वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

अंशबण्डा बारे थाहा पाउनै पर्ने केही कुरा

अंशबण्डा बारे थाहा पाउनै पर्ने केही कुरा

मानिसको सबैभन्दा प्रिय वस्तु भनेकै जीवन, स्वतन्त्रता र सम्पत्ति हो । सम्पत्ति स्वामीविहीन हुन सक्दैन, तसर्थ यसले स्वामित्वलाई बढी प्रश्रय दिन्छ । जसलाई व्यक्तिले निर्विवाद रूपमा स्वतन्त्र रूपले उपभोग गर्न, क्रयबिक्रय गर्न, हस्तान्तरण गर्न र कारोबार गर्न सक्दछ । मुलुकी देवानी संहिता २०७४ को दफा २५१ ले सम्पत्तिलाई परिभाषित गरेको छ । सम्पत्ति चल र अचल गरी दुई प्रकारको हुन्छ भने स्वामित्व तथा त्यसको प्रयोगको आधारमा समेत सम्पत्तिको परिभाषा संहिताले गरेको छ ।

अंशभन्दा अगाडि सम्पत्ति भनेको के हो भनेर बुझ्नुपर्ने हुन्छ । सम्पत्ति भन्नाले त्यस्तो वस्तु हो जसको मौद्रिक मूल्य हुन्छ, जुन चल वा अचल, स्वरूपमा हुन्छ र एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै स्वामित्व हस्तान्तरण गर्न सकिन्छ । त्यस्तो मौद्रिक वस्तुलाई सम्पत्ति भनिन्छ । सम्पत्तिलाई बण्डा गरेमा अर्थात् भाग लगाएमा त्यसलाई अंशबण्डा भनिन्छ । यस्तो वस्तुहरू पहिला घरको मुख्य व्यक्तिको नाममा हुन्छ भने पछि घरमा अन्य थपिने सदस्यहरूमा विभिन्न कारणले छुट्टभिन्न हुन पर्दा यसलाई समान पुस्ताका अंशियारहरूका बीचमा भाग लगाउनुपर्ने हुन्छ । यस्तो कार्यलाई अंशबण्डा भनिन्छ । अंशबण्डा गर्दा अंशियार को को हुन् भन्नेबारेमा मुलुकी देवानी संहिता २०७४ को भाग ४ को परिच्छेद १ दफा २५१ देखि २६५ मा विभिन्न व्यवस्था गरेको छ ।

अंशबण्डा गर्दा समान पुस्ताका अंशियारहरूमा मात्र हुने गर्दछ । संहिताको दफा २५७ ले संगोलको सम्पत्तिको समेत परिभाषा गरेको छ । समान अंशियार भन्नाले पति, पत्नी, बाबु, आमा, छोरा, छोरी, हुन्छन् भने सगोलमा बसेको दाजुभाइका छोराछोरीले वा श्रीमतीले आ–आफ्नो बुवा वा श्रीमान्को भागमा आएको भागमा मात्र अंश दाबी गर्न पाउँदछ । अशबण्डा गर्दा कुनै अंशियारको भागमा परेको घर वा जग्गामा आवतजावत गर्न बाटो वा निकास नहुने भएमा सम्बन्धित अंशियारले त्यस्तो घर वा जग्गामा जान बाटो वा निकासको व्यवस्था हुने गरी अंशबण्डा गर्नुपर्ने हुन्छ । अंशबण्डा गर्दा यी समान पुस्ताका अंशियारहरू बीचमा मात्र गरिनेछ । सबै अंशियारहरू अंश/सम्पत्तिको समान हकदार हुन्छन् र अंशबण्डा गर्दाको समयमा कुनै महिला अंशियार गर्भवती भएमा निज गर्भमा भएको शिशुका लागि पनि अंश छुट्टाई अंशबण्डा गर्नुपर्दछ । यदि शिशु मृत अवस्थामा जन्मिएमा बाँकी अंशियारले शिशुका लागि छुट्टाइएको सम्पत्ति बरावर गरी लिन पाउँदछ भन्ने व्यवस्था संहिताले स्पष्ट पारेको छ ।

अंशबण्डा गर्दा अंशियारहरू बीचमा लिखित रूपमा नै गर्नुपर्दछ र बण्डा गर्दा सगोलको सम्पत्ति र सगोलको ऋण घटीबढी नहुने गरी बराबर नरमकरम मिलाएर गर्नुपर्दछ । यदि पूर्णरूपमा मञ्जुरी नभएमा गोलाप्रथा गरी पनि बण्डा गर्नुपर्दछ । यदि कुनै अंश वा सम्पत्ति बण्डा गर्दा विवाद भएमा वा धेरै समय लाग्ने देखिएमा त्यस्तो विवादित सम्पत्ति बाँकी राखी अन्य सम्पत्ति बण्डा गर्न सकिनेछ । अंशबण्डा गर्दा जहिले पनि सम्बबन्धित निकायमा लिखत परित गर्नुपर्दछ । र, त्यस्तो लिखत घरसारको रहेछ भने जिल्ला मालपोत कार्यालयमा तोकिएको समयभित्र दर्तासमेत गर्नुपर्दछ । यदि मर्का परेमा कामकारबाही भएको मितिले ६ महिनाभित्र नालिस गर्न संहिताको दफा २५६ ले व्यवस्था गरेको छ ।

बदर हुने विवाह गरेर पुरुष वा महिलाको मञ्जुरी नलिई भएको विवाह, हाडनाता करणीमा सजाय हुने नाताको व्यक्तिहरूबीच भएको आदि जस्ता बदर हुने विवाहबाट भएको बच्चाको हकमा भने बाबुआमाबाट सम्पत्ति पाउँदछ, तर विवाह भने सदर हँुदैन । यदि बाबुको पहिचान नभएको आमाबाट सन्तान जन्मिएमा त्यस्ता छोराछोरीले आमाको सम्पत्तिबाट अंश प्राप्त गर्न सक्दछ भने मृत्युभन्दा अगाडिसम्म बाहिर प्रकाशमा नल्याएको भएमा र त्यस्तो श्रीमान् श्रीमतीबाट बच्चा जन्मिएको अवस्था विद्यमान रहेछ भने बावु वा पति मरेपछि अंशमा दाबी गर्न पाउने छैन भनेर संहिताले समयमा कानुनी उपचार माग्न नगई विलम्ब गर्दा अधिकार प्राप्त हँुदैन भनी चनाखो बन्नुपर्ने दायित्वसमेत स्पष्ट गराएको छ ।

अंशबण्डा नहँुदै बुवा वा लोग्ने मरेमा त्यस्तो अवस्थामा आफ्नो बावु वा पतिको सगोलको अंशियारको हकमा जति अंश आउदँछ त्यति मात्रै अंश प्राप्त गर्दछ । यदि अंशियारहरूबीच आपसी सहमति भएमा जुनसुकै समयमा पनि छुट्टीभिन्न भई बस्न सक्दछन् भने घरमा मुख्य भई काम गर्ने बाबुआमा वा पतिलाई एकै ठाउँमा बस्नुभन्दा भिन्न भएर बस्न उचित लागेमा जहिलेसुकै पनि अंशबण्डा गरी भिन्न बस्न सक्ने छन् । पति वा पत्नीले पति वा पत्नीलाई घरबाट निकाला गरिदिएमा, पति वा पत्नीले पति वा पत्नीलाई शारिरीक वा मानसिक यातना दिएमा पति वा पत्नीले अंश लिई भिन्न बस्ने सक्नेछ भन्ने व्यवस्था पनि यस संहिताले गरेको छ ।

विधुवाले आफ्नो भागको अंश जहिलेसुकै पनि लिन पाउँछ र यदि विधुवाले पछि विवाह गरेमा पहिलोबाट पाएको सम्पत्ति पहिलोपट्टिको लोग्नेका तर्फको छोराछोरी भए उनीहरूले पाउँछ । यदि छैन भने आफैले लिन पाउने व्यवस्था गरेको छ ।

यदि कुनै अंशियारले आफ्नो भागको अंश छोड्छु भने केही मात्र लिई वा नलिई केही नगद मात्र लिएर अंश छोडपत्र गर्न सक्दछ । यसरी छोडपत्र गर्दा अंशियारको पति, पत्नी, उमेर पुगेको छोरा, छोरीको मञ्जुरी लिएर मात्र अंश छोडपत्र गर्न सक्दछ । अंश छोडपत्र गर्दा अंशियार आफै उपस्थित हुनुपर्ने व्यवस्था छ । यदि उपस्थित हुन नसकेमा यसै प्रयोजनका लागि कानुनबमोजिम अधिकृत वारेसनामा नियुक्त गरी गर्नसक्नेछ । तर यदि उमेर नपुगेको छोराछोरी अंशियार छ भने नाबालकको हकमा भने अंश छोडपत्र गर्न सक्ने छैन भन्ने व्यवस्था कानुनले स्पष्ट गरेको छ ।

सगोलको सम्पत्ति घरको मुख्य भई काम गर्ने व्यक्तिले अंशबण्डा नहुँदै अन्य अंशियारको सहमति नलिइकन कसैलाई दिन पाउँदैन, तर आफ्नो भागमा पर्ने जति सम्पत्ति भने अन्य अंशियारको मञ्जुरी नलिइकन पनि दिन सक्दछ । अंंशियारहरू बीचमा आपसी सहमति भएकोमा बाहेक अंशबण्डा गरिसकेको अंश मन परेन वा बिग्रेको कारण देखाई सट्टापट्टा गर्न पाउने छैन ।

मर्का पर्ने व्यक्तिले कहिलेसम्म नालिस(उजुर गर्न सक्दछ ?
बण्डा नै नभएको वा अंशबण्डा हुँदा गोश्वाराको लिखत भएको र लिखत नभए पनि हिसाव गरी दुवै पक्षले भोग गरेकोमा जहिलेसुकै अंशबण्डामा चित्त नबुझेमा त्यस्तो बण्डा भएको मितिले ६ महिनाभित्र सम्पत्ति लुकाएको वा छिपाएको सम्वन्धमा अंशियारको जीवनकाल रहेसम्म यीबाहेक अन्य अवस्थामा भए भए गरेको मितिले ६ महिना भित्र नालिस उजुर गर्नुपर्नेछ ।

यसरी सम्पत्तिको सम्बन्धमा मुलुकी देवानी संहिताले करिब ११० बर्ष लामो इतिहास बोकेको मुलुकी ऐनले समेत नसमेटेका, कानुनैपिच्छे छरिएर रहेका व्यवस्थाहरूलाई समेत एकत्रित गरी कार्यान्वयनमा ल्याउन मुलुकी देवानी संहिता, २०७४ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ सँगै ल्याएर स्पष्टता, सरलता र सहजतासमेत प्रदान गरेको छ । सम्पत्तिमा स्वामित्वकर्ता र भोगाधिकार रहने हँुदा यसले केही दायित्वलाई समेत प्रस्ट्याएको देखिन्छ । विवादहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न विगतमा जटिलता उत्पन्न भएका विगतका अनुभवहरू र नजिरहरूबाट प्रतिपादित सिद्धान्तहरू पनि यस संहिताले समेटेको पाइन्छ । व्यक्तिको मौलिक हक कुण्ठित नहोस् र निर्विवाद सम्पत्तिको उपभोगबाट कोही पनि व्यक्ति वञ्चित नहोस् र वास्तविक न्याय प्रदान गर्न सकियोस् भन्नु नै संहिताको मूल मर्म हो ।

-लेखक प्रधान अधिवक्ता हुन् ।

निरन्तरको बाढीले गएराति मेलम्चीमा सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची