कविता : छेपारो र नेता
लगातारको झरी,
आगो सल्केला झैँ गरि लागेको चैतमासको खरेडी
या त, हरियै पात झार्नेगरि चलेको बतास !
यस्तै बेला हो,
छेपारोलाई पनि ओत लाग्ने ठाउँको याद आउँछ !
परिस्थिति सँधै आफ्नो अनुकुल होस
हावा पनि मेरै ईसारामा चलोस
मलाई तिर्खा लागेपछि मात्रै परोस पानी !
यस्तै सुन्दर संसारको कल्पना गर्छ
र, कुनै सुकिलो ढुङगामाथी चैनको सास फेर्छ !
जब अकस्मात वर्षन्छ झरी
माटोबाट आगो उठला झै गरी लाग्छ खरेडी !
तब, आफ्नै नामसमेत भुलिरहेको छेपारो
बटुवाको बाटो सम्म जान्छ !
यो आसमा,
कि उसले मेरो नाम उच्चारण गरिदिओस
मेरो लागि आराम र सुन्दर संसारको कल्पना गरिदिओस !
फगत आज
कुर्सी भएको छ सुकिलो ठाउँ
छेपारो भएका छन्, उनीहरु !
–इलाम
प्रतिकृया दिनुहोस