइकल÷मोटरसाइकल दुर्घटना हुने भन्दै स्थानीयले यादव परिवारलाई खाल्डो पुर्न, कि पाइप लगाउन आग्रह गर्दै आएका थिए । तर, गाउँलेको आग्रह बैजनाथ परिवारले बेवास्ता गर्दै आएको थियो । यही विषयमा सरस्वती ऋषिदेवको केही समयअगाडि यादव परिवारसँग सामान्य विवाद भएको थियो ।

१९ साउनको बिहान एक मुसहर महिला दुलारी ऋषिदेव खाल्डोमा लडेर सामान्य घाइते भइन् । त्यही विषयमा विवाद हुँदा बैजनाथकी बुहारी पवन यादवसहितले दुलारीलाई धानबारीमा लछारपछार गरेर कुटपिट गरे । झगडा मिलाउन त्यही दिन दिउँसो समाज बस्यो । समाजको बैठकमा सरस्वती, श्यामलगायतले कुटपिटको विरोध गर्दै खाल्डो पुर्न माग गरेका थिए । त्यसपछि बैजनाथ परिवारले सडकमा खनेको खाल्डो पुर्ने र आइन्दा विवाद नगर्ने समाजको फैसलाअनुसार सहमति भयो । तर, दलित मुसहरहरूले आफूलाई हेपेको भन्दै बैजनाथ परिवारले ‘इगो’ लियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर