• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मानवीय सेवामा खटिने नर्समाथि निजी अस्पतालको अमानवीय अत्याचार

पढाइमा १० लाख खर्च, पारिश्रमिक १० हजार

काठमाडौं । महामारीबीच अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरूमाथि निजी अस्पतालले चर्को श्रम शोषण गरेका छन् । सरकारी अस्पतालमा सरकार आफैँले घोषणा गरेको प्रोत्साहन भत्ता दिएको छैन । निजी अस्पतालमा पनि न्यूनतम सुविधासमेत नदिएर १२ घन्टासम्म काममा लगाउने गरिएको छ । 

सामान्य अवस्थामा आठ घन्टासम्म ड्युटीमा खटिने नर्स महामारीको यो वेला १२ घन्टा खटिएका छन् । तर, रातदिन नभनी अतिरिक्त सेवामा खटिएका नर्सका लागि निजी अस्पतालमा कुनै सुविधा छैन । यसै पनि श्रम शोषणमा परेका नर्सहरूमाथि अहिले महामारीका वेला थप अन्याय भएको छ ।

महामारीबीच पनि विराटनगरस्थित नोबल मेडिकल कलेजका स्वास्थ्यकर्मी बिरामीको सेवामा खटिएका थिए । बिरामीको सेवा गर्दागर्दै नर्स ज्योति पोखरेल संक्रमित भइन् । ‘अस्पतालमा काम गर्दागर्दै संक्रमित भएँ, आफूले नै काम गर्ने अस्पतालमा बस्छु भनेँ । तर, तिमीलाई राख्न सकिँदैन भनेर जवाफ आयो, आफ्नै अस्पतालले यस्तो व्यवहार ग¥यो,’ पोखरेल नरमाइलो मान्छिन् । 

वीरगन्जका ओम अस्पताल र सीता अस्पतालमा दोहोर सेवा गर्छिन् सरिता परियार । बिरामीको सेवा गर्दागर्दै उनी पनि कोभिड संक्रमित भइन् । २३ साउनमा उनलाई संक्रमण पुष्टि भयो । संक्रमणमुक्त भएर अहिले उनी आफ्नो नियमित काममा फर्किएकी छिन्, तर उनी खुसी हुन सकेकी छैनन् । किनकि उनलाई संक्रमित भएर आइसोलेसन बसेको समयको तलब कटौती हुँदै छ । ‘यस्तो महामारीका वेला खटिएको भनेर भत्ता आउँछ भनेर सरकारले प्रचार गरेको छ, यता उपचार गर्दा आफैँ संक्रमित भएर आइसोलेसनमा बस्दाको समेत तलब काटिने अवस्था छ,’ उनले गुनासो पोखिन्, ‘घन्टाको हिसाबले तलब दिन्छन् । ड्युटी ग¥यो भने पाइन्छ, नभए पाइँदैन । पढाइमा यति धेरै लगानी भयो, उनीहरूले जे भन्छन्, त्यही मानेर काम गर्नुको विकल्प छैन ।’ 

आयुष्मा अधिकारी राष्ट्रिय मिर्गौला केन्द्रमा काम गर्छिन् । बिरामीको सेवाका खटिने यहाँका नर्सलाई पिपिई र मास्कसमेत दिइएको छैन । ‘लामो ड्युटीमा खाना, खाजा त आफ्नै पैसाले खानुपर्छ । त्यति मात्र होइन, अहिलेसम्म हामीलाई मास्क, पन्जा, पिपिई दिइएको छैन,’ अधिकारी भन्छिन। नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर