• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आफ्नो विवाहको दिन आईएसको आत्मघाती बम विस्फोटको निशाना बनेको एक जोडि

काबुल । कुनै पनि जोडीको जीवनमा विवाहको दिनलाई जिन्दगीकै सबैभन्दा खुशीको दिन बताइन्छ, बनाइन्छ वा बन्छ, तर काबुलका एक जोडीका लागि यस दिन जिन्दगीकै सबैभन्दा खराब दिन बन्न पुग्यो ।

अफगानिस्तानको राधानी काबुलमा मिर्वेइस र रेहानाको गत वर्ष २०१९ मा भएको विवाहका दिन आतंकवादी संगठन आईएसको एक लक्षित आत्मघाती बम आक्रमणमा परी ९० भन्दा बढी पाहुनाको मृत्यु भएको थियो । यो जोडीले आफ्ना परिवारका सदस्य तथा साथीभाई गुमाए र उक्त आक्रमणले उनीहरुको मानसिक स्वास्थ्यमा एक भयानक रोग ल्यायो । 

यसै साता उक्त आक्रमणको एक वर्ष पुग्यो । त्यस दिन के भयो भन्नेबारे १८ वर्षीया रेहाना पहिलोपटक सार्वजनिक रुपमा बोलेकी छिन् । ‘प्रत्येक रात म डरलाग्दा र भयानक सपनाहरु देखिरहेको हुन्छु,’ उनी भन्छिन्, ‘म रुन्छु र म सुत्न सक्दिन ।’

मानिसहरुको भिडले उनलाई बेचैन बनाउँछ त्यसैले उनी कारमा मात्रै यात्रा गर्छिन् । ‘जब म गोली चलेको वा विस्फोटको आवाज सुन्छु, मलाई त्यही दिनको याद आउँछ र मलाई लाग्छ ममाथि फेरि त्यहि घटना दोहोरिँदैछ,’ उनले भन्छिन् । 

त्यस दिन मोरिएका व्यक्तिमध्येका केहीका आफन्तहरुले विवाह हलको बाहिर जहाँ घटना भएको थियो, उनीहरुले प्रदर्शन गर्ने विचार गरे । उक्त घटनाको एक वर्ष वितेको सम्झनामा र आक्रमणबाट मारिनेको न्यायका लागि प्रदर्शन गर्ने बताए । तर मिर्वाइस त्यहाँ उपस्थित भएनन्, उक्त दिनको आत्मघाती विस्फोट सम्झदा मात्रै पनि उनको हातहरु काप्न थाल्ने उनी बताउँछन् । 

‘विवाहअघि हामी धेरै खुशी थियौँ,’ मिर्वाइस भन्छन्, ‘अचानक हामी आकाशबाट भुँईमा खसेको जस्तो भयौँ । हामीले हाम्रा सबै खुशीहरु गुमायौँ ।’

वम विस्फोट हुनअघि आफ्नो विवाहको दिन नाच्दै मिर्वाइस । तस्विरः ईपिए

अफगानिस्तनको शिया अल्पसंख्यक समुदायका भएकाले त्यस दिन मिर्वाइस र रेहानाको विवाहलाई निशाना बनाइएको थियो, स्लामिक स्टेट समूहहरु यस धार्मिक समुदायलाई धर्म विरोधी जमातको रुपमा हेर्छन् । पछिल्ला वर्षहरुमा आईएस लडाकुहरुले लगातार शिया सम्प्रदायका मानिसमाथिा आक्रमण गर्दै आएका छन् । 

रेहाना र मिर्वाइसका लागि आक्रमणको आघात तब झन् भयानक बन्न पुग्यो जब केही आफन्त तथा चिनजानका व्यक्तिहरुले अप्रत्याशित रुपले उक्त रक्तपातका लागि उनीहरुलाई जिम्मेवार ठहराए । 

‘एक दिन म किनमेल गरिरहेकी थिए, त्यहाँ मेरो विवाहको विस्फोटमा ज्यान गुमाएकाको एक आफन्त महिलासँग भेट भयो,’ मिर्वाइस भन्छन्, ‘मलाई एक हत्यारा भनिन् ।’ आक्रमणमा ज्यान गुमाएका केही व्यक्तिका परिवारहरुले आफूलाई उनीहरुको ‘शत्रु’को रुपमा हेर्ने उनी बताउँछन् । मिर्वाइस एक कपडा सिलाउने व्यावसायी हुन् । दुर्वव्यहारका कारण उनले आफ्नो पसल नै बन्द गर्नु पर्यो । 

रेहानालाई पनि विभिन्न व्यक्तिहरुद्धारा निशाना बनाइयो । मान्छेहरु उनीहरुको विवाह नभएको भए उक्त घटना नहुने बताउँछन् । ‘सबै जना त्यस दिन जे भयो त्यसको जिम्मेवार मलाई ठान्छन्,’ उनी मलिन भएर भन्छिन्, ‘म चुपचाप बस्छु र केही पनि बोल्दिन ।’

विस्फोटको जिम्मा लिएको आईएस समूहलाई अफगानिस्तानमा तालिवान समूहको तुनालमा निक्कै कम शक्तिशाली मानिन्छ, तर यस समूहले पनि दर्जनौँ आक्रमणहरु गराएको छ । गत मे महिनामा काबुलस्थित एक प्रसुति गृहमा एक भयानक आक्रमणका लागि यस समूहलाई जिम्मेवार ठहराइएको थियो । आतंकवादीहरुले २४ जना महिला, केही संख्यामा नाबालक शिशु तथा बालबालिको हत्या गरेका थिए । 

यसै महिनाको सुरुवातमा आईएसले पूर्वी सहर जललावादको एक जेललाई घेराबन्दी गरे र सयौँ कैदीहरुलाई मुक्त गराए । यस आतंकवादी समूहको नियन्त्रण क्षेत्र कम र उसका वरिष्ठ नेताहरुको नजरबन्दका बाबजुद पनि यसले हिंसाहरु उत्पन्न गराइरहेको छ । 

रेहाना र मिर्वाइसलाई हाल चलिरहेको अशान्तिले उनीहरुको आफ्नै अनुभवहरुलाई पुनः जीवित गराएको महशुस हुन्छ । ‘विवाहको केही सातापछि काबुलको अर्को ठाउँमा एउटा विस्फोट भएको थियो, मेरी पत्नी अत्यन्तै डराइन् र बेहोस भइन्,’ मिर्वाइस भन्छन् । 

हाल रेहाना दुर्लभ मनोचिकित्सकीय सहयोग लिइरहेकी छिन् । यसका लागि उनी ‘पिस अफ माइन्ड अफगानिस्तान’ नामक काबुल आधारित एक परोपकारी संस्थालाई धन्यवाद दिन्छन् । मनोचिकित्सकीय थेरापीले उनलाई आक्रमणको आघात र असरबाट राहत दिइरहेको उनी बताउँछिन् । ‘थोरै भएपनि मेरा समस्याहरु साझा गर्न सक्नु मेरा लागि निक्कै राम्रो हो,’ रेहाना भन्छिन् । 

बम विस्फोटपछि अस्तव्यस्त विवाह हल । तस्विरः एपी

अफगानिस्तानमा हरेक वर्ष हजारौँ मारिने र घाइते हुने गर्छन्, तर निक्कै कमले मात्रै मनोचिकित्सकको काउन्सिलिङ पाउँछन् । पुरै देशमा स्वास्थ्य हेरचाह प्रणाली निक्कै कमजोर छ, त्यसमा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखिँदैन । रेहाना र मिर्वाइस जस्ता व्यक्ति जो नीजि थेरापी गराउँन असमर्थ छन्, उनीहरुका लागि परोपकारी संस्थाहरु फाइदाजनक साबित भएका छन् । 

मनोचिकित्सकसँग कुराकानी र आफ्ना समस्याहरु सुनाउँदा मानसिक स्वास्थ्यमा निक्कै सुधार आएको रेहाना र मिर्वाइस स्विकार्छन् । ‘अफगानिस्तानले धेरैभन्दा धेरै मानिसहरुको मानसिक स्वास्थ्यमाथि काम गर्न आवश्यक छ,’ मिर्वाइस भन्छन्, ‘प्रत्येक अफगानीले आफ्नो परिवार गुमाएको र यसको पिडाबाट पीडित छन् ।’

आगामी साता अफगान सरकार र तालिवान समूहबीच शान्ति वार्ता सुरु हुने आशा गरिएको छ, यद्यपि हिंसा जारी छ । यस वार्तामा आईएस समूह सहभागी छैन ।

अब अफगानिस्तान सुरक्षित महशुस नगर्ने रेहाना बताउँछिन् । मिर्वाइसले पनि केही परामर्शहरु लिइरहेका छन्, तर रेहाना जस्तै उनी पनि शान्तिका लागि सम्भावनाहरुका बारेमा निराशा व्यक्त गर्छन् । 

‘मेरो विवाहअघि उनीहरु अब शान्ति आउने बताइरहन्थे । एक वर्ष बितिसक्यो, कहाँ छ शान्ति ?,’ उनी निराशपूर्ण भावमा भन्छन्, ‘म तपाईलाई भन्न चाहान्छु, १० वर्षपनि तपाई अफगानिस्तानमा शान्ति र स्थिरता देख्न पाउनुहुने छैन ।’ 

-बिबीसी अंग्रेजीबाट समाचार दैनिकका लागि अनुवाद ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर