उपल्लो डोल्पामा चामल पुगेन

जाजरकोट। चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ। 

खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ। तीन हजार क्विन्टल चामलको कोटा तोकिए पनि चामल ढुवानी हुन नसक्दा शहरतारा र तेन्जे बिक्री केन्द्रमा अहिलेसम्म एक गेडा चामल नपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाले जनाएको छ।

उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि चीनमा दुई नाका प्रयोग गर्नुपर्दछ। सदरमुकामस्थित डिपोमा चामल भए पनि उपल्लो डोल्पामा चामल छैन। सदरमुकामबाट उपल्लो डोल्पामा ढुवानी गर्न सकिने भए पनि राज्यले ध्यान नदिएको स्थानीयवासीको गुनासो रहेको छ।

सदरमुकाम दुनैमा एक हजार २८०, जुफालमा एक हजार २००, सर्मीमा २९९ र काइगाउँमा एक हजार क्विन्टल चामल मौज्दात रहेको कार्यालय प्रमुख कमलराज पाण्डेले बताए। 

 यो आर्थिक वर्षमा पनि अहिलेसम्म ठेक्का भएको छैन । कोरोना संक्रमणको जोखिमका कारण सर्वसाधारण दुनै, जाजरकोट र रुकुमपश्चिमका बजारसम्म पुग्न सकेका छैनन्। स्थानीय उत्पादनले तीन महीना पनि खान नपुग्ने उपल्लो डोल्पामा निकै समस्या भएको शे(फोक्सुण्डो गाउँपालिका अध्यक्ष टासीतुन्डुप गुरुङले बताए। 

असोजसम्म ढुवानी नभए हिमपातले गर्दा समस्या हुने प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बताउँछन्। अहिले व्यापारीहरुसँग मिलेर भए पनि स्थानीय तहको सहकार्यमा केही खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइएको उनले जानकारी दिए। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर