• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

उडिरहेको हेलिकप्टरमा चील ठोक्किएपछि..

बागलुङ ।  जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो । 

नुवाकोटमाथिको आकाशमा पुग्दा वेगले उडेर आएको चील हेलिकप्टरको अगाडिपट्टि ठोक्कियो । सिसा फुट्यो । हेलिकप्टरमा सवार यात्रु अत्तालिए । अनुभवी चालक दीपक पुनले सावधानीपूर्वक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ मा हेलिकप्टरलाई आकस्मिक अवतरण गराए । हेलिकप्टरलाई ठूलो दुर्घटना हुनबाट उनले जोगाए । 

“शुरुमा चील देखिनासाथ चालकले छलिरहेका थिए, तर पछि फेरि आएर जोडसित ठोक्कियो”, हेलिकप्टरमा सवार गलकोट नगरपालिका–३ का अध्यक्ष वीरजङ्ग भण्डारीले भने  । हेलिकप्टरभित्रै छिरेको चील रगताम्य अवस्थामा अर्को झ्यालबाट निस्केको उनको भनाइ छ । चालक पुनको कुशलता र साहसका कारण ठूलो दुर्घटना टरेको भण्डारीले बताए । “भाग्यवश बाँचियो, आकाशमा त्यो क्षण कस्तो थियो अहिले भन्न कठिन भइरहेको छ”, उनले भने ।हेलिकप्टरमा भण्डारीसहित गलकोटकै सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार थिए । उनीहरु व्यक्तिगत कामका सिलसिलामा हेलिकप्टर चार्टर गरेर काठमाडौँ जाँदै थिए ।  । 

दिउँसो १२ बजेर ५० मिनेट जाँदा गलकोटबाट उडेको हेलिकप्टरलाई चालकले १ बजेर ४५ मिनेटमा नुवाकोटमा आकस्मिक अवतरण गराएका थिए । चील ठोक्किँदा हेलिकप्टरको अगाडिको भागमा क्षति पुगेको जनाइएको छ । अघिल्लो सिटमा बसेका भण्डारीको हात र खुट्टामा सामान्य चोट लागे पनि चालक र अरू यात्रु सकुशल रहेको जनाइएको छ । उक्त हेलिकप्टरमा सवार यात्रुलाई पछि कैलाश एयरकै अर्को हेलिकप्टरले उद्धार गरी काठमाडौँ पु¥याएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर