मेची आयुर्वेद औषधालय सेवा विस्तारपछि नाफामा

पशुपतिनगर । इलामको आइतबारेस्थित मेची आयुर्वेद औषधालयले उपचारात्मक सेवा विस्तार गरेपछि पहिलो पटक नाफा आर्जन गरेको छ । प्रदेश नम्बर १ सरकार, सामाजिक विकास मन्त्रालयले सेवा विस्तार गरेको औषधालयमा गत आर्थिक वर्षमा औषधि र उपचारात्मक सेवाबाट रु पाँच लाख नाफा आर्जन भएको हो ।  मेची आयुर्वेद औषधालयको स्तरोन्नतिपछि एक वर्षमा १० हजार ३९  बिरामीले सेवा लिएका छन् । 

प्रदेश नम्बर १ सरकारले अस्पताल स्तरोन्नति गर्न सेवा विस्तार गरेपछि नेपाल र भारतका जटिल रोगीको औषधालयमा उपचार हुँदै आएको छ ।  न्यून शुल्कमा सेवा प्रदान गर्दै आएको औषधालयमा ढाड, कम्मर, घुँडा, नसा च्यापिएको, पेट, टाउकोसम्बन्धी उपचार सेवा विस्तार भएको थियो । तेइस प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको औषधालयमा १० प्रतिशत छुटमा सशुल्क औषधि खरीदको व्यवस्था पनि गरिएको छ ।  

औषधालय व्यवस्थापन समितिले आव २०७६÷०७७ मा छुटमा औषधि बिक्रीबाट रु एक लाख ३३ हजार र उपचारात्मक सेवाबाट रु तीन लाख ५० हजार नाफा गरेको प्रमुख तीर्थ आचार्यले बताउनुभयो । पञ्चकर्म, निःशुल्क औषधि, अकुपञ्चर, प्रयोगशाला, आकस्मिक सेवालगायत विस्तारमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो ।
     

औषधालयमा इलाम, पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ जिल्लाबाट उपचार गर्ने बिरामीको भीड लाग्छ । कोरोना महामारी शुरु हुनुअघि औषधालयमा दैनिक आठदश बिरामी भारतका विभिन्न क्षेत्रबाट आउने गरेका थिए ।  प्रदेश सरकारलाई औषधालय हस्तान्तरण गरिएपछि हालसम्म सेवा विस्तारका लागि  मन्त्रालयले रु ८८ लाख  लगानी गरेको छ । 
 पछिल्लो समय बिरामी आयुर्वेदतर्फ आकर्षित भएका छन् । प्रदेश सरकारको लगानीमा मेची आयुर्वेद औषधालयको स्तरोन्नति र सेवा सुविधा थपपछि बिरामी आयुर्वेदमा आकर्षित भएका हुन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर