प्रदेशसभाको बैठक सुचारु गर्न सभामुखको ध्यानाकर्षण

विराटनगर । मुख्यमन्त्री शेरधन राई विरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव पेश गरेका सांसदहरुले तत्काल प्रदेशसभाको बैठक सुचारु गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् । लामो समय प्रदेशसभाको बैठक स्थगित गर्न नहुने भन्दै उनीहरुले छिटोभन्दा छिटो बैठक सुचारु हुनुपर्नेमा जोड दिए । 

प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे लगायत प्रदेशसभा सदस्यहरुले शुक्रबार सभामुख प्रदीपकुमार भण्डारीलाई भेटेर अविलम्ब बैठक बसाउन र अविश्वासको प्रस्ताव टेबुल गर्न आग्रह गरेका हुन् । 

प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको एक महिना चार दिन भइसक्दा पनि प्रस्ताव प्रकृयामा नजाँदा सकारात्मक सन्देश नगएको भनी उनीहरुले सभामुखको ध्यानाकर्षण गराए । 
  
प्रदेशसभाका एक चौथाई सांसदहरुले अविश्वासको प्रस्ताव पेश गर्न सक्ने संवैधानिक र कानूनी प्रावधान अनुसार सचिवालयमा दर्ता भएको प्रस्ताव संविधान र कानून सम्मत भएकोले प्रकृयामा लैजान अलमल गर्नुपर्ने अवस्था नरहेको उनीहरुको भनाई थियो । 

पूर्व आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले भने, ५ प्रतिशत भन्दा बढी सदस्यहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको छ । हामी चाहान्छौं संविधान र कानून बमोजिम पेश भएको प्रस्ताव संसदको प्रकृयामा बढोस् त्यसका लागि आइतबारबाट सदन सुचारु होस् ।’ 

मुख्यमन्त्रीले प्रदेशसभालाई दवाव दिने र प्रभावित गर्ने गरी अविश्वासको प्रस्ताव खारेज गर्नुपर्ने, रित नपुगेको, आफुलाई नसोधेको जस्ता सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनीहरुले नाजायज दवावकै कारण प्रदेशसभा बन्धक बन्न नहुनेमा सभामुखको ध्यानाकर्षण गराएका थिए। 

पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले सदनमा एउटा विषय उठान भइसकेकोले यसलाई प्रकृयामा लगेर छिट्टै टुंगो लगाउनु पर्ने बताए । उनले भने,  ‘एउटा विषय उठान भइसकेको छ । निकै ढिलो पनि भयो । अब ढिलाई गरिरहने कुरा कुनैपनि दृष्टिकोणबाट राम्रो हुँदैन । छिट्टै बैठक बसेर यसलाई निकास दिनुपर्छ ।

प्रदेसभा सदस्य राजेन्द्र राईले सरकारले विश्वास गुमाइसकेपछि जटिसक्दो छिटो उहाँले राजीनामा गर्नुपर्नेमा त्यसो नगरी प्रदेशभालाई समेत बन्धक बनाउने कार्य उचित नभएको बताए , सरकारको क्रियाकलापले थिति बिग्रदै गएको भन्दै उनले सभामुखलाई थिति बसाउने अवसर प्राप्त भएकोले तत्काल प्रदेशसभा बैठकल बसाल्न र प्रस्तावहरु अघि बढाउन आग्रह गरे । 

‘मुख हेरेर मात्र बस्न सकिने अवस्था रहेन । उनले छलफल गर्ने, विवाह गर्ने र सोच्ने समय प्रयाप्त पाउनुभयो । हामीले पनि पायौं,’ नेता राईले भने ‘  अब यसलाई छिटो प्रकृयामा बढाउनै पर्छ । अरु उपाय छैन ।’ 

सभामुखको ध्यानाकर्षण गराउँदै उनीहरुले  सरकार पक्षले छलफल र सहमतिबाट समाधान निकाल्न चाहेको भए सभामुखले मध्यस्थता गर्न सक्ने र त्यसका लागि आफुहरु तयार रहेको पनि स्पष्ट गर्नुभएको छ । ‘तर, सदनलाई कुनैपनि बिजनेश नदिने र दर्ता भएको प्रस्ताव पनि प्रकृयामा नलैजानु सरकारको गैरजिम्मेवार कार्य ठिक भइरहेको छैन’ नेताहरुले भने ।

सभामुखलाई ध्यानाकर्ष गराउँदै सांसद तुलसी न्यौपानेले बैठक बोलाउने विषयमा तत्काल प्रकृया थाल्न र अविश्वासको प्रस्ताव टेबल गर्नका लागि आफुहरु औपचारिक रुपमा आग्रह गर्न आएको बताए । 

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले भने सरकारसँग परामर्श गरेर छिट्टै बैठक बोलाउने आश्वासन दिएका छन ।

 यसैबीच जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादवले सदन चाँडै सुचारु हुनुपर्ने बताएका छन्,  
 ‘सदन चाँडै अघि बढ्नु पर्छ । सदन सुचारु हुने वातावरण बनाएर बैठक चलाउने जिम्मेवारी सभामुखको हो,’ नेता यादवले भने । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर