• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारी चालक आफैँ कारवाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारी चालक तथा सहचालक आफैँ कारवाहीमा परेका छन् ।  दशैँका अवधिमा सवारी नियम उल्लङ्घनविरुद्ध चलाइएको कारवाही अभियानका क्रममा नियम उल्लङ्घन गर्ने उनीहरुले प्रहरीलाई नै आर्थिक लोभ देखाएपछि कारवाही गरिएको छ । 

यसरी कारवाहीमा पर्नेमा आठ सवारी चालक तथा सहचालक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कारवाहीमा पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, विक्रम तामाङ, प्रेमबहादुर तामाङ, खड्गबहादुर सुनुवार, अभिक आचार्य र अविन शाही  छन् । उनीहरुले सवारी नियम उल्लङ्घन गरेपछि कारवाही गर्न खोज्ने ट्राफिक प्रहरीलाई रु ५०० देखि तीन हजारसम्म दिन खोजेका थिए ।

महाशाखाले कुनै प्रलोभनमा नपरी आर्थिक लाभ इन्कार गरेर संलग्नलाई नियमानुसार कारवाहीका दायरामा ल्याउने ती ट्राफिक प्रहरीलाई पुरस्कृतसमेत गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार सङ्गठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारीसाथ निर्वाह गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरिएको छ ।  यसअघि पनि प्रलोभनमा नपर्ने ७३ ट्राफिक प्रहरीलाई पुरस्कृत गरिसकिएको छ ।

महाशाखाले कुनै  प्रहरीले लापरबाही गरेको वा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजीकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन पनि आज सूचनामार्फत अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर