
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । आईपीओ निष्कासनको पहिलो दिन आज नै सर्वसाधारणबाट माग भन्दा झण्डै १२ गुणा अर्थात ११.१८ गुणा शेयर आवेदन बढी परेकाे छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराएको तथ्याङ्क अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा २ लाख ९३ हजार ९७६ वटा आवेदन मार्फत ५४ करोड ५१ लाख ७ हजार २०० रुपैयाँ बराबरको ४५ लाख ४२ हजार ५६० कित्ताको शेयर माग भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले निष्काशन गरिने कुल शेयरको २ प्रतिशत कर्मचारीहरुलाई र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । सर्वासाधारणका लागि ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।
आईपीओमा लगानीकर्ताले सिडिएससीको मेरो शेयर मोबाइल एप र वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आवेदन १० कित्ता बराबर मात्रै दिँदा पुग्ने देखिन्छ । किनभने माग भएबमोजिमको आवेदन आईपीओ खुलेको केही घण्टामा नै पूर्ति भएको हो । आवेदन चैत २४ गते मंगलबारसम्म दिन सकिनेछ ।