• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

दिक्कालजयी म्यारोडना : 'हेन्ड अफ गड र गोल अफ सेन्चुरी'

अद्‍भुत, बदनाम, असाधारण, जिनियस र रिसालु स्वभाव । डिएगो अरमान्डो म्याराडोना । फुटबलका यस्ता महानायक थिए, जसमा केही कमजोरी पनि थिए ।

फुटबलका सबैभन्दा प्रभावशाली र चम्किला खेलाडीमध्ये एक, अर्जेन्टिनाका म्याराडोनामा प्रतिभा, शोख, दृष्टिकोण र गतिको यस्तो भण्डार थियो, जसबाट उनले आफ्ना समर्थकलाई मन्त्रमुग्ध बनाउँथे । 

उनले आफ्नो विवादित गतिविधिका कारण आफ्ना समर्थकलाई दुःखी बनाए र चोट पनि पुर्‍याए । म्याराडोनाले आफ्नो विवादित ‘हेन्ड अफ गड’ गोलबाट सबैलाई आश्चर्य पारे र मैदानबाहिर लागू औषधमा समेत लागे । 

सानो कदका फुटबलका हस्ति

म्याराडोनाको जन्म ६० वर्षअघि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको एक झुप्राहरुले भरिएको सानो सहरमा भएको थियो । आफ्नो गरिबीसँग लड्दै युवावस्थासम्म आइपुग्दा उनी सुपरस्टार बनिसकेका थिए । कतिपय मानिस उनलाई ब्राजिलका महान खेलाडी पेलेभन्दा पनि महान फुटबलरका रुपमा लिन्छन् ।

म्याराडोनाले ४९१ खेलमा २५९ गोल गरेका थिए । एक सर्वेक्षणमा उनले पेलेलाई पनि उछिनेर २० औं शताब्दीका महान फुटबलर बन्ने सौभाग्य र गौरव पाएका थिए । तर फिफाले भोटिङको नियम परिवर्तन गरेर दुवै खेलाडीलाई सम्मानित गरेको थियो । म्याराडोना विलक्षण प्रतिभाका धनी थिए ।

उनी बचपनदेखि नै अलग प्रकृतिका थिए । उनले १६ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय फुटबलमा पाइला राखेका थिए । कदमा सानो र मोटो शरीर भएका उनी ५ फिट पाँच इन्च उचाइका थिए । तर उनी सामान्य खेलाडी थिएनन् । म्याराडोनासँग चतुर्‍याई, तीव्र गति, फुटबललाई नियन्त्रणमा राख्नसक्ने क्षमता र ड्रिब्लिङ जस्ता गुण थिए । उनले धेरै तौल हुनुको बेफाइदालाई आफ्नो क्षमताले सधैं किचेर राखेका थिए । 


हेन्ड अफ गड र गोल अफ सेन्चुरी

म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेले । जसमा उनले ३४ गोल गरेका थिए । यो उनको उतारचढाबपूर्ण अन्तर्राष्ट्रिय करिअरको एक हिस्सा हो । उनले आफ्नो देशका लागि सन् १९९६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलको उपाधि जिताए र चार पटकसम्म प्रतियोगिताको फाइनलसम्म पुर्‍याए । १०८६ को विश्वकपको क्वाटरफाइनलमा म्याराडोनाले गरेको गोल भने सधैं चर्चाको विषय बन्छ । 

मेक्सिकोमा क्वाटरफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल थियो । दुई देशबीचको यो खेल निकै तनावपूर्ण थियो । किनकि त्यसभन्दा ४ वर्षअघि मात्रै फकल्यान्डमा दुई देशबीच युद्ध भएको थियो । २२ जुन, १९८६ मा भएको रोमान्चक खेलमा ५१ मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन् । त्यसै समयमा म्याराडोनाले विपक्षी टिमका गोलकिपर पीटर शिल्टनतर्फ अघि बढेर आफ्नो हातले बललाई जाली चुमाए । हातको प्रयोगका कारण यो गोल विवादित बन्यो ।

फुटबलको नियमअनुसार हातले बल छोएका कारण सिधा फल थियो र उनलाई कम्तीमा पहेँलो कार्ड या रेड कार्ड हुन सक्दथ्यो । तर त्यसबेला भिडियो प्रविधि थिएन र रेफ्रीले यो गोललाई राम्रोसँग देख्न पाएनन् । त्यसकारण यसले गोलको मान्यता पायो र अर्जेटिना १–० ले अघि बढ्यो । खेलपछि म्याराडोनाले सो गोलबारे प्रतिक्रिया दिए, ‘थोरै आफ्नो टाउको र थोरै भगवानको हात ले यो गोल भएको थियो ।ु त्यसपछि यो घटना फुटबलको इतिहासमा सधैं ‘हेन्ड अफ गड’ का नामले दर्ज भएको छ । 

यो खेलमा विवादित गोलभन्दा चार मिनेटपछि गरेको गोललाई ‘गोल अफ दि सेन्चुरी’ शताब्दीको गोलका रुपमा लिइन्छ । उनी एक्लैले इंग्ल्यान्डका पाँच खेलाडी र गोलकिपरलाई छक्याएर बललाई पोस्टको दिशा दिएका थिए । यो गोलका बारेमा बीबीसीका कमेन्टेटर ब्यारी डेभिसले भनेका थिए, ‘तपाईंले मान्नैपर्छ कि यो शानदार थियो । यो गोल फुटबलको चातुर्य गोल हो भन्नेमा कुनै सन्देह छैन ।’ 

यो खेलपछि म्याराडोनाले भनेका थिए, ‘यो खेल जितभन्दा केही बढी नै थियो । यसको उद्देश्य इंग्ल्यान्डलाई विश्वकपबाट बाहिर पठाउनु थियो ।’ 
रिटायर्ड जीवन

उनले ३७ औं जन्मदिनको अवसरमा फुटबल करिअरबाट अवकाश घोषणा गरे । तर उनलाई विवाद र कठिनाईले भने सधैं पछ्याइरह्यो । म्याराडोनाले एक पटक पत्रकारमाथि एयर राइफलबाट गोली चलाएका थिए । जसका लागि उनलाई २ वर्ष १० महिना जेल सजाय सुनाइएको थियो ।

कोकिन र मदिराको लतका कारण उनले केही स्वास्थ्य समस्याको सामना गर्दै आएका थिए । उनको तौल पनि धेरै बढेको थियो र एक समयमा १२८ केजी सम्म पुगेका थिए । सन् २००४ मा म्याराडोनालाई हृदयघात भएपनि आईसीयूमा राखेर उपचार गरिएको थियो । मोटोपन घटाउनका लागि उनले ग्यास्ट्रिक–बाइपास सर्जरी गराएका थिए भने लागू पदार्थको लतबाट छुटकारा पाउनका लागि सहयोग लिनुपरेको थियो ।

यी सबै विवाद र हैरानीका बाबजुद २००८ मा म्याराडोना अर्जेन्टिनी राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए । उनले म्यानेजरका रुपमा अर्जेन्टिनाका लागि केही काम गरे । तर उनका बारेमा मानिसहरुका दुई थरी विचारहरु आइरहे र कुनै नै कुनै कारण चर्चामा रहे । उनले विवाहेत्तर सम्बन्धबाट जन्मिएका छोरा डिएगो अरमान्डो जुनियरलाई सार्वजनिक रुपमा स्वीकार गरेका थिए ।

सन् २०१८ को विश्वकप फुटबलमा रुसमा उनी अर्जेन्टिना र नाइजेरियाको खेल हेर्न गएका बेला एक फोटो भाइरल बनेको थियो । त्यसबाट उनको जीवनशैली कति बिग्रिसकेको थियो भन्ने पत्ता लाग्थ्यो । रुसमा उनी एक नाइजेरियाका समर्थकसँग नाचेका थिए । खेल सुरु हुनुअघि नै आकाशतिर फर्किएर प्रार्थना गरे । मेस्सीको गोलमा उनले यति उत्साहित भएर ‘सेलिब्रेट’ गरे कि सायद उनी आफैंले गोल गर्दा पनि त्यति खुसी थिएनन् होला ।

खेलका क्रममा नै उनी सुते र अर्जेन्टिनाको दोस्रो गोलपछि उनले ‘डबल मिडिल फिङ्गर स्यालुट’ गरे । आफ्नो जीवनका पछिल्ला केही वर्षदेखि उनी आफ्नो जीवनशैली सुधार गर्नका लागि उपचार गराइरहेका थिए । उनी उत्कृष्ट, बदनाम, शर्मनाक र मनोरञ्जक सबै थिए । असाधारण जिन्दगी थियो, म्याराडोनाको ।

यस्ताे छ म्याराेडनाकाे काे जीवनीः

अक्टोबर ३० सन् १९६० मा डियगो म्यारोडोनाको परिवारको पाँचौं सन्तानको रुपमा अर्जेन्टीनामा जन्म भएको थियो । उनले सवैभन्दा पहिला आफ्नो घर बाहिर, भिल्ला फियोरिटोको धुलाम्म सडकमा फुटबल खेलेका थिए । गरिव परिवारमा जन्मिएका म्यारोडोनाका अविभाकहरु बाटोको बाढी घर मित्र नछिरोस भनेर टिनका पाता र बाल्टीहरुले बाढी छेक्ने गर्दथे । 

३ वर्षको उमेरमा म्यारोडोनालाई उनका काकाले फुटबल उपहार दिएका थिए । फियोरिटोको खुल्ला सडकमा उनले फुटबल प्रतिको आफ्नो मोह र क्षमता देखाईसकेका थिए । 

आफ्नो बायोग्राफीमा म्यारोडोनाले भनेका छन्, संभवता १० वर्षको उमेर भन्दा अघि नै हुनुपर्छ, एक दिन म खेल्दा खेल्दै बल सेफ्टी ट्याङकीमा खस्यो । बल निकाल्न म पनि त्यही छिरें, ट्याङकीको फोहोर घाँटी सम्म आईपुग्ने थियो । तर पनि म बाहिर निस्कनु भन्दा पनि बल खोज्न ट्याङकी भित्र डुब्ने गर्दथे ।

त्यो अवस्थाबाट पनि मलाई मेरा काकाले नै बचाएका थिए । काकाले मलाई नबचाएका भए संभवत फुटबल खोज्दा खोज्लै म सेफ्टी ट्याङकीमा नै मर्थें होला । 

जव उनको दाशौं जन्म दिन मनाउने बेला भयो फुटबल प्रतिको उनको क्षमता पहिचान भईसकेको थियो ।

उनी सहित उनका २ मिल्ने साथीले एक वर्ष अघिनै अर्जेटिनोस जुनियरमा ट्रयाल दिने मौका पाईसकेका थिए ।

१० वर्षको उमेरमा उनले देखाएको खेल कौशलका कारण अर्जेन्टाईन प्रेसले एक कोलममा उनको समाचार छापिसकेका थिए ।  २० वर्षको हुंदा म्यारोडोना अर्जेन्टिनाको राष्ट्रिय टिममा परिसकेका थिए । 

१९८६ मा म्याक्सिकोमा सम्पन्न विश्वकपमा म्यारोडोना तव चर्चित भए जव उनले बेलायत विरुद्धको खेलमा हातले हानेर गोल गरे र सो कुरा रेफ्रीले देखेनन् । पछि उनले त्यसलाई आफनो नभई भगवानको हातले गोल गरेको बताएका छन् । ३० वर्षको उमेरमा म्यारोडोना करिअरको पिकमा पुगेका थिए । 

करिअरको अन्त्यतिर ब्युनर्स आयर्समा फर्किएका म्यारोडोना एक दिन लागूऔषध दुर्व्यसनको आरोपमा पक्राउ परे । उनलाई १५ महिनासम्म कुनैपनि खेल गतिविधिभा माग नलिने आदेश दिईयो ।  त्यसका बाबजुत पनि उनलाई नागरिकहरु उच्च सम्मान दिईनै रहे । उनले आफ्नो करिअरको अन्तिम व्यवसायीक खेल अर्जेन्टिनाको बोका जुनियर्सबाट प्रतिस्पर्धी रिभरसँग खेले र जिते ।

लागु औषधको सेवनका कारण सन् २००० मा उरुग्वेको समुद्री किनारमा उनी झण्डै मृत्युको नजिक पुगेका थिए । त्यहाँबाट उद्दार गरेर उनलाई क्यूवामा रिह्याविटेशन सेन्टरमा राखियो । ४ वर्ष क्यूवामा विताएका उनलाई राष्ट्रपति फिडेल क्यास्ट्रोले विषेश अतिथिको सम्मान दिएका थिए । 

४१ वर्षको उमेरमा फेयरवेल गेम खेलेका म्यारोडोनाले अर्जेन्टिनामा कुनै समय टेलिभिजन होष्ट भएर कार्यक्रम समेत चलाए । पेले, फिडेल क्याष्ट्रो, माईक टाईसन उनको चर्चित अतिथि थिए । 

५० वर्षको उमेरमा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा उनी अर्जेन्टिनी टोलीको प्रशिक्षक बनेका थिए । अहिले अर्जेन्टिनाको एउटा क्लबको कोच भएर समय विताईरहेको म्यारोडोनाको तुलना पेलेसँग हुने गरेको छ । 

अहिलेका दुई फुटबलर रोनाल्डो र मेसी मध्य को उत्कृष्ट भन्ने चर्चा चलेजस्तो तत्कालिन दुई हस्तीहरका बीच पनि तुलना हुने गरेको थियो । यी दुवैका पक्ष र विपक्षमा समेत मत व्यक्त गर्ने विश्वमा ठूलो जमात छ ।

  - बीबीसीसहित एजेन्सीहरूकाे सहयाेगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर