• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

तराईमा एक्कासी चिसो बढ्यो

राजविराज । तीन/चार दिनदेखि तराई–मधेशमा एक्कासी बढ्दै गएको हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । एक्कासी वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहर बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो ।

तराईका क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीवनसँगै गाईगोरु, खसीबाख्रा, भैँसी जस्ता घरपालुवा जनावरलाई पनि थप असर परेका कारण कष्टकर देखिएको छ  । तराईवासीले केही दिनदेखि सूर्यका किरण नउदाउँदा घामको अनुभूतिसमेत पाइएको छैनन् । सध्याकालदेखि बिहान ९–१० बजेसम्म बाक्लो कुहिरो लाग्ने गरेको छ ।  

बाक्लो कुहिरो लागेका कारणले पूर्वपश्चिम राजमार्ग र सहायक मार्गको सडकमा आवतजावत गर्ने सवारी चालकले बाटो हेर्न नसकेर सडक दुर्घटना हुने खतरासमेत बढेको ट्रक चालक किरपानन्द यादवले बताए । 
 
विगत वर्षमा कुहिरो लाग्ने समयको भन्दा यो वर्ष फरक रहेको छ । प्रायः पुस महिनाको प्रारम्भमै अर्थात् अन्तिम डिसेम्बरदेखि जनवरीसम्म कुहिरो लाग्ने गर्दथ्यो । यस वर्ष चाहिँ पुसको अन्तिम र माघको पहिलो हप्तामा बाक्लो कुहिरो लागेको हनुमाननगर कंकालनी नगरपालिका वडा नं २ का वृद्ध गोसाई मण्डलले बताए । 

दाउरा वितरण
बढिरहेको शीतलहरले जनजीवन प्रभावित भएको भन्दै बिहीबार यहाँ स्थानीय प्रशासनले दाउरा वितरण गरेको छ । हाल बढिरहेको शीतलहरले गर्दा सदरमुकाम राजविराज आउने मानिसलाई चिसोले गर्दा कष्ट भोग्दै आएकालाई आगो बाल्नका लागि दाउरा वितरण गरिएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिशङ्कर आचार्यको नेतृत्वमा गजेन्द्रनारायण सिंह अस्पताल, गजेन्द्र चोक, अदालत अगाडि, रुपनी मोड र खानेपानी चोकमा सुकेका दाउरा बाल्न व्यवस्था मिलाएको सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवले जानकारी दिए ।

दाउराको व्यवस्था गरिएकाले शीतलहरबाट बच्न सदरमुकाम आउने मानिसलाई समेत केही राहत हुने गरी स्थानीय प्रशासनले दाउरा व्यवस्था गरिएको उनले भने । ज्येष्ठ नागरिक प्रदेश न २ का अध्यक्ष शङ्कर शारद, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, वैजनाथ झा र सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवको उपस्थितिमा सुकेका दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर