• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सचिवालयबाटै विवादकाे छिनाेफानाे हुन्छः खनाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिएको विवाद शनिबारदेखि सुरु हुने सचिवालय बैठकले छिनोफानो गर्ने वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।  

सचिवालय बैठकले वारपारको अवस्था आउन सक्ने धेरैले अनुमान गरेका छन् । यद्यपी वरिष्ठ नेता तथा सचिवालय सदस्य खनालले बैठकबाट कुनै उथलपुथल नहुने बताए । उनले भने ‘नेकपा यस्ता विवाद धेरै झेलेर यहाँसम्म आइपुगिएको हो । भोलीको बैठकले पनि विवाद समाधान गर्छ । बाहिर आएका हल्ला जस्तो पार्टी नै विभाजन हुन्छ कि भन्ने होइन । जीवन्त पार्टीमा बहस हुन्छ । त्यसको समाधान पनि पार्टीमा नै हुन्छ ।’ 

पार्टीभित्र चुलिंदै आएको विवाद बाहिरी सतहमा आए जस्तो विवादित नभएको खनालले बताए । गत २८ कात्तिकको सचिवालय बैठकमा कार्यकारी पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बुहमत पक्षको तर्फबाट लिखित रुपमा प्रस्ताव पेश गरेका छन् ।

सचिवालय बैठकमा प्रचण्डको प्रस्तावपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आफूले प्रस्ताव पेश गर्न १० दिनको समय माग गरेका थिए  । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री ओलीलाई संघीयता विरोधी, भ्रष्टाचारीको संरक्षण, पार्टी विधि विधान अनुसार नचलेको जस्ता दर्जनौं अरोपहरु लगाएका छन् । 

ओलीले प्रचण्डको ती प्रस्तावका आफूप्रति लगाएका आरोपहरुको बुँदा–बुँदामा जवाफ दिने भनि समय माग गरेका थिए । शनिबारको सचिवालय बैठकमा ओलीले लिखित प्रस्ताव पेश गर्ने छन् । 

प्रचण्डले प्रस्तावमा ओलीप्रति लगाएका आरोपहरुलाई आफ्नो राजनीतिक जीवनमा पहिलो पटक यस्तो आरोप लागेको भनि सचिवालय बैठकमा आफ्नो मन्तव्य राखेका थिए । ओलीको उक्त अभिव्यक्तिबाट शनिबारको सचिवालयमा अध्यक्षद्वयबीच विवाद केही हदसम्म चर्किने अनुमान गरिको छ । 

ओलीले पटक–पटक पार्टी फुटाउन खोजेको तर आफूसहितको टिमले जोगाउँदै आएको प्रचण्डले बताएका छन् । नेकपामा अहिले ओली प्रचण्डको मात्र होइन सचिवालय देखि केन्द्र हुँदै जिल्ला, स्थानीय तहसम्म विवाद चुलिएको छ । पछिल्लो पटक प्रचण्डद्वारा प्रस्तावि प्रतिवेदन छापेर तल्लो तहसम्म वितरण गरिएको छ । 

नेकपामा विवाद पटक पटक भएका छन् । तर ती विवादहरु सामान्य रुपमा हल भएका छन् । तर दस्तावेज लेखेर आरोप प्रत्यारोप नै भएको भने यो पहिलो घटना हो ।

यसअघि ओलीले पार्टीसँग सल्लाह नगरी दल सम्बन्धि अध्यादेश ल्याएपछि दुबै पदबाट सचिवालय बैठकमा राजिनामा मागिएको थियो । तर उक्त संकटलाई ओलीले उपाध्यक्ष वामदेब गौतमलाई साथमा लिएर टारेका थिए । तर, अहिले प्रचण्डले पेश गरेको प्रस्ताव भने सचिवालयका बहुमत सदस्यले आफ्नो सहभागीतामा लेखेको बताएका छन् । ओली पक्षले भने उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरिरहेको छ ।

पार्टी एकता हँुदा सहमतिमा निर्णयहरु गर्ने सहमति भएको थियो । उक्त कार्यको वरिष्ठ नेता माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्दै आएका थिए । तर पछिल्लो समयमा ओली–प्रचण्डबीच विवाद बढेपछि नेकपामा बहुमत र अल्पमतमा विभाजन भएको छ । 
सचिवालयमा बहुमत सदस्य प्रचण्डको पक्षमा रहेका छन् । पटक–पटक पार्टीभित्र बल्झिएको संकट अहिलेसम्म पार लाग्दै आएको छ । पछिल्लो पटक दस्तावेजमै छलफल हुने भएपछि भने विवाद फरक ढंगले नयाँ बहस थालनी गर्नेछ ।

अध्यक्षद्वय निकट नेताहरुको अभिव्यक्ति र भनाईबाट दुवै पक्ष पछि नहट्ने अवस्थामा पुगेको देखिन्छ । तर खनालले भने यो विवादको समाधान सचिवालय बैठकबाट नै हुने बताउँछन् । उनले भने– ‘विवाद हैन बहस भइरहेको छ । यो बहसले पार्टीलाई विधि विधानमा चलाउने छ । पार्टीमा सामुहिकताको अभ्यास सुरु हुने छ ।’
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर