वि.सं २०७८ असोज ३ आइतबार फोरेक्स युनिकोडमौसम

घर भाडामा लिने-दिनेले बुझ्नै पर्ने कानुनी कुरा

घर भाडामा लिने-दिनेले बुझ्नै पर्ने कानुनी कुरा

भूमिका
घर बहालमा लिनेदिने प्रचलन सहरीकरणको प्रक्रियामा रहेको हाम्रो जस्तो देशमा तीव्र विकास भएको छ । यो आम्दानीको प्रमुख स्रोतको साथै व्यापार व्यवसायसमेत बन्न पुगेको छ । घर बहालमा लिनेदिने प्रक्रिया लेनदेन व्यवहारको एक अंग बन्न पुगेको छ । घर बहालका कारणले सामाजिक सम्बन्धहरू बन्ने भत्कने प्रक्रियासँगै अदालतमा मुद्दा मामिलाको भोलम पनि त्यत्तिकै अनुपातमा वृद्धि भएको छ । यसै वास्तविकतालाई मध्यनजर गर्दै घर बहालसम्बन्धी कानुनी व्यवस्था र ध्यान दिनुपर्ने कुराका वारेमा जानकारी दिने हिसाबले यो आलेख तयार गरिएको छ ।

घर बहालसम्बन्धी प्रचलित कानुनः
मुलुकी देवानी (संहिता) ऐन २०७४ को भाग ४ को परिच्छेद ९ मा घर बहालसम्बन्धी व्यवस्था गरेको छ, जसमा दफा ३८३ देखि दफा ४०३ सम्म व्यवस्था गरेको छ ।

कुनै पनि कुरा बहालमा दिने भन्नाले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको सम्पत्ति कसलैलाई कुनै निश्चित समयका लागि निश्चित रकम तोकी दिने कार्यलाई बहाल वा भाडामा दिने भन्ने बुझिन्छ । यसमा घर भन्नाले कुनै घर, घरको तल्ला एकाइ कोठा वा त्यस्तो घरले ओगटेको जग्गा वा लगापातसमेत सम्झनुपर्दछ भनी उल्लेख गरेको पाइन्छ । घर बहालमा दिदा बढीमा पाँच वर्षसम्मका लागि बहालमा बस्ने र बहालमा दिनेबीच सम्झौता गर्न सकिनेछ । त्यसपछिको समय थप गर्न दुवै पक्षले एकआपसमा सहमति गरेर सम्झौता बढाउन सक्नेछ ।

व्यापारिक प्रयोजनकाा लागि भने सम्झौतामा उल्लेख भएबमोजिम हुनेछ । तर घर बहालमा दिँदा सुरक्षित भएको घर मात्र दिनुपर्दछ । सामान्यतया घर बहालमा दिँदा लिने दिन बीचमा घरभाडा सम्झौता गर्नुपर्दछ, तर मासिक बीस हजारसम्म भएकोमा भने लिखित सम्झाता गर्नु अनिवार्य छैन भनी दफा ३८६ को उपदफा (२) मा प्रस्ट व्यवस्था गरेको छ ।

घर बहाल लिखतमा उल्लेख गर्नपर्ने कुराहरूः
घर भाडा लिँदा दिँदा लिने र दिने व्यक्तिबीच लिखित सम्झौता गर्दा कम्तीमा पनि निम्न कुरा उल्लेख गरेको हुनुपर्दछ जसमा ः घर बहालमा लिने र दिने व्यक्तिको पूरा नाम र ठेगाना, नागरिकता नम्बर र विदेशी भएमा राहादनी वा परिचय खुल्ने प्रमाणपत्र, घर रहेको ठेगाना र जग्गाको कित्ता नं., कुन उद्देश्यले बहाल लिएको हो, बाहाल बस्ने सुरु तथा अन्तिम मिति मासिक भाडा, घर बहाल रकम बुझाउने मिति र प्रक्रिया, घरमा खपत भएको पानी बत्ती, टेलिफोन, सरसफाइ आदिको खर्च कसले तिर्ने घर बहाल करको दायित्व कसको हो, यदि घरको विमा पनि गर्नुपर्ने भएको विमा कसले गर्ने तथा यदि बीचमा खाली गर्नुपरेमा दुवै पक्षको सर्तहरू, घर बहालमा लिनेले फेरि अर्कोलाई बहालमा दिन पाउने वा नपाउने, यदि घरसम्बन्धी कुनै कमजोरी छ भने त्यस्ता कुराहरू पनि पनि उल्लेख गरी लिखित सम्झौतामाबमोजिम घर बहालमा बस्ते पक्षको फोटोसमेत टाँस्ने र दुवै पक्षका दुई दुईजना साक्षीको समेत सहीछाप गरी एक एक प्रति दुवै पक्षले लिनुपर्दछ । तर दुवै पक्षको आपसी सहमतिमा सम्झौतामा कुनै पनि समयमा हेरफेर गर्न सक्नेछ । घर बहाल भुक्तान गर्दा चेक वा नगर्दै पनि बुझाउन सकिनेछ र यदि नगर्दै बुझेको छ भने त्यस्तो अवस्थामा भरपाइ बहाल बुझाउने व्यक्तिलाई दिनुपर्नेछ ।

बहालमा दिने लिनेको दायित्व:
घर बहालमा दिइ सकेपछि घर धनीको दायित्व के के हुन्छ ?
घरधनीले घर बहालमा बस्नेलाई सम्झौताबमोजिम बहालमा दिइसकेपछि सम्झौतमा उल्लेख गरेबमोजिम उपयोग गर्न दिनुपर्दछ, यदि पानी बत्ती ढल आदिको वारेमा उल्लेख गरेको भए सोहीबमोजिम र उल्लेख नगरेको भए पानी, बत्ती, ढल निकास तथा सरसफाइ आदिको व्यवस्था घरभाडामा दिनेले नै गर्नुपर्ने हुन्छ ।

घर बहालमा दिइसकेपछि घर बहालमा बस्नेको दायित्व के के हुन्छ ?

आफू बहालमा बसेको घरको राम्रो हेरचाह, सरसफाइ तथा सुरक्षा प्रदान गर्ने सम्झौतमा उल्लेख भएबमोजिमको समयमा घरधनीलाई बहालको रकम उपलब्ध गराउने छरछिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षाको महसुस हुने काम गर्न नहुने सम्झौतमा जुन प्रयोजनले घरभाडामा लिइएको हो सोहीबमोजिम प्रयोग गर्नुपर्दछ ।

घरको घर बहाल कर कसले भुक्तान र कहाँ भुक्तान गर्ने भन्ने विषयमा यस ऐनले सम्झौतामा उल्लेख भए सम्झौतामा उल्लेख भएअनुसार नै हुने, यदि सम्झौतामा उल्लेख नभएमा घरधनी आफैले भुक्तान गर्नुपर्ने हुन्छ । यदि घरधनीले समयमा भुक्तान नगरेमा बहालमा बस्नेले सम्बन्धित निकायमा आफैले बुझाई बहालमा कट्टा गरी भुक्तान गर्न सक्नेछ । घरभाडा भुक्तान गर्दा यदि कुनै व्यक्तिगत नाममा भएको घर भएमा वडा कार्यालयमा र कर्पोरेट हाउसको नाउमा घरभाडा कर कट्टी गरेको भए सम्बन्धित कर कार्यालयमा करको रकम तोकिएको समयभित्र दाखिला गर्नुपर्ने हुन्छ ।

घरधनीको स्वीकृतिविना बहालमा बस्नेले सम्झौतमा उल्लेख भएमाबाहेक घरधनीको स्वीकृतविना घरको संरचना भत्काउन, कुनै भाग थप्न वा अन्य कुनै किसिमले हेरफेर पाउँदैन । यदि स्वीकृतिविना त्यस्तो काम गरी घरधनीलाई क्षति पुगेमा क्षति भएको रकम घरधनीले बाहालवालाबाट भराई लिन सक्नेछ ।

घरधनीले आफ्नो दायित्व पूरा नगरेमा, जुन प्रयोजनका लागि घर बहालमा लिएको सो कामका लागि घर नचाहिने भएमा र घरधनीले सम्झौताविपरीत कार्य गरेमा यस्तो अवस्थामा घरधनीलाई ३५ दिनको सूचना दिई बहालमा बस्नेले सम्झौताभन्दा अगावै छोड्न सक्दछ ।

घरबाट हटाउन सक्ने अवस्था:
घरबेटीले बहालमा बस्नेलाई निम्न अवस्थामा हटाउन सक्नेछ
सम्झौतमा उल्लेख भएबमोजिमको समयमा रकम भुक्तान नगरेमा, बहालमा लिएको घरको सुरक्षा हेरचाह राम्रोसँग नगरेमा, छरछिमेकीलाई अशान्ति हैरानी पारेमा, सम्झौतमा उल्लेख भएको कुरा पालना नगरेमा, बहालमा लिएको घरमा गैरकानुनी कामका लागि प्रयोग गरेमा, घरधनी आफैलाई चाहिएमा, सम्झौता सकिएमा, घरबेटीको स्वीकृतिविना घरको संरचना थपघट गरेमा वा नोक्सानी पु-याएमा यस्तो अवस्थामा पैतीस दिनको लिखित सूचना दिई हटाउन सक्नेछ ।

तर घरधनीले बहालमा लिएकोलाई हटाएपछि त्यो घर आफूले प्रयोग नगरी अन्यलाई तीन महिनासम्म बहालमा दिन पाउने छैन, यदि तीन महिनाभित्र अन्यलाई दिनुपर्ने भएमा पहिलो प्राथमिकता पहिला बस्नेले नै पाउने व्यवस्था रहेको छ ।

यदि बहालवाला विनासूचना तीन महिनाभन्दा बढी बहाल रकम नबुझाई र बारम्वार सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेमा घरधनीले स्थानीय तहको वडा कार्यालयमा लिखित निवेदन दिनुपर्ने छ भने वडा कार्यालयले सम्वन्धित बहालवालालाई उपस्थित हुनी बहालवालाको नाममा पन्ध्र दिनको सार्वजनिक सूचना प्रकाशित गर्नेछ र उक्त अवधिमा सम्पर्क हुन नसकेमा सम्बन्धित वडा कार्यालयले बहाल बस्नेको घर÷कोठा खोली वडाले आफ्नो वा कुनै मानिसको जिम्मा समान रहने गरी खाली गराउन सक्नेछ । यदि वडामा निवदेन दिएको एक महिनाभित्र पनि वडाले प्रक्रिया अगाडि नबढाएमा नजिकको प्रहरी कार्यालयमा निवेदन दिई प्रहरी र स्थानीय बासिन्दा कम्तीमा दुईजनासम्म साक्षी राखी लिखत खडा गरी समान प्रहरीको जिम्मा दिई खाली गर्न सक्नेछ ।

उजुरी गर्ने अवधिः
हदम्याद; यसमा मर्का पर्ने पक्षले भए गरेको मितिले ६ महिनाभित्र उजुर गर्नुपर्ने छ भन्ने व्यवस्था रहेको छ ।

निष्कर्ष  
घर बहालमा लिनेदिने प्रक्रिया एक सामाजिक व्यवहार वा लेनदेन व्यवहारको एक अंश नै भइसकेको सन्दर्भमा तत्सम्बन्धी कानुनका बारेमा आधारभूत जानकारी राख्न अनिवार्य छ । कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने सिद्धान्त अवलम्बन गरेको हुनाले पनि कानुन हरेक नागरिकले जान्नै पर्छ कानुन पढेको छैन वा जानेको छैन भनेका कारणले फुर्सद पाइँदैन, त्यसैले घर बहालमा लिनेदिनेको दायित्व र अधिकार घरबाट निकाल्न सकिने अवस्था र विवाद भएमा सो वारेमा उजुर गर्ने निकाय र हदम्याद सामान्य जानकारीका विषय हुन् । यसतर्फ सबैको ध्यान जान जरुरी छ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने देवानी तथा फौजदारी संहिता जारी भएपछि लागू भएका नयाँ प्रावधानहरू वकिल वा गैरवकिल सबैका लागि नयाँ भएको सन्दर्भमा समेत यो जानकारीमूलक आलेखको महत्व अझै बढी हुनेछ भन्ने लागेको छ ।

-लेखक प्रधान अधिवक्ता हुन् । https://www.facebook.com/ganesh.m.pradhan.1

पहिलेको भन्दा अहिलेको संविधान प्रगतिशिल छ : मुख्यमन्त्री शाही

‘संविधान पुनरावलोकन गर्ने समय आयो’-विज्ञहरु

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

'गर्भमा नै हराउँछन् छोरीहरू'

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

गठवन्धन सरकारका कारण संविधान संकटमा पर्‍यो- अध्यक्ष बराल