कोरोनाबाट आतंकित होइन सचेत बनौंः अध्यक्ष तिमिल्सिना

अशाेक पाैडेल

विराटनगर । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि  सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गरेका छन् । 

आइतबार विराटनगरमा आयोजित ‘कोभिड–१९’ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले कोरोना महामारी विरुद्ध आ–आफ्नो स्थानबाट भूमिका खेल्नु अनिवार्य रहेको बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट आतंकित भन्दा पनि सचेत हुनुपर्नेमा उनको जोड थियो । मुख्य कुरा जनचेतना फैलाउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘रोग नियन्त्रणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको उभूमिका पक्कै हुन्छ । तर, उपचार नभएको कोरोना जस्ता महामारीमा दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने र साबुन पानीले हात धुँने वा स्यानिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्डको प्रयोग गर्ने महत्वपूर्ण रैछ। यसका लागि सचेतना आवश्यक छ।’

उनले कोरोनाको मेडिकल उपचार निश्चित नभएकाले यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मीसँगै जनचेतना फैलाउने कुरामा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए । 

उनले भने, ‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्न आग्रह गर्‍यौं, संक्रमण फैलिएको मुलुकबाट विद्यार्थी ल्याउँदा जनता के हुने हो भनेर आतंकित भइरहेको अवस्था थियो । अहिले संक्रमण लाखौंमा पुगिसकेको छ। यो अवस्थामा हामी आतंकित नभईँ सचेत हुन जरुरी छ।’

प्रदेश नं १ का मुख्यमन्त्रीसहित सांसदहरु सहभागी सो कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कोरोना नियन्त्रण प्रभावकारी बनाउन जनप्रतिनिधि अगाडि सरेको मुलुकले सफलता प्राप्त गरेको अनुभव रहेको जानकारी गराउँदै नेपालमा पनि सांसद, स्थानीय तहका प्रतिनिधि र राजनीतिक दलका संगठनहरु जनतामा पुग्नुपर्ने धारणा व्यक्त गरे । 

कोरोनाको महामारी सुरु हुँदा संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई राहतका नाममा करोडौं खर्च स्मरण गर्दै अहिले संक्रमित लाखो पुगेपछि मात्रै त्यो गर्नु ठिक नभएको महशुस भएको उल्लेख गरे । उनले पैसा वा राहतले भन्दा सचेतना र स्वास्थ्य मापदण्डको पालना गर्दै अनुशासनमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हुने बताए । 

‘स्वास्थ्य अनुशानमा बसेर हाम्रा दैनिक गतिविधिलाई कसरी नियमित बनाउने भन्ने सचेतना फैलाउनुपर्ने र त्यसमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने महशुस गरेर यसप्रकारको कार्यक्रम सातै प्रदेशमा आयोजना गरिएको हो’–उनले भने । अध्यक्ष तिमिल्सिनाले यस्ता कार्यक्रम स्थानीय तहसम्म गर्ने गरी छलफल र तयारी भइरहेको जानकारी दिए । 

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अहिले विश्वव्यापी महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बताउँदै प्रत्येक तीनमध्ये एकजना महिला कुनै न कुनै किसिमको लैंगिक हिंसामा परेको अन्तर्राष्ट्रिय तथ्यांकमा उल्लेख भएको भन्दै सो विषय गम्भिर भएको बताए । 

‘महिलाहरू मानसिक यातना, शारिरिक, आर्थिक तथा यौनीकलगायत विभिन्न हिंसामा पर्ने गरेका छन्,ु उनले भने, ‘विभिन्न किसिमका हिंसामा परेका मध्ये १० प्रतिशतले मात्रै न्यायका लागि सम्बन्धित निकायमा उजुरी गर्ने गरेका छन् । यसलाई कसरी अन्त्य गर्ने भन्ने विषयमा लाग्नुपर्छ।’

उनले विभिन्न क्षेत्रमा पछाडी परेको नेपाल लैंगिक हिंसाको अन्त्य गर्ने कुरामा अगाडि आउनुपर्ने भन्दै त्यसका लागि सबै सरोकारवाला निकाय लाग्नुपर्ने धारणा व्यक्त गरे ।

यसअघि अन्य छ प्रदेशमा सम्पन्न अन्तर्क्रियाको अन्तिम कार्यक्रम आइतबार प्रदेश १ मा भएको हो । 


सचेतना फैलाउँन सांसदको भूमिका आवश्यक

अन्तर्क्रिया कार्यक्रममा बोल्दै  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार कोरोना नियन्त्रणका लागि दिनरात काम गरिरहेको बताए । उनले सांसदहरूले सरकारले गरेका राम्रा कामहरूको सञ्चार गर्न तथा स्वास्थ्य सचेतना जनतामा फैलाउन आग्रह गरे । 

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका स्वास्थ्य विज्ञ डाक्टर विनोदप्रसाद गुप्ताले कोभिड–१९ पछाडिको विज्ञानबारे सांसदहरूबीच प्रस्तुतिकरण गरेका थिए । 

त्यसैगरी स्वास्थ्य संगठनका रणनीतिक, जोखिम तथा संकट सञ्चार विज्ञ डा. सुनुर वर्माले कोभिड जोखिम सञ्चार तथा समुदायको संलग्नताको महत्व र कोभिड सम्बन्धि अफवहा तथा गलत सूचनाको प्रतिकारमा निर्वाचित प्रतिनिधिको भूमिकाबारे प्रस्तुतिकरण दिएका थिए । 

स्वास्यथ् संगठनका विज्ञहरूले सरकारले बिरामीको परिक्षण, आइसोलेसन व्यवस्थापन, उपचार तथा सम्पर्कमा आएका व्यक्तिहरुको खोजतलास, क्वान्टाइनको व्यवस्थापन गर्न र जनतालाई सूचित गर्नुपर्ने बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर