• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मन्त्रिपरिषद पुनर्गठनबारे ओली - प्रचण्ड छलफलमा के भयो ?

काठमाडौं । मन्त्रिपरिषद पुनर्ठनबारे नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद पुनर्गठनबारे प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग परामर्श गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले समाचार दैनिकलाई जानकारी दिए । 

मन्त्रिपरिषद पुनर्गठन गर्दा अपनाउने मोडालिटि तथा मापदण्डबारे दुई अध्यक्षबीच कुराकानी भएपनि व्यक्तिका विषयमा छलफलको विषय केन्द्रीत नरहेको उनले बताएका छन् । 
केही दिन अघि नेकपा मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन र त्यसका मोडालिटिबारे छलफल भएको थियो । सो छलफलले आवश्यक निर्णय गर्ने जिम्मा समेत अध्यक्षद्वयलाई दिएको थियो । 

सोही अनुसार आजको बैठकमा छलफल भएको हो । अध्यक्षद्वयले संवैधानिक निकायको पदपुर्ति तथा पार्टी एकिकरणका बाँकी काम टुंगो लगाउने विषयमा पनि छलफल गरेका थिए । 

मन्त्रिमण्डलबाट को–को हट्नेरु को–को बस्ने ?
लामो समयसम्मको पार्टी विवाद मत्थर हुने सिलसिलामा छ । यसअघि नै मन्त्रिमण्डल हेरफेर गरिसकेका प्रधानमन्त्री ओलीले पुनः मन्त्रिमण्डलको विषय पार्टी बैठकमा लगेपछि को रहने को नरहने भन्ने चर्चा झनै चुलिएको छ । 

स्रोतका अनुसार उप–प्रधान समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल मन्त्रिमण्डलबाट बाहिरिँदैनन् । प्रधानमन्त्री ओलीका नजिकका र विश्वास पात्र रहेका पोखरेल मन्त्रिमण्डलबाट नहट्ने स्रोतले समाचार दैनिकसँग दाबी गरेको छ । 

सुरुवाती चरणमा प्रधानमन्त्रीसँग केही टसल भएपनि गृहमन्त्री रामबहादुर थापाले पनि सम्बन्ध सुधारेका छन् । पछिल्लो समय प्रधानमन्त्री निकट हुँदै गएको चर्चा भइरहँदा उनको कार्यकाल पुनः धरापमा पुग्नबाट जोगिएको जस्तो देखिएको छ । साथै, उनी पूर्व माओवादी कोटाबाट मन्त्री बन्नेमध्येका सिनयिर नेतामध्येका हुन् । 

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ पनि मन्त्रिमण्डल पुनर्गठन हुँदापनि जोगिनेभित्रमा परेको सचिवालय निकट स्रोतको दाबी छ । अहिलेसम्म विवादमा नआएका मन्त्री पुन पूर्वमाओवादी पृष्ठभूमिका छन् । उनी सिनियर नेतामध्येका एक हुन् । पछिल्लो समय पार्टी विवाद मत्थर गर्ने क्रममा प्रधानमन्त्री ओली र प्रचण्डसँग समन्वयकारी भूमिका खेलेका ऊर्जामन्त्री पुनलाई दुवै अध्यक्षले रुचाएकामध्येका मन्त्री हुन् ।

भर्खरै, सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका प्रदिप ज्ञवाली पनि मन्त्रिमण्डलभित्रै अटाउने बुझिएको छ । साथै, शिक्षामन्त्री गिरिराजमणी पोखरलसँग प्रधानमन्त्री ओली सकारात्मक छन् । प्रतिकुलताकाबीच प्रधानमन्त्री ओली र सरकारलाई साथ दिएर काम गरेका कारण पोखरेल हट्नसक्ने संभावना कम छ । 
लकडाउनकै बीचमा भौतिक पूर्वाधारका काममा फड्को मार्ने जमर्को गरेका मन्त्री वसन्त नेम्वाङ पनि सुरक्षित छन् । पूर्वसभामुख सुवास नेम्वाङ निकट रहेका उनी ओलीका पनि नजिकका मानिन्छन् । 

यसभन्दा बाँकी रहेका मन्त्रीहरुलाई उनीहरुको पर्फमेन्सका आधारमा मात्रै राख्ने मुडमा प्रधानमन्त्री ओली पुगेको जानकारी छ । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेकी विना मगरको बारेमा पनि आवश्यक परे सोच्ने संकेत प्रधानमन्त्री ओलीले गरेका छन् । जसमा प्रचण्डले आवश्यक्ताका आधारमा अघि बढ्न ओलीलाई सकेत गरेको स्रोतको दाबी छ । 

जसको नयाँ नाम चर्चामा छ
यसअघि चर्चामा सुनिएका भिम रावल र सुरेन्द्र पाण्डे पछि हट्ने भएका छन् । परराष्ट्रमा रावल र अर्थमा पाण्डे जान रुचि देखाएका छन् । यी दुई बाहेकका अन्य मन्त्रालयमा उनीहरुले नजाने प्रधानमन्त्रीलाई सुनाएका छन् । यसो हुँदा ओली अहिले यी दुवै मन्त्रालय चलाउने पक्षमा छैनन् । 

जनार्दन शर्मा सूचना तथा संचार वा अन्य कुनै पाउँदा मन्त्रिमण्डलमा जाने तयारीमा छन् । बैठकमा यअसघि सांसद भएका, समावेशी, जातीयता, समानुपातिक हिसाबले अघि बढ्नपर्ने आवज उठिरहेको छ । यसका बावजुत, पम्फा भुसाल, देवेन्द्र पौडेल, वेदुराम भुसाल, अमनलाल मोदी, कृष्ण गोपाल श्रेष्ठ, यज्ञराज सुनुवार, प्रभु साह लगायतको नाम चर्चामा रहेको स्रोतले समाचार दैनिकलाई बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर