
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन त्यती सहज नभएको दोहोर्याएका छन् ।
केहि गरी ‘प्रधानमन्त्री’ पद त्याग्नुपरेमा आफूले कुनै छलछाम नगरी सहज रुपमा हाँसीखुसी पद छाडिदिने र आगामी निर्वाचनमा पुनः दुई तिहाई बहुमत ल्याएर फेरि सिंहदरबार प्रवेश गर्ने उनले उद्घोष गरे ।
झापाको बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधीसभा पुनस्थापना हुँदैमा आफूलाई कुनै असर नपर्ने बताएका हुन् ।
उनले संसदको आगामी अधिवेसनले अबको राजनीतिको रोड म्याप तयार पार्ने उल्लेख गरे । प्रधानमन्त्रीबाट आफूलाई हटाउन त्यती सहज नभएको तर्क गर्दै उनले केहिगरी हट्नु परेमा कुनै गुनासो नामानी सहजै हट्ने र आगामी निर्वाचनमा पुनः दुई तिहाई मत ल्याएर सिंहदरबार प्रबेश गर्ने उनको भनाई थियो ।
आफ्नो मन्तव्यको अधिकांश समय विकास निर्माणका बिषयमा खर्चिएका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले बिगत तीन बर्षमा धेरै उपलब्धि हाँसिल गरेको बताए ।
अब मुलुकमा उद्योग कलकारखाना स्थापनाको लहर चलेको बताउँदै प्रधानमन्त्री ओलीले रोजगारीकै लागि बिदेशीनु पर्ने अवस्थाको अन्त्य गर्न वर्तमान सरकार लागि परेको धारणा राखे ।
प्रधानमन्त्री ओलीले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन वर्तमान सरकार क्रियाशिल रहेको बताए । उनले सरकारको यो लक्ष्यमा बिभिन्न बाधा ब्यवधान आएपनि त्यसलाई पन्छाउदै आफूहरु अगाडि बढेको उल्लेख गरे ।
उनले आफूहरुको लक्ष्य सबै नेपालीलाई खुसी राख्ने भएकाले धेरै कामहरु गरिरहेको भन्दै वर्तमान सरकारले पछिल्लो ३ बर्षमा गरेका कामका बारेमा जानकारी समेत गराए ।
उनले सडक बालबालिका र सहयोगापेक्षी सडक मानबको व्यवस्थापनमा सरकारले खेलेको भूमिकाका बिषयमा समेत आफ्ना मत राखेका थिए ।
५ सय शैय्या क्षमताको पूर्वाञ्चल क्यान्सर अस्पताल
कार्यक्रममा करिब छ सय करोड रुपैयाँको लागतमा निर्माण गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालको क्षमता तीन सय शैय्याको भएपनि हाल एक सय शैय्यामा सञ्चालन भइरहेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी गराए ।
सबैखाले क्यान्सरको उपचार गर्ने उद्देश्यका साथ निर्माण गरिएको अस्पतालमा सम्पूर्ण उपकरण जडान गरिएको प्रसाईको भनाइ थियो ।
उनले आफूपनि क्यान्सरको पीडित भएकाले आफूले जस्तो दुःख अरुले नपाउन् भन्नका लागि पनि अस्पताल सञ्चालनमा ल्याएको बताए ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै शिक्षामन्त्री गोपालमान श्रेष्ठ, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ सहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत अन्य बिशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।
पूर्वका क्यान्सर रोगीहरुलाई सेवा दिने उद्देश्यले सञ्चालनमा आएको अस्पतालमा छिमेकी मुलुक भारतबाट समेत विरामीहरु आउने गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।