वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

निर्वाचन आयोग ‘नेकपा’ र ‘सूर्य’ चिन्ह फ्रिज गराउँदै छ ? (भिडियो रिपोर्ट)

निर्वाचन आयोग ‘नेकपा’ र ‘सूर्य’ चिन्ह फ्रिज गराउँदै छ ? (भिडियो रिपोर्ट)

काठमाडौं । निर्वाचन आयोग अनिर्णयको बन्दी हुँदा नेपाली राजनीति नै ‘बन्धक’ बन्न पुगेको छ । सर्वोच्च अदालतको फैसलासँगै राजनीतिले गति लिने अपेक्षा धेरैको थियो । तर अहिले राजनीतिको ‘हलो’ निर्वाचन आयोगमा पुगेर अड्कियो । आयोगले नेकपाको आधिकारिकता सम्बन्धि विवादको समयमै निरूपण नगर्दा राजनीतिक बन्धक भएको हो ।

गत ५ पुसपछि जारी विवाद निर्वाचन आयोग पुगेकोमा अहिलेसम्म निरुपण हुन नसकेको हो । सर्वोच्चको फैसला आउनुपूर्व आयोग निर्वाचनको तयारीका कारण यो मुद्धामा समय दिन नपाएको बताउने गर्दथ्यो । अहिले त्यो अवस्था पनि छैन । तर निर्णय पनि आउन सकेको छैन ।

नेकपामा विवाद हुँदाको केन्द्रीय कमिटी ४ सय ४१ जना भएको भन्दै किटान गरिसकेको छ । तर पार्टीको आधिकारीकता दाबी गर्दै आयोग प्रवेश गरेको नेकपा विवादबारे आयोगले डेढ महिनासम्म सन्तोषजनक प्रगति गर्न सकेको छैन ।

आयोगको यसप्रकारको ढिलासुस्तीलाई ‘सत्ता र शक्तिको छाया’मा परेको भन्दै टिकाटिप्पणी हुन थालेको हो । गत २० पुसमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले दुई तिहाइ बहुमत सदस्यको हस्ताक्षरसहित राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारीकता दाबी गरेको थियो । तर आयोग अनिर्णयको बन्दी बन्दा राजनीतिक संकट थप पेचिलो हुने देखिएको छ । संसदको अधिवेशन सुरु भएपछि पनि निर्वाचन आयोगले आफ्नो निर्णय नदिने हो भने, प्रधानमन्त्री चयन प्रकृया नै अवरुद्ध हुने सम्भावना छ ।

सोमबार प्रचण्डले एक कार्यक्रममार्फत प्रधानमन्त्री केपी ओलीको ‘सेटिङ’ भत्किएकाले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरूले पाउने निश्चित भएको निर्णय हुन मात्रै बाँकी रहेको दाबी गरेका थिए । भने सोमबार नै प्रधानमन्त्री ओलीले पनि पोखरामा पुगेर पार्टीका नेताहरूलाई कारबाही गर्ने अधिकार आफूमा भएको भन्दै अभिव्यक्ति दिए । यता आयोगले भने प्रचण्डले भनेजस्तो सेटिङ भत्किने गरी न काम गरेको छ न ओलीले भनेजस्तो पार्टी नेतालाई कारबाही गर्ने तागत दिएको छ ।

बरु निर्वाचन आयोगले नेकपा विवाद निरुपण गर्ने गरी कुनै पनि कार्य अगाडि नबढाएकोले अन्योलता थपिएको छ भने स्वयं आयोगकै क्षमतामाथि अनेक प्रश्न उब्जिएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा विवादबारे आयोगले कुनै निर्णय नगरिसकेको बताए । उनले समाचारदैनिकसँग भने,‘पार्टी आधिकारीकताको दाबीसहित आयोगमा निवेदन दर्ता भएको छ । सो निवेदनमाथि अध्ययन भइरहेको छ । अहिलेसम्म कुनै निर्णय भएको छैन ।’

के आयोग नेकपा नाम र सूर्य चिन्ह फ्रिज गराउँदै छ ?

निर्वाचन आयोग अनिर्णयको बन्दी बन्दा नेकपा नाम र सूर्य चुनाव चिन्ह नै फ्रिज हुने सम्भावना बढेर गएको छ । एउटा पक्षले पार्टी आधिकारीकताको दाबी प्रस्तुत गर्दै निवेदन दर्ता गरेपछि अर्को पक्षलाई १५ दिनभित्रमा लिखित जवाफसहितको स्पष्टिकरण माग गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । तर आयोगले दाबी प्रस्तुत भएको ३७ दिनसम्म पनि प्रधानमन्त्री ओलीलाई जवाफ पेश गर्ने आदेशसमेत दिएको छैन । आयोग स्रोतका अनुसार सर्वोच्चको फैसला हेरेर नेकपा नाम र सूर्य चुनाव चिन्ह फ्रिज हुने संभावना बढेर गएको छ । आगामी २० फागुनमा ऋषि कट्टेल नेतृत्वको पार्टीका तर्फबाट दायर गरेको रिटमाथि फैसला आउँदासम्म आयोगले कुनै पनि निर्णय नगर्ने भएको छ । सर्वोच्चले कट्टेलको पक्षमा फैसला गरेको खण्डमा नेकपा नाम उसैको हुने छ । भने अहिलेको नेकपा दलको नामविहिनको बन्नेछ ।

आयोग स्रोत भन्छ,‘नेकपा दलविहिनको अवस्थामा पुगेको खण्डमा दुवै पक्ष (ओली र प्रचण्ड नेपाल)को दाबी चुनाव चिन्हमा हुनेछ । त्यस्तो अवस्थामा आयोगले दुवै पक्षलाई पार्टीको नाम लिएर आउन भन्नेछ । दुवै पक्षले सामूहिक रुपमा नाम लिएर नआए उनीहरुको झगडा सूर्य चुनाव चिन्हमा हुन्छ । आयोगले त्यस्तो अवस्थामा दुवैलाई सूर्य चिन्ह नदिन सक्छ र चुनाव चिन्ह फ्रिज हुनेछ ।’

‘बहुमत पक्ष’ किन सशंकित ?
नेकपाभित्र आफूसँग बहुमत रहेको भन्दै दाबी गर्दै आएको प्रचण्ड नेपाल पक्ष नै आयोगको भूमिकाप्रति सशंकित बनेको छ । आयोग अनिर्णयको बन्दी बन्दा नेकपा ‘फुटेर वा जुटेर’ आफ्ना गतिविधि अगाडि बढाउन नसकेको हो । प्रधानमन्त्री ओलीविरूद्ध प्रचण्ड नेपाल पक्षले संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । ओलीले विघटन गरेको संसद् सर्वोच्चको फैसला अनुसार आगामी २३ फागुनमा बस्दैछ । भने अविश्वासको प्रस्तावमा सहयोग गर्न वा नयाँ प्रस्ताव ल्याउनका लागि प्रचण्ड नेपाल पक्षले विपक्षी दलहरू कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरिरहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठसँगकाे कुराकानी:

विपक्षीले ‘तपाईहरूको दल कुन हो र हामीले सहयोग गर्ने ?’ भन्दै प्रश्न तेर्स्याइरहेका छन् । राजनीतिकरुपमा विभाजित भएपछि नेकपा कानुनीरुपमा एउटै छ । नेकपाका संसद्मा ६४ प्रतिशत सांसद् छ । सो दल आफैमा बहुमतसिद्ध दल भएकाले पनि विपक्षीसँग सहयोगको याचनामा असहज भएको हो ।

बहुमत पक्ष आफूसँग भएको दाबी गर्दै आएको प्रचण्ड नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आयोगको स्वतन्त्र भूमिकामाथि शंका गर्दै विभिन्न प्रश्नहरु तेस्र्याएका छन् । उनले भनेका छन्, ‘एउटा संवैधानिक अंग सर्वोच्च अदालतले सारा दवाव, धम्की र प्रतिगामी षडयन्त्रलाई चिर्दै भर्खरै मात्र संविधान र लोकतन्त्रको रक्षाको पक्षमा गरेको ताजा ऐतिहासिक फैसला सबैका लागि प्रेरक रहेको छ । तर निर्वाचन आयोग के गर्दैछ ? सर्वोच्च अदालतमार्फत पुरा हुन नसकेको प्रतिगामी योजनाको सेवामा के निर्वाचन आयोग प्रयोग होला त ? अदालतले दिएको सकारात्मक निकासलाई कार्यान्वयन हुनबाट रोक्ने हतियार निर्वाचन आयोग बन्ला त ? संविधानलाई बचाउने अदालतको फैसलालाई निष्प्राण बनाउँदै संविधान र कानूनलाई नाङ्गै लत्याउने काम निर्वाचन आयोगबाट होला त ?’

नेकपा नाम फ्रिज नै होला त ?
गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आयोगमा दर्ता भएका १२२ दलमध्ये ९५ राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाएका थिए । यतिका संख्यामा रहेका दलमध्ये धेरै दलहरुले नाममा कम्यनिस्ट शब्द राखेका छन् । गत ३ जेठ ०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्र एक भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आयोगमा दर्ता भएको थियो । सो नाम दर्ता भएपछि ऋषि कट्टेलले नाम एउटै भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । यस मुद्दाको फैसला भने आगामी २० फागुनमा सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासबाट आउने छ ।

पूर्व महान्यायाधीवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ नेकपा नामको पछाडि फुर्को लगाएकाले फरक पार्टीसँग नाम नजुध्ने बताए । उनले भने,‘अहिले पनि आयोगमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (माले) लगायतका दलहरूको दर्ता भएका छन् । यि दलहरु पहिले पनि दर्ता नै भएका थिए र निर्वाचनमा सहभागिता जनाएका थिए । नेकपा नामको पछाडि फुर्को लगाएको छ त्यसैले धेरै दिमाग खियानुपर्ने अवस्था छैन ।’

भिडियोग्राफी: दिलिप ठकुरी

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव