निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा: समिति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको शनिबार हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको  निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लीलामणि पौडेलले महासंघको नयाँ कार्यसमितिका लागि शनिबार हुने निर्वाचनको सबै तयारी पूरा भएको बताए । महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्यांक्‍वेट थापाथलीमा र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुने पनि पौडेलले बताए । 

यस्तै कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ । निर्वाचन बिहान ८ बजेदेखि सुरु हुनेछ । यस्तै शनिबार राति नै मतगणना सम्पन्‍न गर्ने गरी तयारी भइरहेको पनि उनले जानकारी दिए ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भएअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् । बाँकी पदमा निर्वाचन हुनेछ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन् । 

यस्तै वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्रतिस्पर्धा हुनेछ । जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् । एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन् । यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एकजनाका लागि तीनजना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जना चुनावी मैदानमा छन् । कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले दुई सदस्य निर्विरोध भएको घोषणासमेत गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर