• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जुम्ला छाडेका डा. केसी नेपालगन्जमा : आज काठमाडौं आउँदै, अनशन जारी

जुम्ला । स्वास्थ्य सेवा सुधारको माग गर्दै आठ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसी ‘हिंसाको भय’ले काठमाडौंका लागि प्रस्थान गरेका छन् । सोमबार नेपालगन्ज आएका डा. केसी मंगलबार काठमाडौं पुग्दै छन् । उनलाई भेरी अस्पतालको आइसियूमा राखिएको छ ।  

सोमबार नेपालगन्ज–काठमाडौं उडान नभएपछि डा. केसीलाई भेरी अस्पतालमा राखिएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । मंगलबार साढे ११ बजेको उडानबाट काठमाडौं पुग्ने योजना छ । 

डा. केसीले सत्याग्रह काठमाडौंमा पनि जारी राख्ने जनाएका छन् । उनले भनेका छन्, ‘राज्यले हिंसा र आक्रमण गर्न सक्ने लागेर सत्याग्रहलाई निरन्तरता दिने योजनासहित जुम्लाबाट काठमाडौं जान लागेको छु ।’ दुई वर्षअघि असारमा पनि उनी जुम्लामा सत्याग्रहमा बसेका थिए । सत्याग्रहमै रहेको वेला ४ साउन ०७५ मा सरकारले बलजफ्ती काठमाडौं लगेको थियो । 

डा. केसीले काठमाडौं नजाने अडान लिएका थिए भने स्थानीय बासिन्दा र विद्यार्थी उनको समर्थनमा उभिएका थिए । जसले गर्दा स्थानीय प्रशासनले बल प्रयोग गरेपछि विद्यार्थी र स्थानीय बासिन्दा घाइते भएका थिए भने अस्पतालमा तोडफोडसमेत भएको थियो । ‘यसपटक त्यस्तो अवस्था आउन नदिन डा. केसीले काठमाडौं जाने निर्णय लिनुभएको हो,’ उनका सहयोगी हिमालय कार्कीले नयाँ पत्रिकासँग भने । नयाँ  पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर