• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

त्रासदी

दुर्गम इलाकाका स्कुल र विद्यार्थीको हविगत कोरोना कहरमा देखि नसक्नु रहेको छ । महङ्गो रासनपानीमा आफ्ना बच्चाको पेट भर्नु कि शिक्षामा लगानी गर्नु  यहाँका अभिभावकको यक्ष प्रश्नले मलाई हरबखत झस्काइरह्यो ।  

कोरोनाको अथाह भयाक्रान्त आतङ्कमा काकाकुल झैँ तड्पिन्छ युग । त्यही आतंकित युगमा बाँच्न अभिशप्त हामी बाँच्नलाई हजार बाटा अप्नाउन विवश छौं । भयावह तरबारे युगको धारमा रेटिन तयार भएर जीवनको रथ हाँक्नु छ । सबैलाई कण्ठ छ, कोभिडको विगविगी । कोभिड भन्दा बढी यसको ज्ञात–ज्ञात आतंकमय होहल्लाबाट आजित छन् जन । त्राहिमाम जन टुपी खस्ने गरी त्रासले सात फन्का घुमेर ढल्न विवश छन् ।

कोरोनाका क्रूर यमदूतहरू जनका उद्विग्न मनोदशा चिथोर्न आइपुग्छन् । कोरोना कहरको यस त्रासदी युगमा काला बजारीहरूको तथाकथित ऊर्ध्वगामी युग उदाउँदो छ ।  जहाँ हाम्रा निम्छरा सपनाहरूको बध गरिन्छ र काला बजारीहरूको भविष्यमा लालमोहर लाग्छ । निमेषभरमा काला बजारीहरूको संसार अकाशिन्छ ।

कोरोना कहरको यस यातनाकारी क्रीडाको फलस्वरूप काला बजारीहरूको खूनी पन्जामा असहाय जनका भविष्य अकल्पनीय र अवर्णनीय तरिकाले चिथोरिन्छ । पेट पाल्नुको विवशतामा क्रूरताको पराकाष्ठा नाघ्छ । त्रसित जन कोरोनाको प्रलयकारी गर्जनले पातालमा लुक्न विवश छन् । यस वीभत्स कहरको तीव्रता झन् पछि झन् बढ्दो छ ।

जीवन एक चर्खा हो । जति घुम्यो उति मजबुत हुने । घुम्न सकेन भने जाम हुने । जाम हुनु खिया लाग्नु हो । चर्खाको स्वभाविक गतिको अन्त हुनु हो ।

यो चर्खामय जीवन बाँच्नको लागि हरबार अभ्यस्त हुन्छ ।

करिबकरिब छ महिनापछि भदौ महिनाको दोस्रो हप्तामा बल्लबल्ल स्कुल खुल्दा बच्चाको दिमाग जाम हुन हुन लागेको दारुण अवस्था थियो । शहरका बच्चा यो कहर बीचमा अनलाइन पढाइमा व्यस्त भए कमसेकम । परन्तु गाउँमा नेटको पहुँच नहुने भएर लकडाउनभरि बच्चाले सिकेका विगतका अधिकांश कुरा बिर्सेका थिए ।

गाउँपालिकाको निर्णयार्थ स्कुल खुलेदेखिन् अभिभावक र विद्यार्थीको जाम मनस्थितिमा केही सुधारको चर्खा घुम्न लागेको पक्का हो । कमसेकम बिग्रिन लागेको शैक्षिणिक विधिमा एक माना आशा भरियो ।

मेरा बच्चा भर्ना गर्ने समयमा म पुथा हिमालय मावि गएको थिएँ । प्रअ हस्तिमान पुनका अनुसार यसपाली कोरोना कहरका कारण शहर पढ्ने बच्चाहरू गाउँमा पढ्न थालेदेखिन् र निजी स्कुलका बच्चाहरू पनि सामुदायिक विद्यालयमा भर्ना हुने चाप थेगी नसक्नु रहेको बताउँदै थिए ।

मेरा दुई जना बच्चा पनि स्कुल जाँदै गरे ।

मित्र प्रेम बहादुरले शरद्कालीन कहरको बारे केही अध्यन गरेर यसो लेखी पठाउनू भनेको पनि महिना दिन हुन लाग्यो । आज लेख्छु भन्यो, भोलि लेख्छु भन्योस कुनै मेलोमेसो नै लागेन । दशैंपछिका दिनमा अर्थात तिहारको निकटतम दिनसम्म आइपुग्दा कर्म फ्लाइट्सका फिल्ड मेनेजर मित्र प्रेम बहादुर कुँवरको तारन्तारको आग्रहले मलाई कुरीकुरी गरिरह्यो र  अल्छ्याइँसँगको खिचातानीमा पुथा हिमालय मावि मैकोट, रुकुम ९पूर्व० मा जान हतारिएँ ।

स्कुल जाने बाटोको धुलो उराउँदै मेरा पाइला उकालिए । बर्खामा हिलो र हिउँदमा धलो हुनु दुर्गम गाउँको परिचयपत्र जस्तै भएको छ । बर्खामा बच्चाहरू सफा लुगा लगाएर स्कुल गए पनि हिलाम्मे भएर घर फर्किन्थे । हिउँदमा धुलाम्मे भएर फर्किन्छन् । समय फेरिन्छ । ऋतु फेरिन्छ । परन्तु हविगत उही हुन्छ ।

धुलेटो बाटो हुँदै म स्कुलको गेट नजिक पुग्छु । गेट शुरु हुनु अगावै ढुङ्गाको सिंढी आउँछन् । म सिंढी उक्लिँदै स्कुल पुग्छु ।

पुथा हिमालको मुन्तिर ठूला अजङ्गका पहाडको बीचमा अवस्थित मैकोटको यस स्कुल प्राकृतिक सुरम्यताले ज्याज्यल्यमान छ । परन्तु विकटता र गरीबी यहाँको शैक्षिणिक बाधक हुन गएको छ ।

शैक्षिणिक वातावरणको थोर अध्यन गर्नु थियो नै । परन्तु कक्षा ११ को परीक्षा चल्दै गरेको थियो बिहानी समयमा । दशैंको रौनकता सायद सकिएको थिएन क्यारे १ दिउँसो उति विद्यार्थी चाप देखिनँ । म केही दिन विद्यार्थी चाप बढ्ने बेलाको पर्खाइमा रहेँ ।

यो बीचमा मेरा वैयक्तिक कामले म दुर्गम गाउँमा घुम्न गएको थिएँ । स्कुलको कुनै अध्यन गर्न पाएको थिइनँ । स्कुलको अध्यन करिब मेरो पहुँच बाहिर जस्तै हुन गयो । प्रेमजीले के ठान्नु भयो होला भन्ने कुराले मेरो चैन खोसिरह्यो ।

यस बीचमा यादहरूको ह्याङ्गरमा तुर्लुङ्ग झुण्डिएको कर्म फ्लाइट्सका फिल्ड मेनेजर मित्र प्रेम बहादुर कुँवरको अनुरोधले मेरो तथाकथित अल्छीपना  भंग गरिरह्यो । आफ्ना मित्रको सानो अनुरोधलाई पालना गर्न नसक्नु मेरो जीवनको सर्वाधिक ठूलो भूल हुनेछ । यही कुराले मेरो शरद्कालीन दिन गरमागरम भएको थियो ।

शरद् ऋतुको बहिर्गमन र हेमन्त ऋतुको आगमन हुन लागेको यस कोरोना कहरको त्रासदी कालमा एक मुठी सासको जगेर्ना गर्नु पनि हम्मेहम्मे परेको दारुण अवस्था थियो । यस्तो कालमा बाँच्नु पनि ठुलो अभीप्सा हुन गएको छ ।

अझ स्कुलको भीडभाडमा बच्चाहरूलाई पठाउनु पनि ठूलो हिम्मत जगाउनु पर्ने हुन्छ । तै तै यो विकट गाउँमा कोरोनाको कुनै टेष्ट हुँदैन र कोरोनायुक्त कोहि छैन कि भन्ने कुराले मानिसको आत्मबल उति साह्रो गलेको छैन ।

तिहार आयो । तिहारमा स्कुल बन्द थिए ।

आज मंसिर ३ गते तद्नुसार नोभेम्बर १८, २०२० । आज स्कुलको केही अध्ययन गर्न स्कुल उक्लिएँ । वातावरण निकै चिसो भएछ । कर्म फ्लाइट्स मार्फत करिब तीन वर्ष अगाडि वितरित न्यानो ज्याकेट प्रायः जसोको च्याइसकेको अवस्था थियो । एकाध हुनेखानेका बच्चालाई जाडो महिनामा कुनै असर पर्दैन पनि होला । परन्तु अधिकांश विद्यार्थीलाई यो कोरोना कहरमा अबका जाडा महिना अकल्पनीय सकस हुन सक्ने अनुमान गर्नु  यस हिमाली जिल्लामा अन्यथा हुने छैन ।

गाउँका अधिकांश अभिभावकले मलाई सोध्ने जिज्ञासा वा उत्सुकता ुयसपाली अर्थात् यो कोरोना कालमा कर्म फ्लाइट्स मार्फत् दाताहरू यस स्कुलमा कस्तो सहयोग आउँदै छ रुु हुन्छ ।

विगतको लगातारको लकडाउनले यहाँ जनजीवन प्रायः ध्वस्त भैसकेको दुखद उदाहरणले सबमा त्रासदी छाएको छ । यसले पनि आफ्ना छोराछोरीलाई सही रूपमा व्यवस्थापन गर्न नसकेका अधिकांश अभिभावकको कर्म फ्लाइट्स मार्फत सहयोगी मनकारी दाताहरूसँग याचना गरेका छन् ।

नेपाल सरकार वा स्थानीय निकायले विद्यालय बारे हल्का चासो राखे पनि त्यसले गरीबीको मारमा परेका दूरदराजका  पदलित बच्चाहरूको शिक्षा र स्वास्थमा उति साह्रो चासो नदेखाएको यहाँका समुदायको कोरस आवाज छ ।

अबका करिब तीन महिना हिउँमा बिताउनु पर्ने सकस र द्रुतगतिमा सल्किरहेको कोरोना भाइरसको त्रासमा अभिभावक र विद्यार्थीको निद खोसिएको छ ।

पुथा हिमालयजा अधिकांश विद्यार्थी यो कोरोना कहरको कालमा हिउँसँग मुकाबिला गर्दै कसरी शैक्षा आर्जन गर्न सकिन्छ होला भनेर चिन्तित छन् ।

दुर्गम इलाकाका स्कुल र विद्यार्थीको हविगत कोरोना कहरमा देखि नसक्नु रहेको छ । महङ्गो रासनपानीमा आफ्ना बच्चाको पेट भर्नु कि शिक्षामा लगानी गर्नु  यहाँका अभिभावकको यक्ष प्रश्नले मलाई हरबखत झस्काइरह्यो ।  
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर