• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मन्त्रिपरिषद पुनर्गठनः ओली - प्रचण्ड छलफल सकियो

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सोमबारको छलफल सकिएको छ ।

मन्त्रिपरिषद पुनर्गठनबारे केही दिन यता लगातार छलफलमा व्यस्त रहेका अध्यक्षद्वयले आजको बैठकमा पनि मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायमा रिक्त रहेका स्थानमा पदपुर्ति गर्ने र पार्टी एकिकरणका बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए । 

गत विहिबार देखि दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा लगातार छलफल भईरहेको छ । मन्त्रिमण्डल पुनर्गठनको मोडालिटिका विषयमा अध्यक्षद्वय लगभग सहमति नजिक पुगेपनि हटाउने र थप्ने मन्त्रीहरुका बारेमा भने अझै टुंगो लाग्न सकेको छैन । 

यस अघि नेकपा सचिवालयको बैठकले सरकार पुनर्गठनका विभिन्न मोडालिटिबारे छलफल गर्दै अन्तिम टुंगोमा पुग्ने जिम्मेवारी अध्यक्षद्वयलाई नै दिएको थियो ।

अध्यक्ष प्रचण्ड सवै मन्त्रिहरुलाई फिर्ता बोलाएर आवश्यकता अनुसार केहीलाई दोहोर्याउने र केही नयाँ थप्ने योजनामा थिए । प्रधानमन्त्री ओली भने पुरै सेट नहटाउने, परिणाम दिन नसकेका र विवादमा आएकालाई मात्रै हटाउने र केही थप गर्ने योजनामा थिए ।  

अन्ततः प्रधानमन्त्री बाहेक ढिक्कै क्याविनेट हटाउने मोडल भन्दा पनि आवश्यकताका आधारमा केही हटाउने केही थप्ने मोडलमा अध्यक्षद्वय सहमत भएको प्रधानमन्त्री निकट श्रोतले समाचार दैनिकलाई बतायो ।  

 नेकपाले लामो समय सरकारमा रहेका, परिणाम निकाल्न नसकेका र विवादमा आएकालाई सरकारबाट हटाउने तयारी गरेको छ । विवादमा नआएका, कार्यप्रगतिका आधारमा परिणाम निकालेकालाई २ वर्ष पूरा भएपनि नहटाउने र सरकारलाई अझ प्रभावकारी बनाउन नयाँ थप गर्दा समेत प्रभावशाली नेताहरु थप्ने प्रधानमन्त्रीको चाहाना रहेको श्रोतले बतायो ।  

यसो गर्दा मन्त्रिपरिषदमा रहेका सचिवालय तथा स्थायी कमिटीका प्रभावशाली नेताहरु सरकारबाट बाहिरिने संभावना न्यून छ भने थप गर्दा पनि नेकपा विवाद समाधान कार्यदलमा रहेका प्रायः सवै र समावेशिताका आधारमा केही नयाँ र युवा पिंढीलाई थप्ने तयारी अध्यक्षद्वयको छ । यस्तो मापदण्डभित्र को को व्यक्ति पर्नसक्छन् भन्ने विषयकाे टुंगाे लागेकाे छैन ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर