• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विदेशमा पसिना बगाएर र स्वदेशमा गाई–भैँसी बेचेर सर्वसाधारणले दिएको ३६ करोड अलपत्र

हेटौँडा । भीमफेदी–कुलेखानी सुरुङ मार्गका नाममा नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुरका सर्वसाधारण र विभिन्न संघसंस्थाबाट सेयर उठाएको करिब ३६ करोड जोखिममा परेको छ । विदेशमा मजदुरी गरेर जोडेको रकमदेखि घरमा भएका बाख्राका पाठासम्म बेचेर स्थानीयले गच्छेअनुसार दश हजारदेखि दश लाखसम्म सेयर हालेका थिए । तर, विकासको असाधारण सपना देखाएर गरिबको पसिनासमेत लुटिएको छ । 

सरकारले ६ जेठ ०७० मा सुरुङ मार्ग निर्माणका लागि पूर्वाधार विकास कम्पनीलाई अनुमतिपत्र दिएको थियो । त्यतिवेलैदेखि स्थानीयबाट सेयर रकम उठाउन थालेको कम्पनीले अहिलेसम्म ३५ करोड ७६ लाख संकलन गरिसकेको छ । भीमफेदी र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिकाका अधिकांश सर्वसाधारणले सुरुङ मार्गमा सेयर हालेका छन् । तिनैमध्येका एक हुन्– भीमफेदी– ६ का नवराज राना ।

करिब आठ वर्षअघि दुबईको प्रचण्ड गर्मीमा मजदुरी गरिरहेका वेला श्रीमतीले फोन गरेर घरछेउबाटै सुरुङ मार्ग बन्ने खबर सुनाउँदा नवराज निकै हौसिएका थिए । निर्माण कम्पनीले स्थानीयलाई पनि सेयर दिने कुराले त उनलाई झन् पुलकित बनायो, मनमनै घरअगाडिको सुरुङबाट गाडी कुदेको देख्न थाले । ०७० मा उनले श्रीमतीको बैंक खातामा २० हजार रुपैयाँ पठाइदिए र फोन गरेर भने– यो पैसा अन्त खर्च नगर्नू, सुरुङ मार्गमा सेयर लगानी गर्नू ।

नवराजले भनेअनुसार उनकी पत्नीले आफ्नो र आमाको नाममा १०–१० हजारको सेयर खरिद गरिन् । तर, सात वर्षअघि गरेको लगानी अहिले बालुवामा पानी खन्याएझैँ भएको छ । ‘दुबईको ठुल्ठूला सडक र सुरुङ मार्ग देखेर हाम्रो गाउँमा पनि त्यस्तै विकास हुन्छ होला भन्ने सोचेर लगानी गरेँ, मिहिनेतको रकम माटोमा मिल्यो,’ उनले भने, ‘हामीले अर्काको भूमिमा पसिना बनाएर लगानी गरेको रकम कम्पनीका सञ्चालकहरूले लुटे ।’ वैदेशिक रोजगारीबाट फर्किएर नवराज सुरुङ मार्गको प्रस्थान बिन्दु तोकिएको भीमफेदी बजारनजिकै मासु पसल चलाइरहेका छन् । कम्पनीले सर्वसाधारणबाट उठाएको रकम फिर्ता दिने वा निर्माण अघि बढाउने भन्ने स्पष्ट पार्नुपर्ने उनको माग छ । 

पूर्वाधार विकास कम्पनीले सरकारबाट अनुमतिपत्र लिनु अघिदेखि नै भीमफेदी–कुलेखानी सुरुङ मार्ग बन्ने र त्यसमा जनतालाई पनि सेयर बाँडिने भन्दै पैसा उठाउने वातावरण बनाउन थालेको थियो, जसबाट भीमफेदी, कुलेखानी र सिस्नेरीका जनता निकै उत्साही पनि भइरहेका थिए । ०७० पछि धमाधम सेयर हाल्न थाले ।  नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर