• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कृषिमन्त्रीद्वारा भेडा स्रोत केन्द्रको अनुगमन

रुकुम(पूर्व) ।  लुम्बिनी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले भेडा स्रोत केन्द्र बनाउने स्थानको स्थलगत अनुगमन गरेका छन् ।  भेडा स्रोत केन्द्रको लागि छनोट गरिएको जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर ११ मा रहेको उपल्लो सेराको उहाँले स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमनपश्चात मन्त्री पौडेलले गाउँपालिका पशुपालनको लागि उपयुक्त ठाउँ भएको बताउनुभयो । पशुपालनलाई निर्वाहमुखी नभइ अब व्यावसायिक बनाउनुपर्नेमा उनको जोड थियो ।
 
सो अवसरमा स्थानीयवासीले मन्त्री पौडेल समक्ष विभिन्न माग राखेका छन् । यहाँका स्थानीयले केही वर्ष अघिसम्म पशुपालन व्यवसाय गर्दै आएका थिए । अहिले भने सरकारले संरक्षण नगरेकै कारण पशुपालन व्यवसया धरापमा पर्दै गएको उनीहरुले गुनासो गरेका छन् । पशुवस्तुलाई विभिन्न रोग लाग्दा बेलैमा उपचार र प्राविधिक नपाउँदा पनि आफूहरु समस्यामा परेको उनीहरुले बताएका छन् । 

उनीहरुले गाउँपालिकामै साना उद्योग सञ्चालन तथा कृषि एम्बुलेन्स सञ्चालनको माग गरेका छन् भने कृषकका लागि आएको बजेट र कार्यक्रम सोही शीर्षकमा खर्चिनुपर्नेमा माग गरेका छन् । स्थानीय कृषकले राखेका मागको सम्बोधन गर्दै मन्त्री पौडेलले भेडा पालनलाई उद्योगसँग जोड्ने तयारी प्रदेश सरकारले गरिरहेको बताए । पशुपालकसँगै कृषिलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गरिने विश्वास दिलाउँदै उनले स्थानीयको सल्लाह, सुझावलाई समेटेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पौडेलले भने, “कृषकको लागि आएको बजेट कृषकमै पुग्छ, यसमा कुनै शङ्का मान्नुपर्दैन, तपाईँहरु ढुक्क हुनुहोस् ।”


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर