• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अमेरिका : राष्ट्रपति चुनाव प्रचार अन्तिम चरणमा, कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो 

एजेन्सी । अमेरिकामा आगामी मंगलबार ४६औँ राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ र निर्वाचन तयारी तथा प्रचार–प्रसार अन्तिम चरणमा पुगेको छ । 

पछिल्लो केही सातामा अमेरिकामा कोरोना संक्रमण पनि बढेको छ । यसबीच अमेरिकाका थुप्रै राज्यका सांसदहरु कोभिड–१९ महामारीको संक्रमणलाई बढ्न नदिन सक्दो प्रयास गरिरहेका छन् ।

जोन्स होप्किन्स विश्वविद्यालयको विवरण अनुसार, शुक्रबार अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ भने मृत्यु हुनेको संख्या २ लाख २९ हजार नाघेको छ । 

यसैगरी अमेरिकामा एकै दिन भेटिने नयाँ संक्रमितको संख्याले पनि बिहिबार नयाँ रकर्ड राखेको छ, जुन दिन, समाचार एजेन्सी रोयटर्सका अनुसार ९१ हजार २४८ नयाँ संक्रमित फेला परेको थियो । 

पछिल्लो समय अमेरिकामा बढ्दो कोभिड संक्रमण र अस्पताल भर्नाले रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीका सांसदहरुलाई नराम्ररी प्रभावित पारेको छ । उनीहरुले नागरिकहरुलाई सतर्क रहन र नयाँ संक्रमणहरुलाई रोक्नका लागि ठूलो संख्यामा भेला हुनबाट बच्न आह्वान गर्दैआएका छन् । 

चुनाव प्रचार प्रसारको समय सकिँदै गर्दा दुवै पार्टीका उम्मेदवारहरु रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका मध्य पश्चिमी राज्यहरुमा केन्द्रित भएका छन् ।

वर्तमान राष्ट्रपति तथा रिपब्लीकन उम्मेदवार डोनाल्ड ट्रम्पले गएराति मिनिसोटा राज्यमा चुनावी कार्यक्रम गरेका छन् । त्यसैगरी
हिजो नै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन भने आयोवा राज्य पुगेका थिए । 

अहिलेसम्म हुलाक वा विद्यूतिय माध्यमबाट ८ करोड ५० लाखभन्दा धेरैले मतदान गरिसकेका छन् । 

यो तथ्यांकलाई हेर्दा अमेरिकी निर्वाचनमा यसपटक अहिलेसम्मकै उच्च १५ करोड मतदाताले मत खसाल्ने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा झण्डै २४ करोड मतदाता मत खसाल्न योग्य छन् ।

निर्वाचन अघिका सर्वेक्षणहरुले राष्ट्रपति ट्रम्पमाथि डेमोक्रेट उम्मेदवार बाइडेनले स्पष्ट अग्रता लिइरहेको देखाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर