• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

ओली–प्रचण्ड असफल भए 

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल जनयुद्धदेखि प्रचण्ड निकट मानिन्थे । उनी पछिल्लो समय भने अर्का अध्यक्ष केपी ओलीसँग निकट भएको आरोप लाग्ने गरेको छ । ओली प्रचण्डको दूरि बढेको छ । तर गजुरेल भने आफू कुनै पनि गुटमा नभएकर पार्टी एकताको पक्षमा रहेको बताउँछन् । नेकपाको स्थायी कमिटी बैठक आइतबारबाट जारी छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भएका छैनन् । अर्कातर्फ पार्टी नेतृत्व पुस्तान्तरणको कुरा चलेको छ । गजुरेल भने दुबै अध्यक्ष र सचिवालय असफल भएको दाबी गर्छन् । यिनै कुराको सेरोफेरोमा रहेर समाचार दैनिकका लागि कृष्ण गिरीले गजुरेलसँग गरेको कुराकानी ।

नेकपाको स्थायी कमिटी बैठक चलिरहेको छ, बैठकमा अध्यक्ष केपी ओलीले पत्र पठाउनुभयो, उपस्थित हुनु भएन नि ?

कहिलेकाही बैठकमा न आउनु अलगै कुरा हो । तर, पटक–पटक यस्तो गर्नु राम्रो होइन । यो बिस्तारै संस्कार बन्छ । स्थायी कमिटी बैठकमा उहाँ आउनुपर्थ्याे । तर आउनु भएन । जुन कुरा त्यति जायज हुँदैन । भोलि अर्काले पनि त्यस्तै गर्दा के हुन्छ ? यो कुरा ओली कमरेडले बुझ्नुपर्छ । बैठक भनेको समस्या समाधानको थलो हो । समस्या भएपछि समाधान गर्नु पर्छ । अर्को महाधिवेशनसम्म सहमतिमा जाने भनेको छ । तर यहाँ अल्पमत, बहुमत सुरु भएको छ । आफैलाई कारवाही गर्ने बैठकमा किन जाने भन्ने होला । त्यही भएर नआउनु भएको होला । शक्ति प्रर्दशन गरेर कारवाही गर्ने तयारी रहेको बैठकमा किन जाने भन्ने लागेर होला नआउनु भएको  । 

दुबै प्रस्ताव पढ्नुभयो होला नि ?

मैले पढेको छैन । अब पढ्नुपर्ने भएको छ । मैले यी प्रस्ताव पढ्नुभन्दा पनि दुबै अध्यक्षलाई भनेको छु तपाईंहरुले लेखेका कुरा पहिला सबैले पढ्थे । सबैले तपाईंहरुका कुरा सुन्थे । तर, तपाइहरुको व्यवहार ठीक भएन । लेखेर भन्दा पनि व्यवहारले जवाफ दिनुपर्छ । उहाँको व्यवहार एकातर्फ लेखाई एकातर्फ छ । 

नेकपाको समस्याको चुरो कुरा के हो ? 

नेकपाको समस्या फरक–फरक तरिकाको छ । तर सबै समस्या घालमेल गरियो । प्रचण्डले संविधानको कार्यन्वयनमा जोड् दिने । संघीयता, समानुपातिक, समावेशी लगायतका कुराहरु लागु गराउन हरदम तयार रहनुपर्छ । यि सबै एजेण्डा प्रचण्डका हुन् । उहाँको एजेण्डामा देश आएको हो । उहाँको दायित्व बढी छ । संविधानले के माग गर्छ त्यो अनुसारको आचरण चाहियो । व्यवहार चाहियो । सरकारको कुरामा अध्यक्ष केपी ओलीले भूमिका खेल्नु पर्‍यो । तर यहाँ समस्या एकै ठाउँमा हाल्यौ । अनि केहि पनि निस्कर्ष निस्कँदैन ।समस्या उत्पन्न भएको पनि यहीबाट हो । यहाँ त आफ्नो जिम्मेवारी भन्दा पनि अरु बहस बढी भए । विचार, सिद्धान्त, राजनीतिको बहस भएन । कसैको ध्यान नै छैन सही बहसमा । यहाँ त कसले प्रधानमन्त्री पाउने, कसले मन्त्री पाउने कसले कुन पद पाउने भन्नेमा बढी बहस भयो । 
अहिले गणतन्त्रका नेताहरुको आचरण भएन । कार्यशैली भएन । जीवनशैली भएन । यो सबै परिवर्तन हुनुपर्छ । यो नहुँदासम्म समस्या हुन्छ । संविधानले के कुरा भन्छ ? त्यसका लागि कस्तो आचरण चाहिन्छ । कस्तो जीवनैशैली चाहिन्छ । आचरण बदल्न नचाहने । आज हिजोको जस्तो राजा र रैती छैन । सबै समान छन् । जनवादको अभ्यास पार्टीमा हुनु पर्छ । जनताको चाहना के छ त्यो अनुसार पार्टी सरकार चल्नु पर्‍यो । जनताले एक कुरा चाहेको छ नेताहरु अर्कोतर्फ छन् अनि कसरी हुन्छ ?

नेकपाको दोस्रो पुस्ताको नेताहरु पनि त त्यही पद, अबसरको पछि लाग्छन् विचारको विधि पद्धतिको कुरा गर्दैनन् भन्ने छ नि ?

होइन, हामीले विचारको बहस गरेका छौं । विधिको कुरा गरेका छौं । पार्टीमा मूल्याङ्कन विधि बनाउन प्रस्ताव गरेको छु । बैठकले मूल्याङ्कन कमिटी बनाउ त्यसले गरेको मूल्याङ्कन र पार्टीमा काम गरेको आधारमा नम्बर दिने विधि अप्नाउ भनेँ । कसैले वास्ता गरेनन् । यस्तो हुँदा पार्टीमा अनुशासन हुन्छ । नेता जनता र कार्यकर्ताप्रति उत्तरदायी हुनुपर्छ । नेताहरुले पनि आफूलाई करेक्सन गर्नुपर्छ । हरेक नेता उत्पादनसँग जोडिनुपर्‍यो । अनुशासित हुनुपर्छ ।  । यहाँ त विधि पद्धति भन्दा मनमानी तरिकाले पार्टी चलेको छ । 

नेकपाको समस्या दुई अध्यक्षमा मात्र हो कि अरु नेताहरुमा पनि छ  ?

दुई अध्यक्षमा मात्र होइन । हामीमा पनि समस्या छ । हामी पनि जिम्मेवार छाैं । तर जिम्मेवारी कसको कति भनेर पनि हुन्छ । सरकारको जिम्मेवारी प्रधानमन्त्रीको हुन्छ । पार्टीको जिम्मेवारी दुवै अध्यक्षको हुन्छ । अरु पार्टीमा भएका समस्याको जिम्मेवारी हामी सबैको हो । 

भदौ २६ गतेको निर्णय कार्यन्वयन नहुँदा विवाद पुनः सुरु भएको हो भन्ने छ नि ?

हो, प्रधानमन्त्रीले बैशाखबाट दुबै पदबाट राजिनामा दिनुपर्छ भन्ने माग उठ्यो । तर भदौमा आउँदा कुरा मिल्यो । कार्यदलले दिएको सुझाव, स्थायी र सचिवालयको निर्णय कार्यन्वयन भएन । स्थायी कमिटीमा ओलीको पक्षमा निर्णय भएका थियो । ओलीले पार्टीले गरेको निर्णय कार्यन्वयन गर्न सकिन भनेर स्थायी कमिटी बैठक बोलाउनुपर्थ्याे । मलाई निर्णय कार्यन्वयन गर्न दिइएन भन्नुपर्थ्याे । तर, उहाँले मनमानि तरिकाले मन्त्री नियुक्ति गर्नुभयो ।  राजनीतिक नियुक्ति एकलौटी गर्नुभयो । यसले नेता कार्यकर्तामा उनको छबि राम्रो भएन । नेता कार्यकर्ताले उहाँका यी काम मन पराएनन् । 
उहाँले भन्नुभयो प्रचण्डले नाम दिएन । तर, उहाँले कार्यदलको सुझाव, स्थायी कमिटीको निर्णय कार्यन्वयन गर्न फलानो फलानाले रोक्यो भनेर बैठकमा भन्नुपर्थ्याे । उहाँले त्यो काम गर्नुभएन । आफ्नै पक्षमा भएका निर्णय पनि कार्यन्वयन नगर्दा समस्या आयो । उहाँका दुवै पद जोगिएका थिए । स्थायी कमिटीका निर्णय कायन्वयन भएनन् । बढी जिम्मेवार ओली नै हुनुहुन्छ । उहाँको बाध्यता थिए भने पनि स्थायी कमिटी, सचिवालयमा भन्नुपर्थ्याे। त्यो गर्नु भएन् । एकतर्फी रुपमा चलेपछि राम्रो भएन । 

पार्टी कमिटीका निर्णय नमान्दा गल्ति त अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भयो नि त होइन ?

हामीले ओलीसँग नै भनेका छौँ । यो राम्रो गर्नु भएन । स्थायी कमिटीको निर्णय मान्नुपर्थ्याे। गल्ती भयो भनेर । वातावरण बिगारेको ओलीले हो । तर हामी एकताको पक्षमा छौँ । एकको पक्ष र अर्कोको विपक्षमा तर्क गरेका छैनौँ ।  दुवैका कमिकमजोरी औँल्याएका छाैं । 

पार्टीको विवादमा दोस्रो पुस्ताले पनि भूमिका खेल्न सकेन भन्ने छ नि ?

हो, दोस्रो पुस्ता पनि पिछलग्गु भयो । गुटकापछि लाग्ने भए । गुटहरुमा विभाजित छ । पद, प्रतिष्ठामा ध्यानछ । पद पाएकाहरु त्यही पद जोगाउन लागेका छन् । पद नपाएकाहरु कसरी पाउने भन्ने ध्यानमा छन् । पार्टी एकता जोगाउनु पर्छ भन्ने छैन । अध्यक्षले बिगारे सचिवालयले सम्हाल्ने । सचिवालयले बिगारे स्थायी कमिटीले सम्हाल्ने भएन । सचिवालयमा नै कित्ताबन्दी भयो । समस्या जसको हो उसलाई भन्दैनन् । एकलाई ठोकेको ठोक्यै गर्ने अर्कोलाई बचाउन थालियो । नेताहरु पनि आफ्नो गल्ती यहाँ भयो भनेर कहिल्यै आएनन् । आलोचना आत्मालोचना भएन । 

तपाईं जनयुद्धदेखि प्रचण्ड निकट भनेर चिनिनु हुन्थ्यो तर पछिल्लो समयमा ओली निकट जानु भयो भन्ने आरोप छ नि ?

हिजो माओवादीमा हुँदा एक जना अध्यक्ष हुनुहुन्थ्यो । अहिले दुई जना अध्यक्ष हुनुहुन्छ । एक जना मात्र अध्यक्ष हुँदा उहाँसँग थिएँ। । अहिले दुई अध्यक्ष छन् । दुवैसँग नजिक छु । प्रधानमन्त्रीले पार्टी फुटाउन अध्यादेश ल्याउनु भयो । मैले त्यसको विरोध गरे । त्यो अध्यादेशले पार्टी विभाजन नै हुन्थ्यो । हामीले विरोध गर्दा फिर्ता भयो । प्रधानमन्त्रीले अध्यादेश ल्याउँदा अग्रपक्तिमा उभिएर विरोध गरेको हुँ । ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ भन्दा विरोध गरेको हुँ । अहिले दुवै पदबाट राजीनामा माग्दा पार्टी विभाजन हुन्छ । यो पनि गलत हो । 

म सधै एकताको पक्षमा छु । मैले प्रचण्डलाई नै भनेको हुँ म कुनै गुटमा छैन भनेर । मैले गुटबन्दी बाबुराम भट्टराई गएपछि गुटबन्दी गरेको छैन । मैले प्रचण्डलाई भेट्दा ओलीको वाकालत गरेको छु । ओली भेट्दा प्रचण्डको वकालत गरेको छु । ओलीलाई फायरसाइडमा गएर किन कार्यकारी अध्यक्ष मै हुँ भन्नु भयो भनेर भनेको छु । प्रचण्डलाई ओलीलई किन दुवै पदबाट हटाउने भन्नु भयो भनेको छु । ओलीजीले ल ठिकै छ एक पदबाट राजीनामा दिन्छु नि भन्नेसम्म बनाएका हौँ । पार्टीलाई फुटबाट बचाउँन राजिनामा दिन पनि तयार भएका थिए । त्यही कुरा मैले प्रचण्डलाई भनेको हुँ । मैले त पार्टीलाई फुटबाट जोगाउन प्रयास गरेको हुँ । राजीनामा दिन तयार भएका ओली फेरि भागबण्डाको राजनीति गरेपछि ब्याक हुनुभयो । भैंसेपाटी गठबन्धन बन्यो । त्यहाँ को अध्यक्ष बन्ने को प्रधानमन्त्री बन्ने भनेर छलफल भयो । त्यसपछि बालुवाटारमा गठबन्धन बन्यो । समीकरण नबनाउन मैले प्रचण्डलाई पहिला नै भनेको हँु । तर मान्नु भएन । आखिरमा मैले जे भनेको छु त्यही भएकोछ । समीकरणले पार्टीमा स्वच्छ तरिकाले चल्दै भनेको हो । आखिरमा त्यही भएकोछ । म भने कतै आएको गएको होइन् ।

समस्याको समधान बैठक हो भन्नु भयो, तर ओली  बैठकबाट भाग्नुहुन्छ अनि कसरी समस्याको समाधान हुन्छ ? 

ओलीको यो स्वभावजन्य समस्या रहेछ । घनश्याम भुसाल भन्नु हुन्थ्यो, केपी ओली पार्टी अध्यक्ष बैठक बसेको छ । के कुरामा चित्त बुझेन जुरुक्क उठेर हिडिदिनुभयो । यो समस्या रहेछ ओलीमा । 
बैठकमा आउनुपर्छ । तर मैले भन्न खोजेको सहमतिको प्रणालीमा जाने भनिएको छ । यो भत्काएपछि समस्या आएको हो । एकता हुँदा पूर्व एमाले ६० प्रतिशत र माओवादी केन्द्र ४० प्रतिशत छ । सहमतिको कुरा माओवादीका लागि गरिएको हो । यदी बुहमत र अल्पमतमा गयो भने के हुन्छ पूर्व माओवादीको अवस्था । 

गत बर्ष १४ फागुनमा वामदेब गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयले निर्णय गर्‍यो । भदौमा स्थायी कमिटीले गरेको निर्णय र कार्यदलले दिएको सुझाव नमानेको त ओलीले होइन र ? यसरी हेर्दा सहमतीय प्रणाली ओलीले नै भत्काएको होइनन् र ?

यसरी घटना घटनामा नजाउँ । अब कि त पहिला सममतीय प्रणाली नमान्ने भनेर निर्णय गर्नुपर्‍यो । बहुमतीय प्रणालीमा जान खोजेपछि विवाद भएको हो । अब पूर्व एमाले र माओवादी केन्द्र घालमेल भयो । यो सहमतीय प्रणाली खारेज गरौँ भन्नुपर्‍यो । सहमतिको काम छैन । अब बहुमतीय प्रणालीमा जाउँ भन्नुपर्छ । अनि मात्र हुन्छ । विधानमा समहमति लेख्ने अनि जाने बहुमत अल्पमतमा कसरी हुन्छ ?

विधानमा नै सहमतिमा निर्णय हुन नसकेमा अल्मत बहुमतबाट निर्णय गर्ने भनेको छ नि ?

छ, तर सहमतिको प्रणाली खारेज गर्नुपर्छ । दुई अध्यक्ष प्रणाली चलेन खारेज गरौँ भन्नुपर्‍यो । यो खारेज नगरेर त हँुदैन । मानिस तानातानको खेल गयो । संख्याको खेलमा पार्टी गयो । दुवै अध्यक्षमा एक अध्यक्ष हुन तय गरुन । महासचिव को हुने त्यो पनि हुनुपर्‍यो । 

सहमति सबै पार्टी कमिटीमा हो कि दुई अध्यक्षमा मात्र हो । सचिवालयमा त माधवकुमार नेपालले निर्णयप्रति नै असहमति जनाएर ‘नोट अफ डिसेन्ट’ लेख्नु भयो, सुनवाइ भएन त ? 

सहमति सम्पूर्ण कमिटीमा हो । एक जनाको चित्त नबुझ्न सक्छ । सहमति त महाधिवेशनसम्म गर्ने भनेको छ । सय प्रतिशत सहमति हुँदैन । 

पाँच जना सचिवालय सदस्यले दुवै पदबाट राजीनामा माग्दा सहमति मानिदैन र ? 

हुदैन, यो त बहुमत अल्पमत भईहाल्यो नि । सय प्रतिशतमा सहमति हुँदैन । तर मुख्य विषयमा सहमति हुनुपर्छ । सही र गलत छ्ट्याउनु पर्‍यो । एकले अर्काको खोइरो खन्ने काम भयो । दुबै प्रस्तावमा आफ्ना कमिकमजोरी लेख्नु भएको छैन । आफूले ठिक गरें अर्कोले मात्र खराब गर्‍यो भनेर लेख्नुभएको छ । यसरी नै हो कम्युनिस्ट आन्दोलन सकिएको । ओलीले गल्ती गर्दा बैठकमा प्रचण्डले भन्नुपर्छ । प्रचण्डले गल्ती गर्दा प्रचण्डलाई गल्ती गर्नु भयो भनेर बैठकमा भन्नुपर्‍यो । तर, यहाँ यस्तो भएन । आफ्नो पक्षकाले नराम्रो काम गरेपनि केही नभन्ने । अर्कोको पक्षले राम्रो काम गरेपनि प्रसंसा गर्न नसक्ने प्रवृति भयो । यसरी पार्टी बन्दैन । 

स्थायी कमिटीको बैठकमा ओली आउनुपर्थ्याे नि होइन ?

आउनु पथ्र्यो । तर बैठक बस्नु भन्दा पहिला नै समिकरणको बैठक बसेर आएपछि कसरी बैठक सही तरिकाले चल्छ । मलाई नै चित्त बुझेको छैन कि समिकरणको बैठक बसेर निर्णय गरेर आउने काम । समिकरण बनाउनु भनेको समस्या हो जड् हो । यहाँ के निर्णय हुन्छ । समिकरणको निर्णय नै हुन्छ । यस्तो बैठकको के औचित्य ? यहाँ त मानिस समिकरणमा मात्र विभाजन हुन्छ । समिकरणको निर्णयमा अडिन्छ । पार्टीभित्र पार्टी जस्तो भयो । अनि किन आउनु त भन्ने भयो होला । 

कम्युनिस्ट पार्टीमा त दुई लाइन संघर्ष हुन्छ, अन्र्तसंघर्ष हुन्छ भन्नु हुन्छ त ? 

विचार राजनीतिका आधारमा संघर्ष हुनु पर्‍यो । विचार राजनीतिका आधारमा विचार समुह हुन्छ । यो हुन दिनु पर्छ । तर यहाँ गुटहरु ओपन भए । विचार समूह बन्द भए । स्थायी गुट भए । 

यो गुट प्रचण्डले मात्र बनाएका छन् कि ओलीले पनि बनाएको छन् ? 

दुवै अध्यक्षले बनाउनु भएकोछ । तर मैले गुट बनाउनु हुन्न भनेको छु । पूर्व एमालेमा पनि चलेका छन् । पूर्व माओवादीमा पनि गुट चलेका छन् । गुटले पार्टी सही ठाउँमा लैजाँदैन । नेताका हात बाँधिन्छन् । त्यही भइरहेको छ । यो दुवै नेताहरुले मान्नु भएन ।

तपाईँले सहमतिको कुरा धेरै गनुभयो । तर प्रचण्डले पाँच वर्षलाई ओली नै प्रधानमन्त्री भनेर दिनुभयो तर ओलीले पाँच वर्षलाई कार्यकारी अध्यक्ष त दिनु भएन नि ?

कार्यकारी प्रचण्डलाई बनाएपछि तपाईँले किन भन्नुभयो भनेर मैले ओलीलाई सोधेको छु । उहाँलाई गल्ती गर्नुभयो भनेको छु । यहाँ भूमिका फरक–फरक छ । प्रचण्ड जनयुद्ध लडेको नेता हो । उहाँका एजेण्डा यो देशमा स्थापित छन् । संविधानको हिसाबबाट प्रचण्डको भूमिका पुगेको छैन । उहाँ धेरै क्रियाशील हुनुपथ्र्यो । सरकार संचालनमा ओलीको भूमिका पुगेको छैन । ओलीले कार्यकारीको भूमिका प्रचण्डलाई दिनुपथ्र्यो । 

यो स्थायी कमिटीले पार्टीभित्रको समस्या समाधान गर्छ होला त ?

गर्छ । अहिलेसम्म दुवै अध्यक्ष र सचिवालयमात्र असफल भएको हो । स्थायी कमिटी असफल भएको छैन । पार्टीभित्रको विवाद समाधान गर्छ । भदौमा पनि स्थायी कमिटीले समस्याको समाधान गरेको थियो । स्थायी कमिटी सफल नै छ । अध्यक्षले त निर्णय गरेर पनि कार्यन्वयन गर्न सकेका छैनन् । 

स्थायी कमिटीमा अल्पमत बहुमतबाट निर्णय गर्ने अवस्था आए के हुन्छ ?

पार्टी विभाजनतर्फ जान्छ । 

ओलीको पत्रले बैठक स्वीकार्नु भएको तर आफू आउनु भएन ?

ओलीले सचिवालयको बैठकमा नै भन्नु भएको छ । तपाईंहरु बहुमतबाट मलाई कारवाही गर्दै हुनुहुन्छ । गर्नुहोस् । मलाई कारवाही गर्ने तयारी हो । म दुवै पद छोड्दैन भन्नु भएको छ । ओली बैठकमा आउनुहुन्छ तर बैठक कसरी अगाडि बढाउने प्रष्ट हुनुपर्छ । बहुमतमा जाने हो भने कसरी हुन्छ । पहिला बैठक सहमतिमा चलाउने प्रष्ट हुनुपर्छ । उहाँ बैठकमा आउनुहुन्छ ।

सहमतिमा जाँदा ओलीले भदौ यता एकलौटी गरेका निर्णय खारेज हुन्छन् कि हुदैनन् ? 

त्यो कुरा कार्यन्वयन गर्न नसक्दा न समस्या आएको हो । अब नयाँ ठाउँबाट बहस हुन्छ । त्यो कुरा जे भयो भइसके । नयाँ तरिकाबाट जानुपर्छ । 

तपाईंले भन्न खोजेको दुवै अध्यक्ष मिलेर जानुपर्छ हो ?

हो, पार्टी एकता पनि उहाँहरुले नै गर्नु भएको हो । अब ओलीले पनि अब अध्यक्ष र प्रधानमन्त्री हुन्न भनेर लिखित पत्र पठाउनुभयो । प्रचण्डले पनि पार्टी एजेण्डाको लागि त्याग गर्छु भन्नु भएको हो । यही सिराबाट अगाडि बढ्नु पर्छ । मिलेर नै जानुपर्छ । 

(गजुरेल, स्थायी कमिटी सदस्य हुन् ।)


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर