• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सन्दर्भ नारायणकाजीः प्रहार नेकपाका संस्थापक !

कथा कमानसिं लामा  

राष्ट्रवादी आन्दोलनमा सधैं चासो राख्नुहुने कमानसिंह लामाको गत बुधबार राती निधन भयो । उहाँको निधनसँगै अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र जर्वजस्त एउटा विवाद सृजना गरिएको छ । 

चिनेजानेदेखि उहाँसँग सम्बन्ध सधैं रह्यो । कोरोनाकाल सुरु भएदेखि उहाँले पटक–पटक फोन गर्नुभयो । कोरोना सुरुवातीको ३ महिनामा उहाँले तामाङ जातिको बंश सम्बन्धी लामो लेख पठाउनुभएको थियो । सायद उहाँको त्यहीँ लेख अन्तिम भयो ।

‘जसरी पनि भेट्नुछ । केही कुरा भन्नुछ । कम्तिमा रेकर्डमा त राख मैले भनेका कुराहरु’, भन्नुहुन्थ्यो कमान दाइले । यतिखेर उहाँका ती आग्रहलाई पुरा गर्न नपाउँदा यो साता उहाँबारे केही नलेख्दासम्म सच्चा श्रद्धाञ्जली हुँदैन भन्ने निश्कर्षमा पुगेँ । भौतिकवादीहरुले ‘भगवान’ खासै मान्दैनन् । तर, कमान दाइमा पछिल्लो समय देखिएका छट्पटीले उहाँले के आफ्नो मृत्युलाई पूर्वानुमान गर्नुभएको थियो ? कता–कता यि कुराले मन चसक्क बनाईरहेको छ ।

लकडाउन अलिक खुला भयो । उहाँले फोन गर्नुभयो– ‘भाइ भेटौ ।’ जुनबेला म संक्रमित भएर आइसोलेसनमा थिएँ । मैले फोन गर्ने बेला उहाँले आफै– ‘मलाई पोजेटिभ भयो भनेर स्टाटस लेख्नुभयो ।’ म संक्रमित हुँदा उहाँले– ‘होस् गर्नु है । ओ हो !’ भनेर चिन्ता व्यक्त गर्नुभयो ।
......

कमान दाइका किस्सा....

नेपाली कम्युनिस्ट आन्दोलनबाट तिमाल क्षेत्रमा उदाएका कमान दाइको गजबका किस्साहरु थिए । उहाँ ठमेलमा बस्ने । उहाँका छिमेकहरुले सबै भन्दा बढि डेरा सार्थे रे । यो किस्सा हामीलाई प्रहरी तालिम केन्द्रमा सुनाईएको थियो । माओवादी जनयुद्ध दमन गर्न २०५५ मा एउटा विधेयक दर्ता भयो सदनमा । त्यसका विरुद्ध आन्दोलन गर्दा पक्राउ परेर २४ घन्टे प्रहरी हिरासतमा बस्दा रातभरि यस्तै किस्साले हाँसेका थियौं । 

सुत्ने कुराकानी भएपछि कमान दाइको छेउँमा कोही पनि सुत्न मानेनन् । यसको किस्सा सुनाए, त्यसबेलाका अखिल (२०२२)का अध्यक्ष डाचाराज वाग्लेले । भक्तबहादुर श्रेष्ठ, कृष्णध्वज खड्का, अमिक शेरचन, शक्ति लम्साल, कमान दाइ, डाचाराजसहित ३० जना बढी सुन्धाराबाट पक्राउ परेका थियौंं । 

किस्सा ठमेलको रहेछ । कमान दाइ बसेको टोलमा छिमेकीले छिटो डेरा सार्दा रहेछन् । कारण कमान दाइको सुत्दा घुरेपछि कोठा त के, टोलमा बाघकै आवाज जसरी सुनिने रहेछ । उहाँको घुराईबारे उनी निकट सबै नेताहरुलाई थाहा रहेछ । कमान दाइको छेउँमा कोही सुत्न नमान्ने । 

कोरियाबाट फर्किएपछि कमान दाइले एक दिन ‘ब्रेकफास्ट’ खान बोलाउनुभयो । ठमेल पुग्दा दाइ र भाउजु ब्याटमेन्टन खेल्दै हुनुहुन्थ्यो । ‘मसँग खेल्ने हो ?’ मैले जिस्काएँ । उहाँहरु नियममा नखेली खुला चौंरमा खेलिराख्नु भएको थियो । गफ गरियो । दाइको त्यो ठमेलको सानदार अफिस, होटल, ट्राभल्स गजबका । कोरोनाकालमा फोन गरेँ– ‘दाइ ठमेल हो ?’ 

‘कहाँ ठमेल भाइ ? ठमेल त खोलाले खायो । अहिले त कपनतिर छु’, पछि थाहा भयो उहाँलाई हाइड्रोपावरले सकेको रहेछ ।
......

दीपक शर्मा, प्रकाश र सन्देशको कथा 

पूर्व सांसद तथा कोरियाका लागि पूर्व राजदूत कमानसिं लामाको दुःखद् निधनसँगै उहाँ संलग्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सृजना भएको छ । उहाँले निधन हुनु एक साताअघि लेखिएका स्टाटस् र बोलेका भिडियोले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जर्वजस्त विवादमा तानेको छ । 

श्रेष्ठ–कमान दाइको सम्बन्धका हिसाबले गर्दा उहाँहरु पूर्व एकता केन्द्रकै हो । सायद कमान दाइ राजदूत हुनुमा पनि त्यहीँ पूर्व गुटकै आधार छ । एकता केन्द्र गठनसँगै सचिव हुँदाका दीपक शर्मा । धेरैले चिन्ने उनको नाम । 

महामन्त्री प्रचण्डसहितको टिमले एकता केन्द्र छोडेर माओवादी गठन गर्नुभयो । बाँकी रहेका एकताकेन्द्रको ललितपुर ठेचोमा सम्पन्न महाधिवेशनले दीपक शर्माबाट उहाँ भूमिगत हुँदासम्म सन्देश हुँदै प्रकाशका नामले चिनिनु भयो । खुला राजनीतिमा प्रवेश गरेपछि नारायणकाजी श्रेष्ठ भनेर चर्चा रह्यो । कारण १२ बुँदे सहमतिको सूत्रधार र माओवादी प्रवेशका कारण ।

उति बेलादेखि सन्देश–कमानको सम्बन्ध प्रगाढ हो । एकता केन्द्र–मसाल गठन भएर बिभाजन हुँदासम्म सन्देशकै पक्षमा देखिए कमान दाइ । त्यसैको परिणाम काभ्रेमा उहाँमाथि सांघातिक आक्रमणसमेत भयो । 

कमान दाइको निधनपछि जुन कुरा सार्वजनिक भयो त्यसबारे बिहीबार बिहान साढे ४ बजे फोन गरेँ चार जनालाई । प्रकाश, लीलामणि पोखरेल दाइ, नेपालखबरका प्रधान सम्पादक पूर्ण बस्नेत र ईन्डिजिनियस् र आई टिभीका सञ्चालक जगतमान दोङलाई ।

बाहिर आएका खबर एकातिर थियो । उहाँको निधनमा शोक अर्कातिर । तर, पार्टी प्रवक्ता प्रकाशप्रति एकोहोरो आक्रमण र यर्थातताबारे बुझ्नका लागि । ‘त्यस घटनामा कुनै संलग्नता छैन । तर, राजनीतिक रुपमा प्रहार गर्न नैतिकतामाथि प्रश्न उठाउन सरासर गलत प्रबृत्ति हो’, प्रकाश दाइ र पोखरेल दाइको एउटै मत थियो । 

पार्टीभित्र अन्तर्विरोध चर्किँदै गर्दा प्रकाशमाथि ‘राजनीति ?’ भन्ने स्वभाविक देखिन्छ । जुन कुरा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले सार्वजनिक रुपमा अभिव्यक्ति दिइसक्नु भएको छ । 
.....

सन्देश र सुशनको राजनीतिक सम्बन्ध 

एक परिवारसँग पार्टीको सिंगो इतिहास जोडिएको छ । उसैको एक सदस्यलाई जोडेर बदनाम गराउन खोजिएको घटना सामान्य मानिँदैन । जिम्मेवारीका हिसाबले प्रकाशमा जीवनशैलीमा केही भिन्नता आएका होलान् । यद्यपि उनको भूमिका सामान्य छैन ।

सुशन कर्मचार्य नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यकी भतिजी हुन् । कर्मचार्यको अबिबाहित बनेरै निधन भयो २०७० साल साउन ९ गते । प्रकाशको एउटा इतिहास के हो भने उनले दुई–दुई जना नेपाल कम्युनिस्ट पार्टीका संस्थापकलाई सम्हालेर राखे । उनको त्यो क्षमताले अन्ततः सशस्त्र बिद्रोह हुँदै माओवादी मूलधार राजनीतिमा आयो । 

नरबहादुर कर्मचार्यसँगै लामो समय बिताए प्रकाशले । त्यहीँ बेलादेखि सुशनलाई उनले छोरीसरह गरी हुर्काए र पछिल्लो समय आफ्नो सचिवालयमा राखे । १२ बुँदे सहमतिअघि सिलिगुडीमा माओवादीसँगको चर्चित वार्तामा प्रकाशको भूमिका रह्यो । जुन कुरा नरबहादुरले यस पंक्तिकारसँग भनेका थिए– ‘अँ कमरेड, यताबाट सन्देशसहित सबै गएका छन् । प्रचण्डसँग कुरा भएरै हो । त्यसमा सन्देशको पनि पहल भयो ।’

१२ बुँदे सहमति हुँदा प्रकाश दाइलाई यहीँबाट फोन गरेको थिएँ दिल्लीमा । यो कुरा सम्झिँदा ईश्वरी दाइ अझै हाँस्नुहुन्छ । प्रकाश दाइ दिल्लीबाट फर्किएपछि कृष्ण मन्दिर छेउँमा भेट्ने कुरा भयो । लामै कुरा भयो । 

‘१२ बुँदे सहमति कार्यन्वयनमा दलहरु तलमाथि गर्न लागे’, भन्नुभयो उहाँले । त्यसको केही दिनमा फेरि कार्यन्वनका लागि ३ बुँदे आधारपत्रमा दलहरु एक ठाउँ छन् भनेर बोलाउनु भयो । यि सबैको चाजोपाँजो सुशनले मिलाउँथिइन । नरबहादुर दाइसँग मेरो राम्रै जान–पहिचान थियो ।

हाम्रो भेटमा पहिलो छलफलको मेसो सधैं कालो चिया हुन्थ्यो । प्रकाश दाइसँग एकदिन उहाँकै निवास हरिसिद्धिमा भेट्न गएँ । ‘हाम्रो सम्बन्ध हिजोको कालो चिया हुँदैको हो दाइ । त्यो धरातल नछोड्नुस्’, भनेँ । 

उहाँको सधैँ उही जिस्किने पारामा भन्नुभयो– ‘के भन्छ यसले, नचाहिने कुरा, मैले त्यस्तो कुरा पनि बिर्सुला र ?’ 

‘तपाईंहरुको राजनीतिक रुपमा महत्व छ । हामीले पत्रकारिता गरेका छौं । कुनै दिन तपाईंलाई छोड्दैनन्’, मैले फेरि उहाँलाई भनेँ । 

यि बिषय साना छन् । तर, अर्थ लामै राख्ने गर्छन् । पहिलो पटक अर्किड होटल त्रिपुरेश्वरमा सार्वजिनक हुनुभयो । सायद त्यो फोटो सार्वजनिक पनि मैले नै गरेँ । चिरा परेका कम्युनिस्टहरु मूलधारमा आउन धौ थियो । तर, उहाँले संस्थापक निरञ्जन गोविन्द बैद्य र नरबहादुरलाई सधैँ अभिभावक भनेर राख्नुभयो । 

पक्कै पनि नेपाल कम्युनिस्ट पार्टीमा संस्थापक सदस्य को–को हुन् ? भन्ने विषय चौँथो महाधिवेशन पक्षधर र पुष्पलाल समूहबीच लामै विवाद चल्यो । अबका दिनमा पनि त्यो चल्छ । प्रकाशकै पहलमा दुई जिवित संस्थापकलाई अन्तिमसम्म राख्नुभयो । जसले जिवित इतिहासका धरोहरलाई साथमा राख्नुभयो । यतिखेर उनै संस्थापकका परिवारसँग जोडेर सिंगो कम्युनिस्ट आन्दोलनको इतिहासलाई उपहास गर्नु सर्वथा गलत ‘राजनीतिको नजिर’ हुनेछ ।

.........

संस्थापकहरु र मिति बिबाद  
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले सुरुका वर्षमा लगातार सेप्टेम्बर १५ लाई पार्टी स्थापना दिवस मान्दै लेख्ने बोल्ने गर्नु भएको थियो । पार्टीको मुखपत्र ‘कम्युनिस्ट–०१५’ सालको चुनावमा कम्युनिस्ट पार्टीको घोषणापत्र, पार्टीको पहिलो सम्मेलनको राजनीतिक प्रतिवेदन, प्रथम महाधिवेशनमा पारित दस्तावेज लगायतका धेरै ठाउँमा पार्टी स्थापनाको मिति १५ सेप्टेम्बर १९४९ भनेर दस्तावेजिकरण गरिएको छ ।

पार्टी बिभाजन हुँदै जाँदा स्थापना दिवसबारे किचलो आउन थाल्यो । ०३४ सालमा तत्कालीन नेकपा (चौम) को मुखपत्र ‘मसाल’मा स्थापना कालका तीन नेताहरु नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलाश जोशीको टिमले पार्टी स्थापना २२ अप्रिल भन्यो । त्यसलाई गलत सावित गर्न चुनौति दिए तीन जनाले । साथै, उनीहरुले २२ अप्रिललाई स्थापना दिवस मनाउन अनुरोध गरे । यसप्रति पुष्पलालले कुनै खण्डन वा आफ्नो प्रतितर्क दिनुभएन । पछि एमालेको पाँचौं महाधिवेशनले १० बैशाख (२२, अप्रिल १९४९) मा नै कम्युनिस्ट पार्टी स्थापना भएको निष्कर्ष निकालेपछि यसबारे पछिल्लो समय बहस भएको पाइँदैन ।

त्यस्तै, संस्थापक नेताहरुको समूहमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र दुर्गादेवी गरी पाँच जना थिए भन्ने पुष्पलाल समूहको मान्यता छ । तर, कर्मचार्य, वैद्य र जोशीले दुर्गादेवी संस्थापक सदस्य नभएको दबी गरेको पाइन्छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन घोषणा भइराखेको बेला यसको दुई जिवित संस्थापक जिवितसँग लामो समय बिताएका प्रकाशमाथि पछिल्लो पटकको प्रहार इतिहास नामेत पार्ने चलखेल त होइन ? भन्ने प्रश्न केन्द्रित भएको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर