मलमा कालोबजारी गरे कारबाही

चितवन।। कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ। 

कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्ने गरेको गुनासो सुनिएको भन्दै यस्तो गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको हो।

थोरै मात्रामा उपलब्ध भए पनि ज्ञान केन्द्रले कृषकको पहुँच होस् भन्ने हेतुले जिल्ला कृषि सामग्री आपूर्ति व्यवस्थापन समितिको निर्णयानुसार सहकारीको सदस्य सङ्ख्या, विगतमा रासायनिक मलको कारोवारको अवस्था र सम्बन्धित स्थानीय तहमा अनुमति लिएका सहकारीलाई मध्यनजर गरी मलको सिफारिस गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए।

सहकारी संस्थालाई उपलब्ध गराइएको मलको परिमाणलाई थप पारदर्शी ढङ्गले बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन गरेको उनले जानकारी दिए। प्रमुख ढकालले सहकारी र कृषक समूहलाई धान बालीलाई प्राथमिकतामा राखेर मल वितरण मिलाउनसमेत अनुरोध गरिएको बताएका छन्। कसैले कालोबजारी गरेको थाहा पाए जानकारी गराउन ज्ञान केन्द्रले अनुरोध गरेको छ ।
 
चितवनमा हालसम्म ४२६ मेट्रिक टन मल वितरण भइसकेको छ। नेपाल सरकारले उपलब्ध गराउने कोटामध्य कृषि सामग्री कम्पनीबाट आठ हजार मेट्रिक टन र साल्ट्र ट्रेडिङबाट ८०० मेट्रिक टन वितरण हुने गरेको छ। वितरण हुन बाँकी मलसमेत केही दिनमा आउने र वितरणमा पनि सहजता हुने ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ।रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर