• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोरोना जित्नेको कथा : सहज थिएन, तर कोरोनासँगको जित निश्चित थियो

काठमाडौं । म भारतको दिल्लीमा एउटा होटेलमा काम गर्थें । त्यहाँ पहिलो पटक गरिएको लकडाउन १४ अप्रिलमा खुल्ने भनिएको थियो । १४ अप्रिलमा लकडाउन खुल्छ भनेर हामी भारतमै बसेका थियौं, तर लकडाउन लम्बिँदै गयो ।

संक्रमणको डर पनि बढ्दै गएपछि घरपरिवारसँग अब भेट्नै नपाइने हो कि जस्तो लाग्न थाल्यो । भारतमा रहेका नेपाली हिँड्दै सीमासम्म पुगिरहेका थिए । त्यति नै वेला प्रधानमन्त्रीले भारतमा रहेका नेपालीलाई ल्याएपछि संक्रमण फैलिन्छ भनिदिनु भयो ।

त्यसपछि हामीलाई अब आफ्नै देश पनि छिर्न सजिलो छैन भनेर चिसो पस्यो । लामो समयको हारगुहार, नाराबाजीपछि बल्ल सरकारले भारतमा रहेका नेपालीलाई देशभित्र आउन दिने भन्यो । त्यसपछि मैले मेरो घर रहेको बंगलाचुली गाउँपालिकामा सम्पर्क गरें । गाउँपालिकाकाले आउनुहोस् नाकामा बस पठाउँछौँ भन्यो ।

८ जेठमा मलगायत धेरै व्यक्ति दिल्लीबाट बस चढ्यौं । ९ जेठको दिउँसो हामी कपिलवस्तुको कृष्णनगर नाकामा आइपुगेका थियौं । मुख्य नाकाबाट छिर्न नपाएपछि हामी जंगे पिलरको किनारैकिनार पाँच किलोमिटर हिँडेर चोरबाटोबाट नेपाल छिर्‍यौं । यसरी चोरबाटोबाट नेपाल छिर्ने हामी १५ सयजना जति थियौं होला । हामीले मास्क, पन्जा लगाएका थियौं । स्यानिटाइजर पनि प्रयोग गरिरहेकै थियौं ।

तर, त्यो भीडमा व्यक्ति–व्यक्तिबीच दूरी कायम गर्नु आफैमा चुनौतीपूर्ण थियो । जेठको गर्मीमा थाकेर मान्छेहरू रूखको छहारीमा बसेका थिए । कतिपय साथी त भोकै थिए, उनीहरू सगोलमा बसेर चिउरा, चाउचाउ खाँदै थिए ।

त्यही दिनको साँझ ७ बजे हामीलाई लिन भनेर गाउँपालिकाले पठाएको बसमा चढ्यौ । गाउँपालिकाले हामीलाई लिन भनेर तीन वटा बस पठाएको रहेछ । तीन वटा बसमा पनि मान्छे नअँटेपछि कोही साथीहरू छतमा चढ्नु भयो । कोही गाडीभित्रै उभिनुभयो । दुःख–सुख गर्दै गाउँ पुग्यौं र १० गते बिहान हामी गाउँपालिकाको वडा नं। २ मा रहेको कालिका प्राविमा बनाइएको क्वारेन्टाइनमा पुग्यौँ ।

क्वारेन्टाइनमा हामी ३५ जना थियौं । हामी सबैले प्रयोग गर्ने शौचालय र धारा भने एउटै थियो । तर, हामीले व्यक्तिगत तवरबाट गर्न सक्ने सबै सुरक्षा अपनायौँ । त्यसवेलाको सामाजिक मनोविज्ञान कस्तो विषाक्त खाले विकास हुन पुग्यो भने स्कुलको क्वारेन्टाइनमा हामी बसेका छौं भनेपछि गाउँले त्यो बाटो हिंड्न समेत छाडे । परिवारका सदस्यले पनि ल्याएको खाना टाढै राखेर फर्कन्थे ।

त्यसको एउटा मूल कारण के पनि हो भने गाउँ–गाउँमा यो भाइरस र यसको संक्रमणबारे अधिकांश मानिस अनभिज्ञ छन् । क्वारेन्टाइनमा १४ दिन बसिसक्दा पनि हाम्रो पिसिआर जाँच हुन सकेन । त्यसपछि हामीले हाम्रो पिसिआर जाँच गराउनुहोस् भनेपछि १५औं दिनमा पिसिआर जाँचका लागि स्वाब संकलन गरियो ।

हामीसँगै भारतबाट आएर अर्को क्वारेन्टाइनमा बसेका तीन जनामा कोरोना पोजेटिभ देखिएपछि हामी बसेको क्वारेन्टाइनमा पनि माहोल त्रसित बन्यो । तर, कसैलाई पनि ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएको थिएन ।

एकातिर लक्षण नदेखिएको अर्कोतिर पिसिआरको नतिजा समयमा नआएको हुँदा दुईजना साथी क्वारेन्टाइनबाट भाग्नुभयो । पछि पिसिआरको नतिजा आउन ढिला हुने भएपछि गाउँपालिकाले केही साथीलाई क्वारेन्टाइनबाट घर पठायो । १८औं दिन अर्थात् २८ जेठमा एक जना साथीलाई ज्वरो आयो । उहाँलाई तुरुन्तै सदरमुकाम घोराही पठाइयो । परीक्षणबाट उहाँमा कोरोना संक्रमण रहेको पुष्टि भयो ।

सँगै क्वारेन्टाइनमा बसेको मान्छेलाई कोरोना पुष्टि भइसक्यो । हाम्रो स्वाब पनि संकलन भइसक्यो, तर नतिजा भने स्वाब संकलन भएको १६ दिनपछि १० असारमा मात्र आयो । नतिजाअनुसार क्वारेन्टाइनमा बसेका हामी ३५ जनामध्ये ३३ जनामा कोरोना संक्रमण रहेको पुष्टि भयो ।

३३ जनामा कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइनबाट घर पठाइएका र भागेर गएका साथीहरूलाई पनि फेरि क्वारेन्टाइनमा ल्याइयो । संक्रमण पुष्टि भएकै दिन हामीलाई हामी बसिरहेको क्वारेन्टाइनबाट गाडीमा राखेर सदरमुकाममा रहेको पद्मोदय क्याम्पसमा बनाइएको आइसोलेसनमा राखियो । संक्रमण देखिएपछि हामी क्वारेन्टाइनमा बसेकाहरू निराशाको भुमरीमा जकडिएका थियौँ ।

तर पनि मनको कतैबाट सधैँ एउटा आवाज आउँथ्यो– हार खानु हुँदैन । अधिकांश साथी अब मरिने भइयो भनेर सधैँजसो रुनुहुन्थ्यो । ती आँशुका थोपामा क्वारेन्टाइन र आइसोलेसनको अव्यवस्था लुकेको छ । यतिवेला ठूलो मनोवैज्ञानिक युद्धबाट गुज्रिनुपर्ने हुँदोरहेछ । किनभने, त्यति नै वेला परिवारका सदस्यले पनि रुँदै फोन गरिरहेका हुन्थे ।

यता सदरमुकामको आइसोलेसनमा हामी ७५ जना संक्रमित बसेका थियौं । ७५ जनामा ५५ वर्षका वृद्धदेखि तीन वर्षका बालकसम्म थिए । त्यहाँ पनि शौचालय, पानीको धारा सामूहिक थियो । एउटा कोठामा हामी तीनजनासम्म संक्रमित बसेका थियौं । त्यहाँ बसेका हामी कसैलाई पनि ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने जस्ता केही लक्षण देखिएन ।

तथापि, हामी निकै डराएका थियौँ । एउटै क्वारेन्टाइनमा ३३ जनामा संक्रमण देखिएपछि गाउँ नै त्रसित हुन पुगेको थियो । हाम्रै कारणले गाउँभर कोरोना फैलियो भनेर लाञ्छित हुनुपर्ने हो कि भनेर हामी डराएका थियौं । एकातिर गाउँमा संक्रमण फैलिन्छ कि भन्ने डर, अर्कोतिर आफूलाई के हुने हो भन्ने डर । त्यतिवेला हामीले कुनै पनि मनोवैज्ञानिक परामर्श सेवा पाएनौं । जबकि, यस्तो अवस्थामा मनोपरामर्शको ठूलो भूमिका हुने रहेछ भन्ने अहिले महसुस हुन्छ ।

खासमा भन्ने हो भने त हामीलाई डाक्टरहरूले एक दिन पनि हेरेनन् । हामी सबैलाई एउटा थर्मोमिटर दिइएको थियो । हरेक दिन बिहान र बेलुका आफ्नो तापक्रम नापेर डाक्टरलाई सुनाउनु पथ्र्यो । आइसोलेसनमा बस्दा हामीलाई कुनै प्रकारको औषधि पनि दिइएन । डाक्टरहरूसँग सुरक्षा किट नभएर हो अथवा डरले हो, उनीहरू कहिल्यै पनि हाम्रो नजिक परेनन् ।

अन्य रोगको औषधि खाँदै गरेकाहरूको औषधि पनि समयमा नल्याइदिएको सम्झना ताजै छ । संक्रमण पुष्टि भएको १४ दिन आइसोलेसनमा बसिसकेपछि हामीलाई कुनै लक्षण नदेखिएको भन्दै अन्ततः पिसिआर नगरीकनै घर पठाउने भनियो ।

हामीले पिसिआर नगरी घर जाँदैनौँ भनेर अड्डी लियौँ, तर यस कुराको कसैले सुनवाइ गरेनन् । पछिसम्म पनि संक्रमण नभएको पुष्टि नगरेसम्म हामी घर नजाने भनेर अड्डी लिइरह्यौं । तर, त्यहाँका डाक्टर, नर्सले पिसिआर गर्न सकिँदैन, लक्षण नदेखिएकाले घर जान आग्रह गरिरहे । त्यसपछि हामीले हामी बसेको क्याम्पसको छतबाट सामाजिक सञ्जालमार्फत लाइभ गर्दै पिसिआर जाँचको माग गर्‍यौं ।

त्यसपछि प्रहरी, डाक्टर र स्थायनीय जनप्रतिनिधिको रोहबरमा पिसिआर जाँच गर्ने भनियो । तर, पिसिआर जाँचका लागि हामी थप १४ दिन आइसोलेसनमा बस्नुपर्ने अनौठो नियम बनाइयो । अगाडि नै हामी क्वारेन्टाइन र आइसोलेसन गरेर करिब ५० दिन बसिसकेका थियौं । फेरि १४ दिन बस्न कोही मानेनन् । त्यो सबै प्रक्रिया, स्थानीय प्रतिनिधि र प्रहरीको रबैया तथा हामीलाई दैनिक गरिने व्यवहारबाट हामीलाई हेला तथा अपमानित गरेको महसुस हुन्थ्यो । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर