• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अध्यक्ष प्रचण्डको 'नयाँ राजनीतिक विश्लेषण' सार्वजनिक 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ पुस्तक नयाँ राजनीतिक विश्लेषण प्रकाशन भएको छ । अध्यक्ष प्रचण्डले २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताहरुको सङ्ग्रह “नयाँ राजनीतिक विश्लेषण” पुस्तक सार्वजनिक भएको छ । सञ्चार माध्यममा प्रकाशित अन्तर्वार्ताहरुको संगालो प्रस्तुत पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने अध्यक्ष प्रकाशकको भनाई रहेको छ ।

'महान् जनयुद्धका सर्वोच्च कमान्डर, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आर्किटेक्चर हुनुको नाताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको नजर अध्यक्ष कमरेड प्रचण्डमा पर्नु स्वाभाविक हो । आफूलाई लागेका कुरा खुलस्त ढङ्गले राख्ने राजनीतिज्ञका रूपमा पनि अध्यक्ष कमरेड प्रचण्ड परिचित हुनुहुन्छ । मिडियाकर्मीको रचनात्मक आलोचनाको सदैव प्रशंसा र सम्मान गर्नुहुन्छ,'' प्रकाशकले भनेको छ ।

पुस्तकमा विस्तृत शान्ति सम्झौताको जगमा अन्तरिम संविधानदेखि संविधान सभासम्म, राजतन्त्रको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्म, हतियार व्यवस्थापनदेखि सेना समायोजनसम्म, संविधान सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पात्र हुनुको नाताले सो समयको चित्र पाईन्छ । 

अध्यक्ष  प्रचण्डका अन्तर्वार्ताहरुको सँगालो राजनीति शास्त्रका विद्यार्थी, नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र नेपाली राजनीतिका बारेमा चासो राख्ने सबैका लागि उपयोगी हुने विश्वास प्रकाशकको छ । 

प्रस्तुत पुस्तक प्रकाशनका निम्ति अहोरात्र खट्नुहुने पार्टीका नेता, कार्यकर्ता र सचिवालयका सम्पूर्ण सदस्यहरुमा अध्यक्ष प्रचण्डले धन्यवाद दिनुभएको छ । त्यसैगरी उहाँले विभिन्न समयमा तात्कालिक विषयहरुमा पार्टीका धारणा र वर्तमान राजनैतिक परिस्थितिका बारेमा अन्तर्वार्ता लिएर नयाँ राजनीतिक विश्लेषण र विचार निर्माणमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सञ्चारकर्मी पत्रकार मित्रहरुमा आभार प्रकट गर्नुभएको छ । साथै, पुस्तक प्रकाशनका निम्ति घच्घचाउने वुद्धिजीवि, समाजसेवी र शुभेच्छुकहरुमा कृतज्ञता पनि व्यक्त गर्नुभएको छ,' प्रकाशकले आज एक विज्ञप्ती मार्फत भनेको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको प्रस्तुत पुस्तकमा ४०८ पृष्ठ रहेका छन् भने यसको मूल्य रु. ५५० रहेको छ । पुस्तक राजधानी काठमाडौं लगायत देशका विभिन्न सहरहरुका पुस्तक पसलहरुमा उपलब्ध रहेको प्रज्ञा स्मृति प्रतिष्ठान नेपालले बतायो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर