• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

विराटनगरबाट सरुवा भएर खोटाङ आएका ६ प्रहरीमा कोरोना पुष्टि

खोटाङ । विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

सरुवा भएर खोटाङ आएका सबै प्रहरी जवान क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । “सरुवा भएर खोटाङ आएलगत्तै उनीहरु सबै जनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ”, उनले भने, “साउन २९ गते पिसीआर परीक्षण गर्न उनीहरुसँगै १३ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।”

सङ्क्रमित हुने प्रहरी जवानमा २३ र २५ वर्षीय दुई÷दुई तथा २० र २१ वर्षीय एक÷एक जना पुरुष रहेका छन् । सङ्क्रमित सबैलाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्मा पौडेलले जानकारी दिए । 

कोरोना सङ्क्रमण पुष्टि भएका सबै जना क्वारेन्टिनमै रहेकाले उच्च सतर्कता अपनाउँदै दैनिक कामकाजलाई समेत निरन्तरता दिइने जनाएको छ ।  

दश स्थानीय तह रहेको जिल्लामा छ प्रहरीसहित सङ्क्रमित हुनेको सङ्ख्या १९ पुगेको छ । यसअघि सङ्क्रमण देखिएका १२ जना उपचारपछि घर फर्किसकेका छन् भने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक जना उपचाररत रहेका छन् । जिल्लामा भेटिएका सङ्क्रमित सबै बाहिरी देश तथा छिमेकी जिल्लाबाट भित्रिएका मात्र रहेका छन् । वैदेशिक रोजगारीका क्रममा विभिन्न देश तथा छिमेकी जिल्लाबाट आउने जिल्लावासीलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुका साथै पिसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको छ ।   

जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले जिल्लाका १० वटै स्थानीय तहलाई आइसोलेसन वार्डको व्यवस्था गर्न आग्रह गरेको छ । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा गत आइतबार बसेको बैठकले जिल्लाका दुई नगरपालिकालाई २०÷२० तथा आठ गाउँपालिकालाई १०÷१० श्ययाको आइसोलेसन वार्ड निर्माण गरेर तयारी अवस्थामा राख्न आग्रह गरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर