कविता: आमा
कयौं जंघार छेकेर
धारिला प्रहारबाट बचाई
आफ़्नॊ वात्सल्य सिंचिरहिन अविछिन्न
र एकदिन उही छोरी आँखाबाट ओजेल पर्दा
कहिले पराईघर त कहिले सात समुन्द्र पार
तिम्रै प्रतिछाया त हो
बिछोडको पीडा तिमीले भन्दा बढी
अरु कसले महशुस गर्न सक्नु र है आमा ?
देश समानता भन्दै गर्छ
युगले काचुली फेर्दै जान्छ
र पनि कुरिती कुसंस्कारका धमिराहरु उस्तै छन्
हरेक मानसिकताका छाउगोठहरुमा
साँच्ची आमा ,
तिम्री नातिनीले यस्तो इतिहास
दन्तेकथामा सुन्नेछिन् की भोग्नेछिन् होला है आमा ?
बर्षौको ऋण उकास्न बिदेसिएका छोराहरु
अझैं कति अरबमै विलीन हुने हो कुन्नि
राष्ट्रको रङ्गले निधार रातो पारे पनि
तिम्रो दुधको दस धारले जस्तो खुशी
अनि हिम्मत दिदो रहेनछ आमा
किन यस्तो अन्तर वनेको होला है आमा ?
भो आमा , यस्तै अन्तरको कति कुरा गर्नु
बरु त्यो आँगनीमा हामीले रोपेको अम्बा
टुकी बालेर बुनेको हाम्रो भविष्य
सुनौलो जीवनको रश्मि
हाँसेर कल्पेको सपनाका कुरा गरौँ न
भाइवरमा आउनुस न ल आमा
अनि भनिदिनुस न
म मोटाएँ की दुब्लाएँ आमा ?
प्रतिकृया दिनुहोस