पहिरो पीडितको आश्रयस्थल बनाउन नेकपाका युवाहरुको श्रमदान

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका -६ मराङका पहिरो पीडितको लागि युवा र विद्यार्थीले श्रमशिविर सञ्चालन गरेर आश्रयस्थल बनाएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीको टोलीले युवा र विद्यार्थी परिचालन गरेर आश्रयस्थल बनाएका हुन्। ६३ परिवारका लागि ५१ वटा जस्ताले छाएको टहरा बनाएको युवा सङ्घका नेता शिशिर शाहीले बताए। 

गाउँपालिकाले जस्ता खरिद गरेको थियो । राष्ट्रिय युवा सङ्घ म्याग्दीका संयोजक प्रवीन शाही र अनेरास्ववियूका संयोजक सुवास विश्वकर्मा नेतृत्वको टोलीले टहरा छाउन श्रमदान गरेका थिए। 

पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थायी बसोबासका लागि गत साउनमा ४० जना युवा, विद्यार्थी नेतासहित स्थानीय युवाले पाँच दिन श्रमशिविर चलाएर ५१ वटा टहरा बनाएका थिए । 

बेँसीमा ११, ठूलोगाउँमा ८, राम्चेमा १५ र कुम्रिमा १७ वटा टहरा बनाएका छन्। घण्टीवाङ र रिखका पहिरो पिडित बसेको आरवाङको जनविकास आधारभूत विद्यालयमा दुई वटा अस्थायी शौचालय र सेफ्टी ट्याङ्की बनाइएको छ। 

मराङको कल्लेनी, राम्चे, ठूलोगाउँ, कुम्रि र रिखमा पहिरोमा परी १९ जनाको मृत्यु भएको थियो। दुईजना अझै बेपत्ता छन्। पहिरोले १७ घरमा पूर्ण, १५ घरमा आंशिक क्षति र ७८ घर उच्च जोखिममा भएका वडाध्यक्ष राजाराम सुवेदीले बताए। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर