वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

कांग्रेस महाधिवेशनः यसरी हुँदैछ तीन युवा नेताहरुको महामन्त्रीमा भिडन्त

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन यहि मंसिरको दोस्रो सातामा हुने तय भएपछि उम्मेदवारहरुको रस्साकसी शुरु भएको छ । महाधिवेशनको मिति तय भएसंगै पदाधिकारीमा उम्मेदवारीहरु घोषणा  हुने क्रम शुरु भएका छन् ।

कांग्रेसमा तेस्रो पुस्ता भनिएका युवा नेताहरुले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । युवा नेताहरु बनेर परिचय बनाएका कांग्रेसका चर्चित नेता गगनकुमार थापा, प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल एउटै पदमा प्रतिश्पर्धा गर्ने भएका छन् । यी तिनैजना महामन्त्री पदमा प्रतिश्पर्धा गर्ने भएपछि कांग्रेसको युवा सर्कल भित्र उथलपुथल आउने संकेतहरु देखिएका छन् ।

विश्वप्रकाश शर्मा

भदौको २४ गते नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर १४औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा उनले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । उनी अहिले कांग्रेसका प्रवक्ता हुन । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य थिए । तर अहिले भने कांग्रेसमा सभापति पछिको शक्तिशाली पद महामन्त्रीमा लड्ने घोषणा गरेका छन् । युवाहरुको नेतृत्वमा कांग्रेसलाई देशकै ठूलो पार्टी बनाउने घोषणा गरे ।
विद्यार्थीबाट राजनीतिमा उदाएका शर्मा नेविसंघको सभापति पनि हुन । २०५७ सालमा नेवि संघका सभापति भएका थिए । शर्माले नेविसंघको राजनीति झापामा स्कुल जिवनबाट गरेका थिए ।

क्याम्पस जिवनमा मेची क्याम्पसको इकाइ अध्यक्ष बनेका थिए । त्यहि क्याम्पसमा स्ववियु सचिवमा चुनाव लडे । तर हारे । झापाकै नेविसघको जिल्ला सभापति पनि बने ।
तर उनलाई नेविसंघको राजनीतिले सधैं साथ दिदै आएको छ । उनी २०४८ सालमा नेविसंघको केन्द्रीय सदस्य भए । २०५२ सालमा धनराज गुरुङ अध्यक्ष हँुदा उनी महामन्त्री भए । महामन्त्री भएको ६ महिनापछि महाधिवेशन हँुदा गोविन्द भट्टराई अध्यक्ष भए भने शर्मा उपाध्यक्ष ।

२०५७ मा उनी नेविसंघको अध्यक्षमा निर्वाचित भए । नेविसंघमा कसैले पनि २ बर्षे कार्यकालमा महाधिवेशन गर्न सकेका छैनन् तर शर्माले दुई बर्षमा नै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरे । उनले महाधिवेशन गरेर गुरु घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।

नेविसंघको अध्यक्ष भएको १० बर्षपछि उनी गृह जिल्ला झापामा कांग्रेसको जिल्ला सभापतिमा चुनाव लडे तर हारे । सभापति जिते उद्धव थापाले । जिल्लामा नै हारेपछि शर्माको केन्द्रीय सदस्य हुने सपना त्यहि सकियो ।

त्यतिबेला पार्टी सभापति थिए सुशील कोइराला थिए । तर अरु पूर्व नेविसंघका अध्यक्ष मनोनित गरे तर शर्मालाई मनोनित गरेनन् । त्यो समयसम्म शर्मा कोइराला गुटमा नै थिए । तर यो घटनापछि उनले देउवा गुट रोजे ।

२०७२ सालमा देउवा गुटबाट १३औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा १६२० मत ल्याएर विजयी भए । २५ जना खुल्ला लडेका केन्द्रीय सदस्यमा उनी चौधौं नम्बरमा विजयी भएका थिए ।

जब कि केन्द्रीय सदस्य हुनु भन्दा पहिला नै २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका थिए । २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा पनि पराजय भोगेका हुन ।

निर्वाचनपछि कांग्रेसमा युवाहरुको एक नयाँ समुह उदायो । यसको उद्देश्य थियो पार्टीलाई विधि र पद्धति अनुसार चलाउनुपर्ने र युवाहरुलाई पनि समेटेर लैजानु पर्ने । तर यो युवाहरुको समुह नै आफैमा विभाजित भयो । यो समुहमा विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, बद्री पाण्डे, जीवन परियार, धनराज गुरुङ थिए । तर शर्मालाई सभापति शेरबहादुर देउवाला प्रवक्ता बनाएपछि यो ८ जनाको समुह निस्क्रिय नै बन्यो ।

अहिले यी युवाहरु फरक फरक गुटमा सक्रिय छन् । त्यहि मध्येका प्रवक्ता शर्माले महामन्त्रीमा उम्मेदावारी घोषणा गरेका छन् । उनलाई अहिले गुट परिवर्तन गरेको पनि बताइन्छ । तर उनले भने उम्मेदवारी घोषणा गरेका दिन आँफु कांग्रेसको महामन्त्री हुने बताएका थिए । तर कांग्रेसमा नै उनले देउवालाई छोडेका विमेलेन्द्र निधिको गुटबाट महामन्त्री हुने तयारी गरेको बताइन्छ ।

गगनकुमार थापा

विद्यार्थी राजनीतिबाट चर्चामा आएका हुन गगनकुमार थापा । पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको कडा आलोचक थिए थापा । उनले पार्टी नेतृत्वको गलत कुराको खुल्ला रुपमा विरोध गर्न थालेपछि बढी चर्चामा आएको बताइन्छ ।

नेविसंघमा महामन्त्रीसम्म बनेका थिए । अध्यक्ष भने हुन पाएनन् । २०४८ सालमा नेविसंघको काठमाडौं वडा नं. ३३ को सचिवबाट राजनीति सुरु गरेका थिए । २०५१ सालमा नेविसंघको तर्फबाट त्रिचन्द्र कलेजको स्ववियू सदस्यमा निर्वाचित भए । २०५३ सालमा सचिव र २०५५ सालमा स्ववियू सभापतिमा विजयी भए ।

२०५७ सालमा नेविसंघको उपाध्यक्ष र २०५९ सालमा महामन्त्री भए तर उनी अध्यक्ष हुन सकेनन् । २०५९ मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले शासन आफ्नो हातमा लिए सात राजनैतिक दलहरुले प्रतिगमन विरुद्धको आन्दोलन सुरु गरे । तर त्यो समयमा राजनीतिक दल भन्दा विद्यार्थी संगठनहरुले गरेको आन्दोलनले गति लिन थाल्यो । उनी पनि आन्दोलनमा अग्रभागमा आउन थाले ।

आन्दोलनको क्रममा मानवअधिकारकर्मी नागरिक अगुवा कृष्ण पहाडी, देवेन्द्रराज पाण्डेको नेतृत्वमा रत्नपार्कमा भएको कार्यक्रममा राजतन्त्र विरुद्ध बोलेको आरोपमा उनलाई पनि पक्राउ गरि राजद्रोहको मुद्दा लगायो । त्यसपछि उनले राजनीतिमा फर्केर हेर्नु परेको छैन । २०६२ चैत २४ गतेदेखि जनआन्दोलन सुरु भयो । उनी पनि वक्ताका रुपमा मंचमा देखिन थाले । त्यसपछि उनी पार्टी राजनीतिमा सक्रिय हुन थाले ।

उनी २०६३ पछि कांग्रेसको काठमाडौं क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा निर्वाचित भए । पहिलो संविधान सभा २०६४ सालमा कांग्रेस सानो दल भयो तर उनी समानुपातिकतर्पmबाट सभासद मनोनित भए ।
२०६७ सालमा सम्पन्न १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । १३औं महाधिवेशनमा युवाबाट उनले महामन्त्रीमा उम्मेदवारी दिए । कृष्णप्रसाद सिटौलाको गुटबाट उम्मेदवारी दिएका थिए तर पराजित भए ।

उनी आफ्नो समकक्षीहरुमा सबै भन्दा पहिला मन्त्री हुनेमा पनि पर्छन । अहिले पनि थापाले महामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका छन् । तर उनले पनि १३ औं महाधिवेशनको गुट परिवर्तन गरे रामचन्द्र पौडेल र कोइराला गुटमा सहभागी भएका बताइन्छ । जे होस उनले दोस्रो पटक महामन्त्रीको लागि उम्मेदवारी दिने भएका छन् ।

प्रदीप पौडेल

काठमाडौंको अमृत साइन्स क्याम्पसमा २०५३ सालमा नेविसंघको इकाइ अध्यक्ष भएका थिए । त्यसपछि उनी त्यहि क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भए । तर उनी एक्लै सभापतिमा निर्वाचन भएका थिए । नेविसंघको सातौ महाधिवेशन पछि केन्द्रीय सदस्यमा मनोनित भए ।

विश्वप्रकाश शर्मा अध्यक्ष हुदा २०५७ मा पौडेल सहमहामन्त्रीमा मनोनीत भए । पछि २०५९सालको नवौ महाधिवेशनपछि उनी मनोनीत उपाध्यक्ष भए । नेविसंघका अध्यक्ष थिए गुरु घिमिरे ।

२०६२ सम्म उनी मनोनीत उपाध्यक्ष भए । विभाजित कांग्रेसबीच एकता भएपछि उनी २०६४ मा नेविसंघको अध्यक्षमा निर्वाचित भए । त्यो बेला पौडेलका सहअध्यक्ष अहिले पार्टी सभापतिका दाबेदार कल्याण गुरुङ थिए ।
२०६७ सालको १२ औं महाविधेशनमा पौडेलले पार्टीको केन्द्रीय सदस्यमा पराजित भए । पौडेलले पनि नेविसंघको महाधिवेशन गर्न सकेनन् । पार्टी सभापतिले नै हस्तक्षेप गरेर उनीपछि रञ्जित कर्णलाई तदर्थ समितिको अध्यक्ष बनाए । उनी २०६९ सालमा नेविसंघबाट विदा भए ।

२०७१ मा पार्टी सभापति सुशिल कोइरालाले पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरे । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७४ मा तनहुँबाट प्रदेशसभा सदस्यमा पराजित भए । अहिले उनले सिटौला गुटबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

१४औं महाधिवेशनमा नेपाली कांग्रेसमा महामन्त्रीको लागि तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । तीनै जना नेविसंघबाट राजनीति गरेका हुन् । दुई जना नेविसंघको अध्यक्ष भएका हुन् । एक जना महामन्त्री र उपाध्यक्ष भएका हुन । तीन जनामा कांग्रेसको युवा पुस्तामा पर्छन् । यदि कसैले उम्मेदवारी फिर्ता लिएन भने यी तीन युवा नेताहरुाबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि