• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सुदुरपश्चिममा धुमधाम भयो माघी पर्व (फोटोफिचर)

धनगढी । थारु तथा मगर समूदायको प्रमुख पर्व माघी बिहीबार सुदुरपश्चिम प्रदेशमा धुमधामसाथ मनाईयो । थारु समुदायले यो पर्वलाई नयाँ वर्षका रुपमा समेत लिने भएकाले यसमा महत्व सुदुरपश्चिमको थारु बाहुल्य क्षेत्रमा अझ बढि देखियो । यो समुदायले पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने गर्दछन् । थारु समुदायको ईतिहास अनुसार संवत् २६४४ मनाउँदै गरेको बताइएको छ ।

बिहीबार थारु समुदायले आफ्नो परम्परा अनुसार मिष्ठान्न भोजन, सामाजिक भेटघाट र उत्सवका रुपमा यो पर्व मनाए । 

माघीको दिन नुहाएर दाल, चामल छोइसकेपछि मान्यजनहरूसँग ढोग भेट गरी आशीर्वाद लिने प्रचलन छ । यसलाई सेवा ढोग लग्ना भनिन्छ । घरका आफन्त बाट  सुरु गरी गाउँभरि नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन छ । मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाम लाग्ने गर्दछन् । यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । एक आपसमा अङ्कमाल गरी मेलमिलाप गरिन्छ । त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनको रूपमा पनि लिइन्छ ।

माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ । यसलाई थारु भाषामा ’निसराउ’ भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ । 

माघी मनाउन माइती आएका छोरी चेलीहरू घर फर्किने बेला निसराउ लिएर जान्छन् । 

माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारु समुदायमा छ ।  माघे सङ्क्रान्तिमा मानिसहरू रातभरि जाग्राम गरी पूजाआजा गर्छन् ।

माघीमा नै थारु समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ । माघीमा भाइभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ । घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूलीको बन्नेजस्ता कुराको छलफल हुन्छ। घरपरिवारभित्र जिम्मेवारी पाएका सदस्यले माघीमा स्वतन्त्र भएर हेरफेर गर्न सक्दछन् । भाइ–भाइ अलग हुन चाहेमा गाउँका पञ्च भलाद्मी, महटाँवा, बरघरहरूलाई मध्यस्थकर्ताको रूपमा बोलाई अशंबण्डा गरिन्छ । जसलाइ थारु भाषमा घर फुट्ने भनिन्छ ।

गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिक रूपमा गत वर्षको कामकारबाहीबारे छलफल गरिन्छ । वर्षको एक पटक बस्ने गाउँको सो भेलालाई ‘भुरा खेल९ख्याला०’ भनिन्छ । बैठक गाउँको अगुवाको घरमा बस्छ । अगुवालाई बरघर, ककनदार, भल् मन्सा, पनि भनिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर