वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

सम्झनामा सहिद भरत ढुङ्गाना

सम्झनामा सहिद भरत ढुङ्गाना

मुलुकमा माओवादी जनयुद्ध घनिभूत र तिव्र गतिमा विस्तार भइरहेको थियो । एमालेका अनेकौ नेता र कार्यकर्ताहरु समेत माओवादीको क्रान्तिकारी योजना र सफलताबाट आकर्षित भैरहेका थिए । विभाजनको केही समयदेखि नै मालेको एउटा हिस्सा प्रतिगामी दिशातिर उन्मुख हुदै एमालेतिरै फर्कने तयारीमा थियो । ‘एमालेमा पुनः फर्कनु क्रान्तिकारिता हैन अवसरवाद हुन्छ’ भन्ने क।भरतको विचार थियो । एकदिन क। भरतले टेलिफोनमा ‘वामदेवको अवसरवाद झन् झन् प्रष्ट हुँदैछ । त्यसैले कमरेड हामीले विस्तारै विकल्प खोज्नुपर्छ’ भन्ने प्रस्ताव राख्नुभयो । उहाँको त्यो भनाइले माओवादी जनयुद्धलाई सङ्केत गरेको थियो ।

त्यसताक राज्यपक्षबाट कैयौं सर्वसाधारणहरुलाई माओवादीको आरोपमा गिरफ्तार गर्ने र यातना दिने कुरा सामान्य हुन्थ्यो । सभापतिको हैसियतले क। भरतको दैनिक काम ती निर्दोष बन्दीहरुलाई जमानी बसेर छुटाइ दिने हुन्थ्यो । यता म पनि माओवादीको नाममा गिरफ्तार कार्यकर्ताहरुलाई रिहा गराउन लागि परिरहन्थे । जनयुद्धलाई मन पराउने एमालेरमाले जनप्रतिनिधीहरु देशैभरी यसैगरी लागेका थिए । जनयुद्धको राप र तापले हामीहरु विस्तारै माओवादीको सहयोगी भैसकेका थियौं ।

क।भरतको विकल्प खोज्नुपर्ने प्रस्तावको बारेमा म पनि सहमत थिए तर मलाई उहाँले छिट्टै विद्रोह गर्नु होला भन्ने लागिरहेको थिएन । किनकी जिविस सभापति भएपछि केहि अवसरवादीहरुले क। भरत र जिविसलाई समेत गलत दिशामा हिँडाइरहेका थिए । उहाँको आदतको बारेमा पनि प्रशस्त टिकाटिप्पणी उठिरहेको थियो । त्यस्तो शैली र आदतको मान्छे कसरी माओवादी बन्ला भन्ने धेरैको आशङ्का थियो र मलाई पनि त्यस्तै लाग्थ्यो । तर आशङ्का बिपरीत क। भरत जनयुद्धको महासमरमा निस्फीक्री चालले हेलिनुभयो र हुँदाखादाको जिविस सभापती समेत छोड्नु भयो ।

एकदिन क। भरतले फोन गरी ‘म त जनयुद्धमा सम्लग्न हुने भए ल तपाई पनि छिट्टै निर्णय गर्नुहोला’ भन्ने आग्रह गर्नुभयो । त्यसताक जिल्ला–जिल्लामा पुरानो सत्तालाई खारेज गरी जनसरकार घोषणा गर्ने माओवादी योजना व्यापक बन्दै गइरहेको थियो । ०५८ साल भाद्र महिनामा नुवाकोटकै एउटा विशाल जनसभामार्फत क। भरतले माओवादीमा प्रवेश गरेको घोषणा गर्नुभयो । त्यस घटनाले नुवाकोट मात्र होइन देशव्यापी तहल्का मच्चियो । मालेरएमाले भित्र ठूलो भुइँचालो गयो । पुरानो सत्ताधारीहरु अत्तालिन थाले । अवसरवादीहरु निराश बने । उता क्रान्तिकारी पङ्क्तिभित्र भने बेग्लै उत्साह थपियो ।

माओवादी प्रवेश गरेको केही समयपछि उहाँले एउटा खबर पठाएर मलाई पनि जिविसको पद त्यागी जनयुद्वमा सामेल हुन पुनः आग्रह गर्नुभयो । म त्यतिबेला मालेको जिल्ला सचिवको भूमिकामा भएपनि माओवादीमा संलग्न हुनको लागि सदस्यता आवेदन फर्म भर्ने, नेताहरुसङगको नियमित सम्पर्कमा रहने, जनयुद्धका घाइते र बन्दीहरुलाई सहयोग गर्ने, विभिन्न जनसभाहरुमा सहभागी हुने, स्थानीय पत्रपत्रिकामा जनयुद्धको पक्षमा लेखहरु प्रकाशन गर्ने लगायतको काममा निरन्तर लागिरहेको थिए । तर क। भरतले जस्तै छलाङ मार्न भने आँट आईरहेको थिएन ।

०५९ साल माघ १५ गते युद्धरत माओवादीसँग सरकारले युद्वविरामको घोषणा गर्‍यो । सायद फाल्गुणको अन्ततिर क। भरत मेरो घर रिचोकटारमा टुप्लुक्क आइपुग्नुभयो । हामीहरुको सम्पर्क नभएको वर्ष दिन भन्दा बढी भैसकेको थियो । उहाँको आगमनले मलाई निकै आश्चर्यचकित र उत्साहित बनायो । एउटा महान् योद्धा क्रान्तिको मैदानबाट सकुशल मेरो अगाडी हुनुहुन्थ्यो । केही दुब्लो शरीर र मैलो कपडामा सजिएको भए पनि उहाँको हँसिलो र बोलक्कड स्वभावमा कुनै परिवर्तन आएको रहेनछ । आत्मविश्वास र ओझिलो वचनले उहाँ युद्धबाट निकै खारिनु भएको जस्तो लाग्यो । उहाँलाई भेटेपछि श्रद्धाले मेरो शिर यसैयसै निहुरियो ।

दुई दिनसम्म हामीहरुले कम्युनिष्ट आन्दोलन र यसका प्रवृत्ति, जनयुद्ध र यसको भविष्य तथा नेतृत्वको विश्वसनियताबारे निकै लामा र गहन छलफल गर्‍यौं । सही कार्यदिशा, सही नेतृत्व र क्रान्तिकारीहरुको अपूर्व त्यागले अब भने नेपाली क्रान्ति पूरा हुन्छ कि रु छलफलबाट म भित्र आत्मविश्वास पल्हाउन थाल्यो । जनयुद्धको रोमाञ्चक अनुभूतिबाट म त्योबेला क। भरतबाट निकै प्रभावित भएछु ।

अन्तमा क। भरतले मलाई ‘क्रान्तिले सही बाटो लिएको छ, सहिदहरुको सपना पूरा गर्ने उपयुक्त मौका यही हो, हिंडौ’ भन्ने आग्रह गर्नुभयो । मैले त्यो आग्रहलाई हार्न र टार्न सकिन । म उहाँको पछि लुरुलुरु लागे । त्यसको केही दिनपछि हामीहरु मकवानपुरको सरिखेत पुग्यौं । त्यो टोलीमा रामचन्द्र र राममायासहित हामीहरु चारजना थियौं ।
सरिखेत नजिकैको मनहरी खोला फराकिलो बगरमा फैलिएको थियो । त्यो भन्दा पारी बोटवारी पर्दथियो । झम्के साँझमा हामीहरु त्यहाँ पुग्यौं । क।चित्रबहादुर श्रेष्ठ जनसेना र कार्यकर्ताहरुको सुरक्षा घेराभित्र त्यही बसिरहनु भएको रहेछ । त्यतीबेला वहाँ कुन जिम्मेवारीमा हुनुहुथ्यो मलाई थाहा थिएन । यद्यपि महान् युद्धको जिम्मेवारी बोक्ने नेता कम्तीमा केन्द्रीय सदस्य हुनुपर्छ भन्ने मेरो अन्दाज थियो । उहाँसँग नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान र भविष्यको बारेमा निकै लामो छलफल भयो । जारी जनयुद्धको बारेमा पनि प्रष्ट कुराकानी भए ।

‘संबिधानसभाको निर्वाचन अपरिहार्य र अनिवार्य छ । त्यहि मौलिक बाटो हुँदै नेपाली क्रान्ति पुरा हुने संभावना छ ।’ क।श्रेष्ठले आत्मविश्वासकासाथ मलाई सम्झाए । त्यतिबेला क। भरत मेरो नेताको रुपमा साथै हुनुहुन्थ्यो । ०४५ सालमा उहाँलाई मैले एउटा कार्यकर्ताको रुपमा क्रान्तिमा डोर्‍याएको थिएँ । ०५९ सालसम्म आइपुग्दा उहाँ मेरो नेता र म उहाँको कार्यकर्ताको रुपमा फेरिईसकेको रहेछु । जुन कुरा मैले भेउ पाउन सकेको रहेनछु । हुन पनि अगुवाइ गर्न नसक्नेले कार्यकर्ताको भूमिकामा ओर्लनै पर्छ । समयले कसैलाई पनि पर्खंदैन । अगाडि बढ्नेलाई कसैले छेक्न सक्दैन ।

०५९ चैत्र १ गते क श्रेष्ठले मलाई पार्टी सदस्यता नविकरण गर्दै नेकपा माओवादीको सदस्यता प्रदान गर्नुभयो । त्यही दिन जनमुक्ति सेना र स्थानीय जनसमुदायको रोहवरमा मैले माओवादीमा प्रवेश गरेको घोषणा गरेँ । त्यस घोषणा सभामा क। भरतले निकै उत्साह जगाउने मन्तव्य दिनुभएको थियो । जुन कुरा म कहिल्यै बिर्सन सक्दिनँ ।

हामी दुईको लालजोडी पुनः जोडियो । त्यसपछि हामीहरुले मकवानपुरको डाँडा र पखेराहरुमा केहि दिन बितायौँ । त्यतिबेला मकवानपुरका नेता क। रुद्र पाख्रिनको भर्खरै सहादत भएको रहेछ । तिनै सहिदको सम्झनामा पार्टीले ‘महान सहिद रुद्र पाख्रिनप्रतिको सम्मान, संगठन निर्माण र विस्तार अभियान’ भन्ने अभियान सञ्चालन गरिरहेको थियो । क। भरत र म सरिखेत, ज्यामिरे हुँदै अभियान टोलीसँगै मकवानपुरको पदम पोखरी पुग्यौ । त्यहाँ पनि हामीहरुले जनयुद्धको आवश्यकता र अनिवार्यताको बारेमा जनसभालाई सम्बोधन गर्‍यौँ ।

केहिदिन अभियानमा हिडेर हामी दुवै काठमाडौ फर्कियौं । सरकारसँग वार्ता हुने भएपछि पार्टीले काठमाडौंमा कार्यालय खुलायो । त्यसमा क। भरत कार्यालय सचिवको रुपमा तोकिनु भयो भने क। चित्र बहादुर मुख्य सचिवको रुपमा रहनुभयो । वार्ता हुने भए पनि युद्ध अनिवार्य थियो । पार्टीले वार्तालाई युद्धको बिस्तार गर्ने रणनीतिको रुपमा र सरकारले वार्तालाई जनयुद्धको हैसियत पत्ता लगाउने रणनीतिको रुपमा लिएको थियो । म भने सो अवधिमा व्यक्तिगत र अन्य केहि समस्या मिलाएर पुर्णकालीन हुने तयारीमा जुटेँ । बेला–बेलामा क। भरतले मलाई वार्ता कार्यालयमा बोलाउनु हुन्थ्यो र हामीहरु अनेक सन्दर्भमा छलफल चलाई रहन्थ्यौं ।

एकदिन म काठमाडौ अनामनगरको वार्ता कार्यालयमा बसिरहेको थिए । सरकारसँग वार्ता गर्न खटिनु भएका प्रमुख वार्ताकार क। कृष्णबहादुर महरा टुप्लुक्क देखापर्नुभो । हामीहरु विभिन्न राजनीतिक विषयहरुमा छलफल गरिरहेका थियौं । क।भरतले तपाई पूर्व माननीय, म पूर्वसभापति र क। उत्तम पूर्वउपसभापति यहाँ जम्मा भएका छौं । अब पुरानो सत्ताको बैठक पनि यही गरौं र विघटनको वक्तव्य जारी गरौं भन्नुभयो । त्यसो भन्दा क।महरा हाँसिरहनु भयो । क।भरत रमाइलो र ठट्यौली पारामा विषयलाई अन्यत्र मोड्न सिपालु हुनुहुन्थ्यो । विषयवस्तुलाई रोचक बनाउन उहाँ बेलाबेलामा यस्ता अनेकौँ ठट्यौलीहरु गरिरहनुहुन्थ्यो ।

वार्ता कार्यालयको महत्वपूर्ण जिम्मा र भूमिकाले क। भरतलाई निकै अग्लो बनायो । एमालेका असन्तुष्ट नेता कार्यकर्ताहरु र अन्य वामपन्थी नेताहरु पनि क।भरतलाई खोज्दै अनामनगर आइपुग्थे । फोन सम्पर्क गर्ने नेताहरु पनि प्रशस्त हुन्थे । ति सबैलाई उहाँले क। महरासँग भेटाउने बन्दोबस्त मिलाउनु हुन्थ्यो । यि सबै दृष्यहरुको साक्षी भईरहँदा मलाई भने नेपालमा क्रान्तिकारी ध्रुविकरण नयाँ उत्कर्षमा पुग्दै गरेको अनुभूति हुन्थ्यो । कार्यालयमा रहँदा सरकारसँग वार्ताको समन्वय गर्ने, विभिन्न समूह र व्यक्ति विशेषगरी वामपन्थीहरुसँग भेटघाट र एकताको वातावरण मिलाउने काममा क। भरतले महत्वपूर्ण भूमिका खेल्नु भयो ।

वार्ता नमिलेपछि ०६० भाद्रबाट युद्ध विरामभङ्ग भयो । पुनः युद्ध हुने नै भयो । दुवैथरीले भिषण तथा अन्तिम युद्धको तयारी गर्न थाले । म त्यतिबेला मकवानपुरको पश्चिम र धादिङको दक्षिण इलाकाको जिम्मेवारीमा थिए । क। भरत भने रसुवा, नुवाकोट र धादिङ तिरको पार्टी काम हेर्नुहुन्थ्यो । पार्टीले उहाँलाई उपक्षेत्रिय ब्युरोमा राखेको थियो । उहाँ अखिल नेपाल किसान संघ ९क्रा०को केन्द्रिय सदस्य पनि हुनुहुन्थ्यो । उपल्लो कमिटीको हैसियतले क। भरत बेलाबेलामा मकवानपुरतिर पनि आईरहनुहुन्थ्यो ।

सङ्गीन अवस्था भए पनि क।भरतसँग मेरो बारम्बार भेट भइरहन्थ्यो । भेट हुनासाथ हामीहरु अन्तरङ्ग छलफल गर्दै समय बिताउथ्यौं । क्रान्तिको दिशा, नेतृत्वको प्रवृत्ति र शैली, एमाले र माओवादीबीचको तुलनात्मक फरक, आदिबारेमा हाम्रो बीचमा घण्टौं छलफल भैरहन्थ्यो । माओवादीमा म नवआगन्तुक थिए । क। भरत माओवादीको लागि पुरानो भैसक्नु भएको थियो । माओवादी नेता र कार्यकर्ताहरुको शैली र प्रवृत्तिबारे क।भरतले मलाई बारबार सचेत गराउनु हुन्थ्यो । पछिल्लो पटक मकवानपुरको डाँडाँखर्क दमारमा उहाँले मलाई सम्झाउनु भएको कैयौ विषयहरुबारे मलाई आजसम्म सम्झना छदैँ छ ।

एकदिन म मकवानपुरको कालीटारमा बसिरहेको थिएँ । समाचारहरुमा ‘माओवादी नेता भरत ढुङ्गाना धादिङको गुम्दीबाट गिरफ्तार’ भन्ने खबर आयो । खबर सुन्ने बित्तिकै मेरो मन सशङ्कित बन्यो । एक मनले ‘भरत जस्तो स्थापित नेतालाई शाही सेनाले हत्या चाहिँ गरिहाल्दैन कि’ भन्ने लाग्यो भने अर्को मनले ‘यी जल्लादहरुको के विश्वास रु जे पनि हुन सक्छ’ भन्ने लाग्यो । यस्तै द्विविधा र अन्यौलको बीचमा बेलुकीपख म नजिकैको अर्को गाउँ वनझाक्री गए । त्यहाँ जिल्ला सेक्रेटरी क। रमण एउटा खोलामा नुहाइरहनु भएको रहेछ ।

क भरतसँगको पुरानो कुराहरु याद गर्दै विशेष गरी पुरानो सत्ताबाट विद्रोह गरेर क्रान्तिकारी पार्टीमा प्रवेश गर्नु भएको कुरालाई उहाँले सर्‍हाना गर्नुभयो । उहाँले आफ्नो र क। भरतको कतिपय प्रवृति नमिलेको कुरा पनि खुलस्त बताउनु भयो । जे होस् हामीले त्यहाँ निकै बेर क। भरतको विगतबारे समिक्षा गरिरह्यौं । त्यतिबेला कसै–कसैले माले जस्तो अवसरवादी पार्टी र पुरानो सत्ताबाट विद्रोह गरेर आएको व्यक्ति दुश्मन सामु आत्मसमर्पण गर्न पनि सक्छन् भन्ने आशंका नगरेका होइनन् । समाचार सुन्दासुन्दै क।भरतको सहादत भएको खबर आयो । वास्तवमा आशंका विपरीत क. भरतले महान् मृत्युवरण गर्नुभयो र उहाँ महान् बन्नुभयो ।

हत्याको खबर सुनेपछि म निकै स्तब्ध भए । निकैबेरसम्म बोल्न पनि मन लागेन । खाना खान पनि मन लागेन । के–के अपुग भएजस्तो अनुभूति भैरह्यो । रातभरी मन गर्‍हुङ्गो भैरहयो । निन्द्रै लागेन । अव्यक्त पीडाले मन विह्वल बनिरहयो । जनयुद्धमा कैयौको सहादत भैसकेको छ । आफुसँगै हिडेका कैयौं साथीहरुको पनि सहादत भैसकेको छ । तर क। भरतको सहादतले भएको पीडा अकल्पनिय थियो । अब मैले उहाँ जस्तो प्रिय साथी कहाँ पाउने भन्ने विषयले मनको रिक्ततालाई भर्नसकेन । जे गर्दा पनि मन बुझाउन सकिन । अन्तत मध्यरात पनि कट्यो । अँध्यारोमा छामछामछुमछुम गर्दै मैले टुकी बाले । टुकीको मधुरो उज्यालोमा क।भरत मेरो नजिकै आउनु भयो । मैले कपीमा वहाँलाई यसरी उतारेपछि मात्र बल्ल म निदाएछु ।

एउटा योद्धा ढल्यो भन्दा मुटु साह्रै दुख्दो रैछ
रक्त मुछेल माटो भित्र चित्र उसको आउँदो रैछ
हाँसी हाँसी मर्ने मृत्यु दुश्मन माथि बज्रिंदो छ
जति ढलुन् भौतिक शरीर तर क्रान्ती फक्रिंदो छ

एउटा ढल्यो भन्नु मात्र हजार–हजार उठिसके
निरङ्कुशताको कालो पर्दा च्यात्न कम्मर कसिसके
सहिदका सपना भन्नु स्वाभिमान र इज्जत रैछ
एउटा योद्धा ढल्यो भन्दा मुटु साह्रै दुख्दो रैछ

देश भन्नु माटो रैछ रक्त बिज उम्रिसक्यो
सुत्नेहरु ब्यूँझी उठे आगो जस्तै जलिसक्यो
समानता र स्वतन्त्रता महान् विचार हुँदो रैछ
एउटा योद्धा ढल्यो भन्दा मुटु साह्रै दुख्दो रैछ ।

 

ढुङ्गानाका सहयात्री उत्तम कँडेलद्वारा करिव ११ बर्षअघि लिखित संस्मरणका केहि अंश

बिहीबार नै सहिद ढुङ्गानाको स्मृति ग्रन्थ पनि सार्वजनिक हुँदैछ ।

 

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव