वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

कोरोनाको कहर, २२ जनाको परिवार, गिठ्ठा भ्याकुरको भर

कोरोनाको कहर, २२ जनाको परिवार, गिठ्ठा भ्याकुरको भर

चितवन । पिँढीमा अशक्त वृद्ध सुतीरहेका छन् । साना बच्चाहरु घरको पालीमा पछ्यौरा बाधेर बनाईएको झोलुगो खेलीरहेका छन् । घरको दायाबाया, पाली, चोटा र अँगेनाको छेउ वरपर ओछ्यानै ओछ्यान छन् ।

यो दृश्य हो पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १० लोतन्तीका रामबहादुर चेपाङको घरको । रामबहादुर घरको पिढीमा ओछ्यान परेको २ वर्ष भयो । आफ्नो सहारा कोही नभएपछि उनी छोरीको घरमा आश्रय लिएर बसेका छन् । बुवालाई स्याहार सुसार गदै आएकी छोरी रामकुमारी चेपाङको अवस्था पनि दयनीय छ । २२ जनाको ठुलो परिवारको साँझ बिहानको खाना जोड्न उनलाई धौ धौ परेको छ ।

ज्याला मजदुरी गर्ने घरका सदस्यहरु काम नपाएर घरमै बस्न बाध्य छन् । ७० वर्षीय बुबालाई स्याहार गर्दै आएकी रामकुमारी भन्छीन्, – “काम छैन । ठुलो परिवार छ । बिरामी बा ओछ्यान परेका छन् ।”

उनलाई अशक्त बुबाको हेरचाह एकातिर छ भने अर्कोतर्फ २२ जनाको ठूलो परिवारलाई खुवाउने र सुत्ने ठाँउको समस्याले रातदीन पिरोल्ने गरेको छ ।

८ जना दाजुभाइ मध्ये घरको साहिली बुहारी रामकुमारीको ठूलो परिवारमा न त घरमा खाने अन्न छ, न त बस्ने ठाउँ नै । बिरामी बुबा सहित २२ जनाको परिवार जहाँ खाली ठाँउ छ त्यही ओछ्यान लगाएर सुत्नुपर्ने बाध्यता छ ।

ठूलो परिवार काम के गर्ने भन्ने रनभुल्लमा परिवारका सदस्यहरू देखिन्थे । लकडाउन हुनुभन्दा अगाडि ज्याला मजदुरी गर्ने परिवारका सदस्य पनि काम नपाउँदा घरमै बस्न बाध्य भएका छन् । बिहान बेलुकाको छाक टार्ने समस्या एकातिर छ भने अर्कोतर्फ बिरामी बुबाको उपचार कसरी गर्ने भन्ने पिरलो सधै हुने गरेको रामकुमारी बताउँछिन् ।

पाखो बारीको अन्नले ३ महिना पनि मुस्किलले पुग्ने यो परिवारले गिठ्ठा भ्याकुर पनि भरी पेट खान पाएको छैन । कुनै छाक छिमेक, गाउँघरबाट पैँचो मागेर खाने गरेका छौँ भने कहिले गिठ्ठा भ्याकुर खादै आएका छौँ, उनले भनिन् ।

परिवार ठूलो हुनाले अन्न त कता हो कता गिठ्ठा भ्याकुर पनि पेटभरी खाने अवस्था छैन, रामकुमारीका माहिला जेठाजु आकाश चेपाङले भने ।

सोही गाउँकी विष्णुमाया चेपाङको परिवारमा पनि समस्या उस्तै छ । विष्णुमाया घरको ढोकाको छेउमा गिठ्ठा काट्दै थिइन् भने उनकी ३ वर्षको नातिनी घरको चोटाबाट हजुरआमाले काटेर राखेको गिठ्ठाको थाल हेर्दै थिइन् । सायद उनको भोको पेटले खाना कति बेला खान पाईन्छ भनेर सोधीरहेको थियो होला ।

उनको परीवारमा ४ छोरा र ३ छोरी नातिनातिना गरेर १३ जना छन् । यति ठुलो परिवार भएको उनको घरभित्र पनि अन्नको दाना समेत छैन् । कहिले पाइयो भने गाउँघरबाट कोदो मकै ल्याएर खान्छौँ नभए गिठ्ठाको भरमा परिवार पाल्दै आएको मलिलो अनुहारमा उनले बताईन ।

उनको परिवार पनि ज्याला मजदुरी गरेर पालिदै आएको थियो । हातमा काम आयो पेट भरीयो काम नभए भोकै बस्नुपर्ने बाध्यता यस क्षेत्रका अधिंकाश चेपाङ समुदायका मानिसहरुको छ ।

सो लोतन्ती गाउँका अतिरिक्त टुडीखेल गाउँ, छ्यासिलिङ गाउँ, क्यान्सिराङ गाउँको पनि अवस्था उस्तै छ । सो गाउँका ६८ घरपरिवारमा अहिले अनिकाल लागेको स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकलाल चेपाङले जानकारी दिए ।

कालिका नगरपालिकाकै वडा नं. ९ को राजवन, सम्फर्‍याङ, चाइनाराङ, भ्युरान लगायतका गाउँमा पनि खाद्यान्न अनिकाल लागेको स्थानीय लक्ष्मी चेपाङ बताउछीन् । स्थानीय ३५ घरपरिवार दैनिक गुजारा टार्न पनि समस्यामा रहेको उनले बताइन् ।

कालिका नगरपालिकाका वडा नं. १० का वडा अध्यक्ष दिलबहादुर गुरूङले चेपाङ गाउँमा कोरोना महामारीले गर्दा बिहान बेलुका छाँक टार्न समेत समस्या भएको बताउँदै ज्याला मजदुरी गर्ने गाउँलेहरूले काम नपाउँदा गिठ्ठा भ्याकुरको भरमा परिवार पाल्नु परेको बताए ।

चेपाङ अभियन्ता केपी किरण शर्मा पाखो बारीमा म्ुस्कीलले दुई तिन महिना मात्रै खान पुग्ने चेपाङ समुदायमा लकडाउनले धेरै प्रभाव पारेको बताउछन् । उनी भन्छन् ज्याला मजदुरी गरेर साझ बिहानको छाक टार्दै आएका यस क्षेत्रका चेपाङहरुले काम नपाएसंगै गिठा र भ्याकुरको भरमा रात काट्नु परेको बताउँछन् ।

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने

गायक भावुकको ‘म मजदुर मायाको’ गीत सार्वजनिक

 कोरोना  संक्रमणबाट पूर्वसांसद अधिकारीको निधन

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने