
रोल्पा । सुनिलस्मृती गाउँपालिका ४ मा अवस्थित कोइरालखर्क सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । कोइरालखर्कको खण्ड ३ स्थित तिल्केनी खोलाबाट हिजो अपरान्ह ३ः४५ देखि आगलागी सुरु भएको थियो । साँझसम्म उक्त आगलागी बस्तीमा छिर्ने खतरा भएपछि स्थानीयको युवा क्लव, विद्यालय तथा सम्पूर्ण कोइरालखर्कवासीहरुले मिलेर आगोलाई वस्तीमा छिर्न दिएका थिएनन् ।
आगालागीबारे साँझ करिव ६ः३० बजेतिर बल्ला आफुहरुलाई थाहा हुन आएको त्यो पनि करिव नियन्त्रण भइसक्यो भनेपछि आफूहरु नगएको इलाका प्रहरी सुलिचौरका सई मोहन बस्नेतले जानकारी दिए । तर आज अपरान्हबाट आगो पुनः फैलिन थालेपछि सई भुवन ऐडीको नेतृत्वमा ६ जना टोली आगलागी क्षेत्रतर्फ गएको सई बस्नेतले जानकारी दिए ।
हिजोबाट सुरु भएको आगलागी साँझसम्म नियन्त्रणमा आएको खबर आएपनि आज पुनः फैलिएको खबर आएकाले त्यसतर्फ जाँदै गरेको सुनिल स्मृती गाउँपालिका वडा नं. ४ का अध्यक्ष गुञ्ज बहादुर क्षेत्रीले जानकारी दिए ।
अहिलेसम्म मानवीय क्षति नभएको र क्षतिको यकिन पनि भइनसकेको उनले बताए । उनले भने, ‘हिजो आगो नियन्त्रणमा आयो भनेर हामी गएनौं, आज फेरि फैलियो भनेर हामी वडा कार्यालयको टोली र प्रहरी घटनास्थलतर्फ जाँदैछौं, क्षतिबारे त्यही पुगेपछि थाहा हुन्छ ।’ सामुदायिक वनमा एक्कासी लागेको आगो के कारणले आगो लाग्यो भन्नेबारे जानकारी नभएको उनले बताए ।
उक्त सामुदायिका वनको आगो फैलिँदै गएमा मुख्य गरी कोइरालखर्कलाई क्षति हुनेछ भने त्योसँगै चाल्नेघडेरी, हेसु, लेख, बाहुन पोखरीलगायतका गाउँहरु जोखिममा रहेका छन् ।
तस्वीरः कृषल दीप बस्नेतको फेसबुकबाट