• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रचण्डले बालुवाटार पठाए 'तारिख नधाउने' सन्देश !

काठमाडौं । पछिल्ला केही दिन यता नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी तथा सरकारका विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटार धाईरहेका छन् ।

पछिल्लो चरणमा देखिएको नयाँ विवाद, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध पार्टीकै नेताहरुले दर्ता गराएको अविश्वासको प्रस्तावका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले शनिबार कार्यकारी अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाए । तर अध्यक्ष प्रचण्डले खुमल्टारबाट बालुवाटारलाई नआउने सन्देश पठाएका छन् । 

'कर्णालीको समस्याको विषयमा छलफल गर्न आउनु भन्ने खबर आएको थियो, अध्यक्षले यस विषयमा मैले दुवै पक्षसँग छलफल गरिसकेको छु, अब तपाई पनि गर्नुस् । त्यसपछि दुवै बस्नुपर्ने भयो भने खबर गर्नुहोला' भन्ने सन्देश पठाएको खुमल्टार श्रोतले बतायो । 

यो एउटा परिघटना मात्र हैन पार्टी वा सरकारका हरेक काममा अध्यक्ष प्रचण्ड बालुवाटार धाउने गरेको प्रति नेकपा भित्र केही नेताहरुले आलोचना गरेका छन् । विषेश गरि सरकारका काममा हरेक दिनजसो बालुवाटार जाने तर परिणाममुखी काम नहुने देखिएपछि बरिष्ठ नेता माधव कुमार नेपालले समेत प्रचण्डलाई सुझाव दिएका थिए । 

नेता नेपालले 'बालुवाटारमा जति बालुवा पेलेपनि तेल निस्कदैन कति तारिक धाउनुहुन्छ ?' भन्ने टिप्पणी गरेको श्रोतको भनाई छ । 

पूर्वमाओवादी निकटस्थ नेताहरुले समेत प्रचण्डको बालुवाटार तारिक धाएजस्तै हरेक दिन जाने तर परिणाममुखी छलफल नगर्ने दैनिकी मन पराएका छेनन् । एक स्थायी कमिटी सदस्यले समाचार दैनिकसँग भने, 'कार्यकारी अध्यक्षले पार्टीका काममा ध्यान दिएर बेलैमा सक्ने र सरकारलाई पार्टीका तर्फबाट आवश्यक सुझाव र निर्देशन दिने हो । हरेक दिन सरकारका काममा कार्यकारी अध्यक्ष अल्मलिनु आवश्यक छैन ।'

कर्णालीको समस्याका विषयमा अध्यक्ष प्रचण्डले विवादमा आएका दुवै पक्षसँग छलफल गरिसकेका छन् । बरिष्ठ नेता माधवकुमार नेपालले समेत छलफल गरिसकेका छन् ।

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एकलौटी चलाएको आरोप लगाउदै नेकपाका कर्णाली प्रदेश सहइन्चार्ज यमलाल कँडेलले आफ्नै पार्टीका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव पार्टी संसदीय सदमा दर्ता गराएका थिए । नेता कँडेल प्रधानमन्त्री ओली पक्षका नेता हुन् । कँडेलसँगै प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह, र प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्माले संयुक्त रुपमा प्रचण्डसँग भेट गरेका हुन् । 

माधव कुमार नेपाल पक्षका नेता प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलगायतले पनि शीर्ष नेताहरुलाई कर्णालीको समस्या र समाधानका विषयमा रिपोर्ट गरिसकेका छन् । 

कर्णालीको विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वयले उनीहरुलाई काठमाडौंं आएर छलफल गर्न निर्देशन दिएका थिए । 

केही समयअघि सत्तारुढ दल नेकपा भित्र विवाद उत्कर्षमा पुगिरहेका बेला उपाध्यक्ष वामदेब गौतमले समस्या समाधानका लागि विभिन्न प्रस्तावहरु अघि सारेका थिए । त्यसमध्यको एउटा थियो, पार्टीका बैठकहरु अबदेखि पार्टी केन्द्रीय कार्यालयमा बस्ने । विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित विवाद समाधान कार्यदलले समेत वामदेबकै प्रस्ताव सेरोफेरोमा रहेर सहमतिको मस्यौदा तयार पारी अध्यक्षद्वयलाई बुझायो ।

सो प्रस्ताव स्थायी कमिटी तथा सचिवालयबाट पारित गरियो ।  त्यसपछिको पहिलो सचिवालय बैठक नेकपा मुख्यालय कोटेश्वार, पेरिसडाँडामा बस्यो । आफ्नो सरकारी निवासबाट बिरलै निस्कने प्रधानमन्त्री ओली पेरिसडाँडा स्थित मुख्यालयको तेश्रो ततलामा आयोजित सचिवालयको बैठकमा झण्डै ४ घण्टा बसे । प्रधानमन्त्री पेरिसडाँडा पुगेको यो घट्ना पहिलो थियो । तर, त्यसपछिका बैठकहरु फेरि बालुवाटारमै केन्द्रित भईरहेका छन् ।   
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर