• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बोक्सी बकाउन मध्यरातमा मन्दिरमा पञ्चायती

सिरहा । सिराहाको नवराजपुर गाउँपालिका– ५ कुर्सन्डीस्थित शिव मन्दिरमा गाउँका अगुवाको ‘पञ्चायती’ बस्यो ।एजेन्डा थियो– स्थानीय धर्मनाथ यादवकी छोरी बिरामी भएकीले दोषीलाई सजाय दिने ।

सीमावर्ती भारतीय गाउँ तोरियाहीबाट आएका एक झाँक्रीले स्थानीय महिला मूर्तिदेवी बोक्सी भएको ठहर गरिसकेका थिए । दोषीलाई सजाय दिन र गाउँमा सुख र शान्ति स्थापना गर्न यो पञ्चायती डाकिएको थियो । गाउँबाट झाँक्री ल्याएर घरमै झारफुक गराएका थिए ।

४५ वर्षीया मूर्तिदेवीका पति रामनारायण यादवले कुटानी–पिसानी मिल सञ्चालनसँगै खेतीपाती गर्दै आएका छन् । ‘अघिल्लो शनिबार दिनभर मिल चलाएर राति ९ बजेतिर बन्द गरी नुहाएर खाना खाई सुतिसकेको थिएँ,’ रामनारायणले नयाँ पत्रिकासँग भने, ‘राति १२ बजे अचानक गाउँका दुईजना आएर उठाए, मैले किन–कसो भन्न पाइनँ । जरुरी छ भन्दै मलाई लिएर गए ।’

रामनारायण शिव मन्दिर पुग्दा ५० जनाभन्दा बढी जम्मा भइसकेका थिए । मध्यरातमा मन्दिरमा यति धेरै मान्छे जम्मा भएको देखेर रामनारायण डराए । पञ्चायतीले उनीसँग बयान लिन थाल्यो । ‘धर्मनाथकी छोरी बिरामी छ, तिम्री श्रीमती बोक्सी लागेको हो । तिमीहरूले सजाय पाउनुपर्छ भनेर उनीहरूले सुनाए । मैले अहिलेको जमानामा बोक्सीको कुरा गर्न मिल्छ भनेर सोधेँ । तर, मेरो भनाइ सुन्ने कोही थिएन,’ उनले भने ।

श्रीमती मूर्तिदेवी बोक्सी हो भनेर रामनारायणलाई बयान दिन बल गरिएको थियो । तर, उनले मानेनन् । त्यसपछि उनलाई बोल्न नदिई एक समूह उनको घर गयो । ‘एकैछिनमा त्यो समूहले मेरी श्रीमती मूर्तिदेवीलाई लछारपछार गर्दै घिसार्दै ल्यायो, गाउँका छोरा मान्छेहरू यो बोक्सी हो भन्दै उफ्रिरहेका थिए । उनीमाथि लात्ती र मुक्का वर्षा भइरहेको थियो,’ रामनारायणले भने, ‘एक–दुईजनाले बचाउन खोजे, उनीहरूलाई पनि भिडले तह लगायो । श्रीमती बचाऊ–बचाऊ भनेर चिच्याइरहेकी थिइन्, म जोगाउन अघि बढेँ । मलाई पनि लात्ती र मुक्का हानेर ढलाए ।’

मध्यरातमा मन्दिरमा कोलाहल भयो । आमालाई घिसार्दै लगेको देखेर छोरा गणेश पनि दगुर्दै गए । ‘आमालाई, बाबालाई र मलाई सबैलाई कुटे,’ गणेशले भने, ‘गाउँमा धर्मनाथकी छोरी बिरामी भएकी थिइन् । पोखरीमा डुबेर एक छिमेकीको मृत्यु भएको थियो । चट्याङ लागेर अर्का एकजनाको मृत्यु भएको थियो । यो सबको दोष हाम्री आमालाई लगाए ।’

छोरा गणेशका अनुसार मूर्तिदेवी रक्ताम्य भएर ढलेपछि पनि मान्छेहरूले बोक्सी भन्दै लात्ती हानिरहेका थिए । ‘उनीहरूले बोतलमा घोलेर मलमूत्र ठिक्क पारेका रहेछन्, अचेतजस्तै भएकी मूर्तिदेवीलाई खुवाए । हामी बाबुछोरालाई समातेर बन्धक बनाएका थिए । हामीले केही गर्न सकेनौँ,’ छोराले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर