सिरहाको औरही गाउँपालिकामा व्यापक अनियमितता

कोरोना नियन्त्रणका लागि खटेवापत जनप्रतिनिधिले नै लिए भत्ता

जनकपुरधाम । कुनै पनि संस्थाले हरहिसाब बुझाउँदा कुन शिर्षकमा कती खर्च भयो त्यो छुट्याएर प्रस्तुत गर्नु पर्ने हुन्छ । तर, प्रदेश दुईको सिरहा जिल्लाको औरही गाउँपालिकाले अनियमितता ढाकछोप गर्ने उद्देश्यले बिना शिर्षककै हरहिसाब बुझाएको पाइएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा स्थानिय तहहरुले व्यापक अनियमतता गरेको आरोप प्रत्यारोप विभिन्न संचारमाध्यममा आइरहेका थिए ।

जिल्ला प्रशासन कार्यालय सिरहाले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम शिर्षकमा के कति खर्च भयो भन्दै हिसाब बुझाउन प्रत्येक पालिकाहरुलाई पत्राचार गरेको थियो । जिल्ला प्रशासन कार्यालयको पत्राचारपछि सिरहाको औरही गाउँपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गरिएको खर्चको विवरण नपठाई एकमुष्ट २ करोड २० लाख ८० हजार ९ सय २९ रुपैया खर्च भएको देखाएको थियो ।

यस अतिरिक्त पनि औरही गाउँपालिकामा रकमको व्यापक अनियमितता गरिएको पाइएको छ । स्थानीय तह सेवा संचालन सम्बन्धी ऐन अनुसार कार्यपालिका बैठक बाहेक जनताको सेवा गरेवापत जनप्रतिनिधिले कुनै प्रकारको भत्ता लिन नपाउने व्यवस्था रहेको छ तर औरही गाउँपालिकाका प्रमुख सिद्धार्थ यादवले पदाधिकारीको भत्ता भनेर करीब १२ लाख रुपैया लिएका छन् । गाउँपालिकाका जनप्रतिनिधिले कोरोनामा काम गरे वापत लाखौ रुपैया भत्ता लिएपछि सुरक्षामा खटेका सुरक्षाकर्मीलाई भने कुनै भत्ता प्रदान गरेको छैन् ।

औरही गाउँपालिकाका उपाध्यक्ष सीता कुमारीले कार्यपालिका बोर्ड बैठकको निर्णयबाट पदाधिकारीलाई भत्ता दिइएको तर कसलाई दिइयो भन्ने सम्बन्धमा आफूलाई थाहा नरहेको बताईन् ।

यता निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले पदाधिकारीको भत्ता रकम कर्मचारीलाई नभई जनप्रतिनिधिका लागि खर्च गरिएको बताए । ११ लाख ९६ हजार ६ सय रुपैया एकमुष्टै चेकमार्फत नगर अध्यक्ष सिद्धार्थ यादवको खातामा जम्मा गरिएको बताए । त्यो रकम के कति कसलाई वितरण गरिएको हो भन्ने कुरा प्रमुखजीलाई नै थाहा रहेको उनले बताए ।

पदाधिकारीको भत्तामा मात्र नभई गाउँपालिकाले कोरोना भाइरस रोकथाम खर्चमा एक मुष्टै २८ लाख २४ हजार ३ सय ८७ खर्च देखाएको छ तर कुन सामाग्री कति खरीद गरिएको छ त्यो केहि उल्लेख गरिएको छैन् । गाउँपालिकाले करिब ५ हजार घर धुरी रहेको नगरमा प्रत्येक घरधुरीका परिवारको लागि झुलमा ५३ लाख ६९ हजार १ सय ९५ रुपैया खर्च गरेको छ । बजारमा सो रकममा १५ हजारभन्दा बढी झूल किन्न सकिन्छ । तर पालिकाले कति झुलको किनेको छ त्यो उल्लेख गरेको छैन् ।

त्यस्तै गाउँपालिकाको दुईवटा क्वारेन्टिन र महेन्द्र गेनाई अस्पतालको क्वारेन्टिनको व्यवस्थामा ३२ लाख ५१ हजार २ सय ९२ रुपैया खर्च गरेको छ । त्यस्तै राहतमा ८३ लाख ४२ हजार ३ सय ३२, स्वास्थ्यकर्मीका भत्तामा ८ लाख २ हजार ७ सय २३, कर्मचारीका लागि भत्तामा २ लाख ९४ हजार ४ सय रुपैया खर्च गरिएको छ ।

यस भन्दा पहिले सिरहाकै सिरहा नगरपालिकाले कोरोनाको रोक्थाम तथा नियन्त्रणको लागि खर्च गरेको विवरणमा ४ सय ९ रुपैयाको तकियामा २८ सय भन्दा बढीको खोल खरिद गरेको खर्च विवरण सार्वजनिक गरेको थियो । नगरपालिकाले खर्च गरेको तथ्यांक सार्वजनिक भएपछि चौतर्फी आलोचना भएपछि अख्तियारले यस विषयमा छानविन थालेको हो । अख्तियारले नगरपालिकामा छापा मारेर फाइलहरु लगेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर