• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

चितवन घटनापछि सुरेन्द्र पाण्डे भन्छन्– गैरराजनीतिक चरित्र देखाइयो, जसले प्रश्रय दिन्छ ऊ पनि सिद्धिन्छ

काठमाडौं । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच केन्द्रमा चर्किएको विवाद क्रमशः जिल्ला–जिल्लामा विस्तार हुँदै गएको छ । ओली र प्रचण्डले १३ मंसिरमा डाकिएको केन्द्रीय सचिवालय बैठकमा आरोप–प्रत्यारोपसहितको बेग्ला–बेग्लै राजनीतिक दस्ताबेजमा छलफलको तयारी गरिरहेका वेला केन्द्रीय विवाद जिल्ला–जिल्लामा विस्तार हुँदै गएको हो ।

दुवै समूहका नेता–कार्यकर्ता अर्को समूहका नेताविरुद्ध नाराबाजी गर्ने, बेग्ला–बेग्लै भेला गरेर गुट विस्तार र सुदृढ गर्ने तहमा सक्रिय बनेका छन् । चितवनको वीरेन्द्रनगरमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहारको प्रयास भएको छ भने सुर्खेतमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले जबजका पक्षमा प्रदेशस्तरीय खेलाडी भेला गरेको छ । 

चितवनमा नेकपा राप्ती नगर कमिटीले आयोजना गरेको बैठकमा ओली समूहका कार्यकर्ताले स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री पाण्डेको सम्बोधन बिथोल्दै अभद्र व्यवहार गर्ने प्रयास गरेका छन् । चितवन– १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पाण्डेले सम्बोधन गरिरहेका वेला ओली समूहका करिब एक दर्जन कार्यकर्ताले नाराबाजी गर्दै बैठक बिथोल्ने प्रयास गरेका थिए । 

विकास निर्माण तथा संसद् विकास कोषको विषयमा छलफल गर्ने भनिए पनि नेता पाण्डेले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको विरोध गर्दै सम्बोधन गरेपछि नाराबाजी गरेको ओली पक्षका कार्यकर्ताहरूको दाबी छ । ‘उहाँले चितवनमा कार्यकर्ता भेला गराइरहेको थाहा पाएपछि हामी पनि शनिबारको कार्यक्रममा पुग्यौँ । अर्कै विषय भनिए पनि गुटगत कार्यक्रम रहेछ,’ विरोधमा उत्रिएका केदार आचार्यले भने, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध भ्रम सिर्जन गर्ने गरी सम्बोधन सुनेपछि हामीले उहाँका विरुद्ध नारा लगाएका हौँ ।’ उनीहरूले पार्टी एकता जिन्दावाद, राजनेता केपा ओली जिन्दावाद भन्दै नारा लगाएपछि पाण्डेले बीचैमा सम्बोधन स्थगित गरेका थिए ।

घटनापछि नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले बेग्ला–बेग्लै विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा र भत्र्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । ‘सभ्य, सुसंस्कृत, एवं समुन्नत समाज निर्माण गर्ने, उद्देश्य बोकेर कम्युनिस्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने–गराउने जोसुकै भए पनि कडा कारबाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछु,’ वरिष्ठ नेता नेपालले विज्ञप्तिमा भनेका छन् ।

अर्का वरिष्ठ नेता खनालले पनि दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्तरिक विवाद उत्कर्षमा पुगेको र समाधानको उपायको खोजी भइरहेका वेला घटनालाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन पार्टीपंक्तिलाई अनुरोध गरेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सुनियोजित दुव्र्यवहार घटनाको निन्दा र भत्र्सना गर्दै त्यस्तो व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र नभएर कसैको हित नहुने बताएका छन । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर