नेपाल टेलिकमको आम्दानी घट्यो

काठमाडौँ । कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब रुपियाँले घटेको छ ।

प्रतिवेदन अनुसार गत आवको वैशाखदेखि असार मसान्तसम्म टेलिकमले ९ अर्ब २२ करोड २४ लाख रुपियाँ आम्दानी गरेको छ । यसमध्ये सेवा बिक्रीबापत ७ अर्ब ७३ करोड ८० लाख र अन्य तर्फ एक अर्ब ४८ करोड ४३ लाख रुपियाँ आम्दानी भएको छ । 

त्यसको अघिल्लो आव २०७५/७६ को सोही अवधिमा टेलिकमले ११ अर्ब ३६ करोड ३२ लाख रुपियाँ आम्दानी गरेको थियो । त्यसमध्ये सेवा बिक्रीबापत ९ अर्ब २६ करोड र अन्यतर्फ दुई अर्ब रुपियाँ आम्दानी कम्पनीले गरेको थियो ।

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि मुलुुकमा भएको लकडाउनको उक्त अवधिमा कम्पनीले दुई अर्ब १४ करोड रुपियाँ गुमाएको छ । त्यति मात्र होइन, लकडाउनको अवधिमा टेलिकमको खुद नाफा घटेर ९९ करोड ४० लाख रुपियाँ मात्र पुगेको छ । जबकी आव २०७५/७६ को चौथो त्रैमासिकमा टेलिकमको खुद नाफा दुई अर्ब ५५ करोड ८७ लाख रुपियाँ थियो ।

कोभिडका कारण टेलिकमले गुमाएको आम्दानीले गत आवको समग्र आम्दानी र नाफा नै प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर