जाजरकोटको बारेकाेटमा दैनिक घर ढल्दै, थपिँदैछ त्रिपालको बसाइ

फाइल तस्बीर

जाजरकोट। दैनिक सिमसिम पानी बर्सिन नछाड्दा बारेकोट गाउँपालिकामा सग्ला घर भकाभक भत्किन थालेका छन्। बाढीपहिरोबाट थिलथिलो भएको भूभागमा निरन्तर पानी पर्दा सद्दे घर पनि भत्किँदा दैनिक त्रिपालको बास बस्नेहरूको सङ्ख्या बढेको बारेकोटका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

उनले भने, “दैनिक घरहरू भत्किरहेका छन्, हामी व्यवस्थापनको समस्याले हैरान भइसक्यौँ। हाम्रो फाइल गृह मन्त्रालयमा कहिले जान्छ रु फेरि सङ्ख्या थप्नुपर्ने भयो प्रमुख जिल्ला अधिकारीज्यू।” कोभिड–१९ को महामारीका कारण देश आक्रान्त भएको बेला बारेकोटमा कोरोनासँगै त्रिपालको बासले सर्वसाधारण हैरान भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसँग सिसीएमसीको बैठकमा आइतबार अध्यक्ष शाह पीडा सुनाउँदै थिए।। “एउटा घर सग्लो छैन, आज फेरि दुई घर भत्किएको खबर छ” शाहले भने, “समस्या असीमित छन्, स्रोतसाधन सीमित छ यसलाई हल गर्न तुरुन्तै अगाडि बढ्नुपर्ने भयो।” 

उनका अनुसार गत असार २६ गतेदेखि त्रिपालमा बसेका सर्वसाधारण अझै कति समय त्रिपालकै बास बस्नुपर्ने हो थाहा छैन। विद्यालय, खुला चौर, अग्ला डाँडा कुनै पनि खाली नराखेर स्थानीयवासी ज्यान बचाउन बसिरहेको प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी गराए। बारेकोटमा विभिन्न निकायबाट राहत पठाए पनि अझै गाउँगाउँमा सो राहत पुग्न सकेको छैन।

“बाटो भत्किएको छ, खोलाहरूमा पानीको बहाव घटेको छैन”, बारेकोट–५ का प्रकाशमान सिंहले भने, “राहत टाठाबाठाले मात्र लिएको देखियो, वास्तविक पीडितमा पुरानै घाउको डोब पुरिएको छैन।” दैनिक निरन्तर वर्षाका कारण बारेकोटमा कोरोनाको त्रासभन्दा बाढी पहिरोको त्रास धेरै भएको सर्वसाधारण बताउँछन्। राहत वितरणमा विभेद भएको भन्दै पत्रकार वीरबहादुर गिरीको संयोजकत्वको टोलीले बारेकोटमा केही राहत वितरण गरी आइतबार मात्र फर्किएको छ। करिब पाँच लाख बराबरको सहयोग हस्तान्तरण गरिएको हो।   

पत्रकार गिरीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरी उक्तर रकम सङ्कलन भएको थियो। सङ्कलन भएको रकममध्ये चार लाख बराबरको राहत सामग्री खरिद गरिएको र बाँकी मृतकका परिवारलाई नगद हस्तान्तरण गरिएको हो।  पत्रकार गिरीले वडा नं ४ जिरीको सार्की टोलमा गएको पहिरोमा परेर मृत्यु भएका दुई घर परिवारलाई २०/२० हजार, वडा नं ६ धुमामा मृत्यु भएका दुई घरपरिवारलाई १०/१० हजार, मुल्साममा खोलामा बगेर ज्यान गुमाएका एक परिवारलाई १० हजार र पछ्याप्री गाउँमा घर जलेका तीन घरपरिवारलाई  सातरसात हजारका दरले नगद पनि प्रदान गरिएको बताए। 

बारेकोटमा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि बारेकोट घर भएका प्रेस सङ्गठन नेपाल कर्णाली प्रदेश समिति संयोजकसमेत रहेका पत्रकार गिरीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन भएको हो। समितिलाई देश विदेशबाट मनकारी व्यक्तिहरूले नगद रकम सहयोग गरेका थिए। सङ्कलन भएको रकमबाट खरिद गरिएको राहत सामग्री र नगद सम्बन्धित स्थानमा शनिबार एक कार्यक्रमको आयोजना गरी १६५ घरपरिवारलाई हस्तान्तरण गरिएको संयोजक गिरीले बताए।      

बारेकोट गाउँपालिका–४ र ६ मा पहिरोले बढी मानवीय क्षति पुर्‍याएको थियो। वडा नं। ४ जिरीको सार्कीटोलमा १२ जनाको मृत्यु भएको थियो भने वडा नं ६ धुमा गाउँमा दुई जनाको मृत्यु भएको थियो। पहिरोले बारेकोटका अधिकांश गाउँहरू पहिरोको जोखिममा परेका छन्। एक हजार २०० भन्दा बढी विस्थापित त्रिपाल तथा विद्यालयमा बसिरहेका छन्।  रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर