• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

तपाईं कुन प्रजातिको तरुल खाँदै हुनुहुन्छ ? (भिडियोसहित)

काठमाडौ । उपत्यकाको मुख्य तरकारी बजार ‘कालीमाटी’ माघे सङ्क्रान्तिको रनौकसँगै तरुलमय बनेको छ । घरको भित्ता भन्दा ठूला देखिने तरुलका चाङले माघेसंक्रान्तिलाई झ्याप्पै छोपेको छ । फलफूल, तरकारी थोक तथा खुद्रा व्यापार हुने कालिमाटीमा माघेसंक्रान्तिका लागि तरुलको मोलमोलाई र किनबेच  गर्नेको घुँइचो साँच्चिकै हेर्न लायकको दृश्य हुन्छ ।

माघे सङ्क्रान्ति आउन झण्डै एक साता अगाडिदेखि विभिन्न प्रजातिका तरुलहरु कालीमाटी तरकारी बजारको गोदाममा भित्रिन्छन् । त्यहाँबाट खुद्रा विक्रेताहरुले किनेर शहरका खुद्रा बजारमा तरुल पु¥याइसकेका हुन्छन् ।
 
कालिमाटीको गोदाममा चाङ लगाईएका हात्तीपाईले, नेपाली, वन तरुल, रातो तरुल, पाँचऔंले, सिंगाने पिंडालु, दुधे पिंडालु, घर तरुल, सिमल तरुल, पानी तरुल, पातले, आकाशे तरुल छानिछानिरुचिअनुसार खरिद गर्न पाइन्छ । त्यस्तै स्कुसको जरासमेत तरुलको रुपमा खाने गरिन्छ  । यिमध्ये सिमल तरुल र सखरखण्ड छिमेकी मुलुक भारतबाट आयात गरिन्छ । 

अन्य प्रजातिका तरुलहरु नेपालकै विभिन्न स्थानमा उत्पादन हुन्छ । दुई प्रजातिबाहेका तरुलमा नेपाल आफैैं आत्मनिर्भर रहेको  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

काठमाडौं उपत्यकामा आयात हुने तरुलहरु छिमेकी जिल्ला नुवाकोटदेखि काभ्रे, सिन्धुली, रामेछाप, धादिङ, दोलखा, नवलपरासी, चितवन, गोर्खा, पाल्पालगायत तराईका विभिन्न जिल्लाहरुबाट भित्रिन्छन् । सर्लाहीबाट आयात हुने लामो आकारको तरुल सबैले रुचाइने स्वादिलोमा पर्छ । सर्लाहीको तरुललाई तरकारीमा समेत प्रयोग गरिन्छ । अन्य प्रजातिका तरुल माघे सङ्क्रान्ति छेकोमा बढि विक्री हुन्छ भने सर्लाहीको लामो तरुल ६ महिना पछिसम्म विक्री हुने गर्छ ।

कालीमाटी तरकारी बजारमा अत्याधिक प्रयोगमा आएका तरुलहरु हात्तीपाइले प्रतिकिलो रु ६०, नेपाली तरुल रु ५० देखि रु ७०, रातो तरुल रु ८० देखि रु १०० र वन तरुल रु ७० देखि रु १०० सम्म थोक विक्री वितरण भइरहेका छन् । 

अन्य वर्षको तुलनामा यस वर्ष चहलपहल कम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निवर्तमान सचिव राजन पराजुली बताउँछन् । हाल कालिमाटीमै थोक व्यापार गर्दै आएका उनी भन्छन्– ‘माघे सङ्क्रान्तिलाई लक्षित गरी कालीमाटीमा तरुल भित्रिने गर्छ । गत वर्षको तुलनामा यो वर्ष कम चहलपहल छ ।’
‘कोरोना महामारीका कारण पनि हुनसक्छ चहलपहल कम हुनुमा । अहिले अन्य ठाउँहरुमा पनि ठूला बजार विस्तार भएका छन् ।पहिले बजार सीमित थियो । कालिमाटी बजार भिडमय हुन्थ्यो । अन्य ठाउँका बजार विस्तारका कारण यहाँ कम चहलपहल भएको हुन सक्छ’, उनले भने ।

अहिले उपत्यका छिर्ने नाकाहरु बल्खु, वानेश्वर, जडिबुटी, महाराजगञ्ज, माछापोखेरीलगायत विभिन्न नाकाहरुमा फलफूल तथा तरकारीका ठूला बजार विस्तार भएको छ । बाहिरबाट आउने केही गाडी कालिमाटी नआई त्यतै जाने गरेको उनको भनाई छ । 

कालिमाटीमा तरुलकै व्यापार गर्दै आएका अर्का व्यापारी हुन् भगवान चन्द्र उप्रेती । उनलाई पनि भ्याई–नभई छ । यो तरुलकै सिजन भएकाले माघेसंक्रान्ति आउनु ३/४ दिन अघिदेखि फुर्सद कमै हुने बताउँछन् उप्रती । कालिमाटी तरकारी बजारमा ९० प्रतिशत थोक विक्रेताहरु आएपनि अन्य १० प्रतिशत भने आफूलाई खानाका लागि खरिद गर्न आउने हुनाले कालिमाटी बजार व्यस्त भएको अनुभव सुनाउँछन् उनी ।
सर्लाहीबाट आउने लामो तरुल माघपछि ६ महिनासम्म बिक्री हुन्छ । अन्य प्रजातिकातरुलहरुको सिजन भने अहिले भएकाले भएकाले किनबेच बढी हुने गरेको उनले बताए । 

कालीमाटी तरकारी बजारको क्षमता १ हजार मेट्रिक टन भएकोमा हाल ७÷८ सय टन तरुल आइरहेको उनी बताउँछन् । नेपालका जिल्लाहरुबाट आउने सामान कालीमाटी तथा अन्य बजारहरुमा समेत सोझै जाने गरेको भएपनि भारतबाट आउने तरकारी भने कालिमाटीमै जान्छ । त्यहीँबाट अन्य बजारमा जाने गरेको उनले बताए ।

......
ईष्टमित्र जोड्ने तरुल पर्व

पलाष्टिकको झोलामा ८ किलो तरुल किनिवरी उचालेर चाकु तिलौरा किन्दै गरेकी टोखा नगरपालिका–६ बस्ने विपना महताराले भनिन्– ‘ठूलो परिवार छ, अरु बेला को कता को कता हुन्छौं । चाडपर्वमा त हो भेट हुने भनेको । चाडपर्वलाई विशेष गराउनका लागि तरुल किनेको छु ।’

तरुल किन्न हिडेकी तारकेश्वर–६ की गीता वाग्ले भन्छिन्– ‘अरु बेला नि खाइन्छ तरुल तर माघे संक्रान्तिमा खानु फरक हुन्छ । घ्यु चाकु तरुल खाएर घाम तापेर बस्यो चिसोले नोक्सानी गर्दैन भन्छन् । 

‘तिहारको सेल मिठो, माघको तरुल’, त्यस्तै ‘पुसमा पकाएर माघमा खाने’ भन्ने चलन छ । माघ १ गतेबाट तातो दिन सुरु हुने गर्छ । यही महिनामा प्रशस्त तरुल तथा तरुलजन्य कन्दमूलहरु उत्पादन हुन्छन् । परापूर्वकालमा अहिलेको जस्तो विभिन्न थरीका खाद्यान्न पाइने थिएन, त्यही बेला मौसमअनुसार जे उत्पादन भयो, नेपालीहरुले त्यसलाई महोत्सव मनाएर खाने गर्दथे । सोही अनुसार माघेसंक्रान्तिमा तरुल खाने गरेको विज्ञहरुको भनाई छ । अहिले विज्ञानको दृष्टिले हेर्दा पनि नेपालीले मनाउँदै आएको कुनै पनि चलन समय सापेक्ष बन्दै गएको प्रमाणित भइरहेका छन् । 

माघे संक्रान्तिमा घिउ, चाकु, तिल, तरुल, सखरखण्ड, तरुललगायतका परिकार खानाले शरीरलाई भित्रबाट न्यायो प्रदान गर्ने हुनाले चिसोबाट जोगाउछ भन्ने विज्ञहरुको भनाई छ । त्यस्तै तरुलजन्य कन्दमूलहरु  साप्ताहिक रुपमा सेवन गर्नु उपयुक्त हुने विज्ञहरुको सुझाव छ । यस पाइने प्रोटिन, मिनरल र विभिन्न प्रकारका भिटामिनले स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर